नेभिगेसन मेनु

ट्रान्जिट गन्तव्य बन्दै इटहरी, होटल व्यवसायमा लगानी विस्तार
समय:2026-11-27 15:50

itahari

पूर्वी पहाडी जिल्लाको आवागमन होस वा पूर्व–पश्चिम यात्रा, इटहरी धेरैका लागि विश्राम र बासको सहज गन्तव्य बन्दै गएको छ ।

यातायातको सहज पहुँच, बढ्दो व्यापारिक गतिविधि र आसपासका पर्यटकीय क्षेत्रको आवागमनले इटहरीमा होटल व्यवसायप्रति आकर्षण बढाएको छ । पछिल्लो समय पाँचतारे होटलदेखि साना तथा मध्यमस्तरका होटलसम्म लगानी विस्तार हुन थालेको छ । 

पूर्वी पहाडी जिल्लामा सञ्चालित विभिन्न आयोजना तथा परियोजनाका कर्मचारी, प्राविधिक र व्यवसायीका साथै पूर्व–पश्चिम यात्रा गर्ने यात्रुहरु इटहरीमा बास बस्ने गरेका छन् । भारतको सिलिगुडी र दार्जिलङबाट आउने पाहुनासमेत एक रातको बसाइका लागि इटहरी रोज्ने गरेको सोल्टी होटलका सञ्चालक सदस्य विनोद पौडेल बताउनुहुन्छ ।

उहाँका अनुसार आन्तरिक तथा बाह्य पर्यटकका लागि इटहरी सहज बसाइको गन्तव्य बनेको छ । व्यापारिक गतिविधि र विभिन्न क्षेत्रबाट हुने आवागमनले होटलमा पाहुनाको चहलपहल बढाएको बताइएको छ ।

होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जयप्रसाद उपाध्यायका अनुसार इटहरी क्षेत्रमा साना तथा ठुला गरी करिब चार सय होटल सञ्चालनमा छन् । तीमध्ये आवास सुविधासहितका होटलको संख्या करिब चार सय हाराहारीमा रहेको उहाँ बताउनुहुन्छ । पूर्वी पहाडी जिल्ला जाने, पश्चिमतर्फ यात्रा गर्ने तथा भारतको जोगबनी र काँकडभिट्टातर्फ आवतजावत गर्ने यात्रुहरूका लागि इटहरी सहज केन्द्र बनेको उहाँको भनाइ छ ।

“पहाड जानुपर्दा पनि इटहरी भएर जानुपर्ने र पहाडबाट तराई झरेपछि अन्यत्र जान पनि यहाँबाट सहज हुने भएकाले इटहरी मुख्य ट्रान्जिट बनेको छ ।” उहाँले भन्नुभयो । उपाध्यायका अनुसार अहिले इटहरीका होटलमा क्षमताअनुसार ५० देखि ६० प्रतिशतसम्म कोठा भरिने गरेका छन् । केही होटलमा शतप्रतिशत समेत हुने गरेको उहाँले बताउनुभयो । जेनजी आन्दोलनपछि केही समय प्रभावित भएको होटल व्यवसाय पछिल्लो समय पुन लयमा फर्किएको उहाँको भनाइ छ ।

इटहरीमा पछिल्लो समय पाँचतारे होटल सञ्चालनमा आउन थालेपछि होटल व्यवसायमा लगानीको आकर्षण थपिएको बताइएको छ । इटहरीको पहिलो पाँचतारे होटल सोल्टी सञ्चालनमा आएपछि उच्चस्तरीय आवास, खानपान तथा सम्मेलन सुविधासहितका होटलमा लगानी बढेको होटल व्यवसायी संघ इटहरीले जनाएको छ । ठुला होटलसँगै मध्यम तथा साना होटलसमेत थपिने क्रम जारी रहेको बतायएको छ ।

इटहरीमा पछिल्लो समय ठुला लगानीका होटल तथा रिसोर्ट सञ्चालनमा आउने क्रम बढेको छ । सोल्टी वेस्टएन्ड इटहरी, रामादा बाई विन्डह्याम इटहरी, होटल बरान्डा, गोरखा होटल, रोयल रिसोर्ट, होटल इन्टुरिस्ट प्यालेस, होटल मादेन इन र चिन्तन चौतारीलगायतका होटल तथा कार्यक्रमस्थलले इटहरीको आतिथ्य सेवाको दायरा विस्तार गरेका छन् । ठुला लगानीका होटलसँगै मध्यम तथा साना होटलसमेत थपिँदै जाँदा इटहरीमा होटल व्यवसाय विस्तार हुँदै गएको होटल व्यवसायी संघ इटहरीले जनाएको छ ।

इटहरीमा होटल व्यवसाय विस्तार हुनुमा आसपासका पर्यटकीय क्षेत्रको आवागमनले पनि सहयोग पु‍र्याएको बताइएको छ । इटहरीबाट करिब ४० किलोमिटर दूरीमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष चराप्रेमीका लागि महत्त्वपूर्ण गन्तव्य मानिन्छ । यहाँ पाइने दुर्लभ चराचुरुङ्गी र अर्ना अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । आरक्ष घुम्न आउने कतिपय पर्यटक इटहरीका होटलमा समेत बस्ने गरेका छन् ।

नेपाल पन्छी संघ कोशी प्रदेशका संयोजक तथा चराविद् अनिष तिम्सिनाका अनुसार हिउँदयाममा कोशीटप्पु क्षेत्रमा चरा अवलोकनका लागि विभिन्न देशबाट पर्यटक आउने गरेका छन् । चीन, बेलायत, अमेरिका र जापानलगायत देशबाट आउने पर्यटक होमस्टेदेखि ठुला होटलसम्म बस्ने गरेको उहाँ बताउनुहुन्छ । कोशीटप्पु आसपासका साथै इटहरी र भेडेटारका होटलमा समेत पर्यटकको बसाइ हुने गरेको उहाँको भनाइ छ ।

पूर्वी पहाडी जिल्लाको प्रवेशद्वार, पूर्व पश्चिम राजमार्गको सहज पहुँच, भारतसँगको आवागमन र आसपासका पर्यटकीय गन्तव्यका कारण इटहरीमा होटल व्यवसायको सम्भावना बढ्दै गएको व्यवसायीको भनाइ छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी