
फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अनुसार यस वर्ष चाडवाडको समयमा करिब एक अर्ब रुपियाँ बराबरको फूलको कारोबार भएको छ । तिहारमा करिब ६५ करोड रुपियाँको फूलको कारोबार हुने पूर्वानुमान गरिएको थियो ।
फ्यानका महासचिव हरिमणि शर्मा अनुसार यस वर्ष फूलको कारोबार उत्साहजनरुपमा भएको बताउनुहुन्छ । यो वर्ष छिमेकी मुलुक भारत लगायत सीमा क्षेत्रमा भएको नियन्त्रण तथा कृत्रिम फूलहरु नभित्र्याउने सरकारको निर्णय बमोजिम पनि यो वर्ष फूलको कारोबार उत्साहजनक भएको उहाँ बताउनुहुन्छ ।

यो वर्ष तिहारमा जम्मा ५१ लाख ८० हजार माला खपत हुने अनुमान गरिएको थियो । शर्माका अनुसार गएको तिहारमा ६० लाखको हाराहारीमा फूलको माला खपत भएको छ ।
सयपत्री माला ४५ लाख खपत हुने अनुमान गरिएकोमा ५० लाखको हाराहारीमा खपत भएको छ । यसैगरी, मखमली माला ६ लाख, गोदावरी माला २० हजार र मिक्स माला ६० हजार खपत हुने पूर्वानुमान गरिएको थियो । तर, पूर्वानुमान गरिएभन्दा बढी माला खपत भएको उहाँ बताउनुुहुन्छ ।
यद्यपि, कति माला वास्तवमा खपत भएको हो भन्ने यकिन विवरण भने आउन बाँकी रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कहाँ–कहाँ कति फूलको खपत भयो भन्नेबारे हामी विवरण सङ्कलन गर्दैछौं ।”

उहाँले दसैँ, तिहार लगायतका चाडपर्वमा फूलका मालासँगै सजावटका फूल र गमलाको माग पनि उच्च रहेकोले सो रकम बराबरको कारोबार भएको बताउनुभयो । उहाँले हरेक वर्ष फूलको माग १५ प्रतिशतले वृद्धि हुने गरेको छ । तर, स्वदेशमा माग अनुसारको फूल उत्पादन हुन नसक्दा सयपत्री लगायतका केही फूल आयात गर्नुपर्ने अवस्था छ ।

उहाँ भन्नुहुन्छ, “नेपाल फूलमा करिब–करिब आत्मनिर्भर छ । तर, मागअनुसार फूलको उत्पादन हुन नसक्दा केही फूल बाहिरबाट ल्याउनुपर्ने अवस्था पनि हुन्छ । मखमली लगायतका केही फूल बाहिर देशमा निर्यात पनि हुन्छ ।”
चाडपर्वबाहेक अन्य समयमा पनि नेपालको रैथाने फूललाई निर्यात गर्न सकिने उहाँ बताउनुहुन्छ । “यहाँका रैथाने फूलहरुको प्रवर्धन गर्दै निर्यात गर्न सकिन्छ । यसका लागि सरकारले व्यवसायीसँग समन्वय गर्नुपर्छ । तर नीति, ऐनमा परिमार्जन ल्याउनुपर्छ ।”


















