
बागलुङको जमैनी गाउँपालिका–२, दमेकका बस्ती र खेतबारी बसाइँसराइका कारण झाडीमा परिणत हुँदै जाँदा वन्यजन्तुको जोखिम बढेको छ । चितुवाले बाख्रा मार्ने र दुम्सीले खेतबाली नष्ट गर्ने क्रम बढेपछि पशुपालन तथा खेतीपातीमा निर्भर किसान समस्यामा परेका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पाण्डेका अनुसार बाँझो जग्गा र झाडीमा बाँदर, चितुवा र दुम्सीको प्रकोप बढेको छ । पछिल्लो एक वर्षमा जैमिनी नगरपालिकाबाट दुई सय परिवार बसाइँसराइ गरी सहर गएको उहाँले उल्लेख गर्नुभयो । यस्तै दमेकको गौडा, भैँसेखर्क र टापु क्षेत्रका २५ परिवार पशुपालन तथा खेतीपातीमा निर्भर छन् । पछिल्लो नौ महिनामा पाँच किसानका १२ बाख्रा चितुवाले मारेको स्थानीय गङ्गाधर सापकोटाले बताउनुभयो ।
चितुवाले खर्कमै पुगेर चर्दै गरेका बाख्रालाई आक्रमण गर्न थालेपछि पशु चराउनसमेत छाड्नुपर्ने अवस्था आएको सापकोटाले सुनाउनुभयो । उहाँले पशुचौपायामा भएको क्षतिको राहत माग गर्दै नगरपालिकामा निवेदन दिए पनि हालसम्म राहत नपाएको गुनासो गर्नुभयो । “गौडा, भैँसेखर्क र टापु क्षेत्रमा २५ घरमा मानिस बस्छन् । धोद्रे, चिरपानी, खाल्टा, बात्थला र चौडिलालगायतका गाउँ रित्तिएपछि चितुवा र दुम्सीको आतङ्क बढेको हो । हाम्रो गाउँमा बसाइँसराइ छैन तर छिमेकी गाउँ रित्तिँदा खेतबारी झाडी बनेपछि चितुवा र दुम्सी गाउँ पस्न थाले,” सापकोटाले भन्नुभयो ।
बाँदर खेतबारीमा पुगेर धपाउन सकिए पनि चितुवा र दुम्सी नियन्त्रण गर्न नसकिएको उहाँको भनाइ छ । चितुवाले खर्कमै पुगेर बाख्रा खाने र दुम्सीले खेतीबाली नष्ट गर्ने गर्दा पशुपालन तथा कृषि व्यवसाय सङ्कटमा परेको अर्का किसान रत्न परियारको दुखेसो छ । उहाँले चितुवा नियन्त्रणका लागि नगरपालिकासँग लखेट्ने कुकुरको माग गर्नुभएको बताउनुभयो । आठ वर्षदेखि पशुपालन व्यवसाय गर्दै आउनुभएका सापकोटाले सुरुमा २० गाई र २७ बाख्रा पाल्नुभएको थियो । वन्यजन्तुको आक्रमण र जोखिम बढ्दै गएपछि अहिले बाख्रा घटाउँदै लानु भएको छ ।
















