
रोल्पाको माडी गाउँपालिका–५ मा बुधबार ऐतिहासिक भाबाङ मेला आयोजना गरिएको छ । मेलामा मयूर नाच प्रस्तुत गरिएको थियो । दुईवटा समूहले प्रस्तुत गरेको मयूर नाच हेर्नेको ठूलो भिड लागेको थियो ।
कोर्चाबाङ विविध सांस्कृतिक कला समूह माडी गाउँपालिका–६ कोर्चाबाङ र हरि डीबी स्मृति टोल विकास संस्था माडी–२ ब्याङ्खोलाले मयूर नाच प्रस्तुत गरेका थिए ।
पछिल्लो समय लोप हुँदै गएको यो नाचको प्रस्तुतिले मेलामा सहभागीहरू निकै रमाइरहेको देख्न सकिन्थ्यो ।
रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान र रोल्पाको पश्चिमी भेगमा मयूर नाच प्रस्तुत हुने गर्दथ्यो । तर पछिल्लो समय मयूर नाच धेरै ठाउँमा लोपोन्मुख अवस्थामा पुगिसकेको स्थानीयहरू बताउँछन्। एक दुई दशक पहिले दशैं र तिहारमा मयूर नाच प्रस्तुत गर्ने प्रचलन थियो ।परापूर्वकालदेखि मेलामा लठ्ठी खेल्ने अर्थात हाता खेल्ने प्रचलन थियो । तर पछि यो नाच एउटै सुर, ताल र लयमा नाच्न थालियो । त्यसपछि भने यो नाचलाई मयूर नाच भन्न थालिएको जानकारहरू बताउँछन् । यो नाचमा पाउमा नियोर र हातमा लठ्ठी लिएर नाच्ने गरिन्छ । जहाँ ९ पुरुष र ९ महिला गरी १८ जनाको नृत्य समूहमा नृत्य प्रस्तुत गरिन्छ । कुनै समूहमा बढीमा १२ पुरुष र १२ महिला गरी २४ जनाको समूहमा पनि नृत्य प्रस्तुत गर्ने गरिन्छ ।


















