
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटतर्फ लुम्बिनी प्रदेश समूह चरणबाटै बाहिरिएको छ । आफ्नो दोस्रो खेलमा मधेश प्रदेशसँग पराजित हुँदै लुम्बिनी प्रतियोगिताबाट बाहिरिएको हो।
बिहीबार वीरेन्द्रनगर क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले सात विकेटको क्षतिमा ७९ रन बनायो । लुम्बिनीकी ओपनर ऋतु रावलले ४१ रनको नटआउट पारी खेल्नुभयो । ५६ बलको सामना गरेकी उहाँले पाँच चौका प्रहार गर्नुभयो । यस्तै सिमा थापाले १० रनको योगदान दिनुभयो ।
आस्मा पुलामीमगरले पाँच, अनिता चौधरी र दीपा कुँवरले समान चार–चार रन बनाउनुभयो । सुस्मिता भुषालले दुई तथा ओपनर श्रुति बुढाथोकी, सरस्वती पुन र मनिषा रानाले एक–एक रन बनाउनुभयो।
लुम्बिनीलाई सस्तैमा समेट्न मधेश प्रदेशका सुस्मिता यादवले चार विकेट हात पार्नुभयो । चार ओभर बलिङ गर्नुभएको उहाँले २० रन खर्चिनुभयो । यस्तै, रोजी कडारीले दुई विकेट झार्नुभयो । कप्तान पूजा महतोले एक विकेट लिनुभयो ।
८० रनको लक्ष्य मधेशले १२.४ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो । मधेश प्रदेशकी ओपनर एलिषा यादवले ४२ रनको महत्वपूर्ण पारी खेल्नुभयो । ३६ बलको सामना गर्नुभएको उहाँले आठ चौका प्रहार गर्नुभयो । कप्तान पूजा महतोले १५ रन बनाउँदा अनुराधा चौधरीले सात रन बनाउनुभयो । ओपनर साना प्रविनले चार रन र सरस्वती चौधरीले दुई रनको योगदान दिनुभयो ।
चाँदनी खातुन चार रनमा नटआउट रहनुभयो । लुम्बिनीका सरु तिवारीले तीन, सुस्मिता भुषाल र सरस्वती पुनले एक–एक विकेट हात पार्नुभयो । बलिङमार्फत लुम्बिनीलाई सस्तैमा समेटेकी मधेश प्रदेशकी सुस्मिता यादव प्लेयर अफ द म्याच घोषित हुनुभयो । मधेशसँगको हारसँगै लुम्बिनी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ। लुम्बिनी आफ्नो पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबसँग पराजित भएको थियो।

















