
पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य इलामको कन्याममा घोडचढी व्यवसायले पर्यटन प्रवर्धनमा थप टेवा पुर्याएको छ । चियाबारीको मनमोहक दृश्य, प्राकृतिक सौन्दर्य र रमणीय वातावरणका कारण पर्यटकको रोजाइमा पर्दै आएको कन्याममा पछिल्लो समय घोडचढी सेवा थप आकर्षणका रूपमा स्थापित हुँदै गएको हो ।
कन्याम आउने आन्तरिक तथा बाह्य पर्यटकमध्ये धेरैले अहिले घोडचढीलाई मनोरञ्जन र दृश्यावलोकनको माध्यम बनाउन थालेका छन् । चियाबारीको बिचबाट घोडामा सवार हुँदै आसपासका प्राकृतिक दृश्य नियाल्न पाउँदा पर्यटकले फरक अनुभव लिन पाएका छन् । यसले कन्यामको पर्यटनलाई थप विविधता दिनुका साथै स्थानीयस्तरमा रोजगारी र आम्दानीको अवसरसमेत सिर्जना गरेको स्थानीय तुलसी शिवाले बताउनुभयो ।
कुनै समय पहाडी जनजीवनको महत्वपूर्ण यातायात तथा कामकाजको साधनका रूपमा प्रयोग हुने घोडा पछिल्लो समय धेरै क्षेत्रमा लोप हुँदै गएको छ तर कन्याममा भने घोडचढी व्यवसायका रूपमा विकास भइरहेको छ । केही वर्षयता घोडचढी व्यवसायी सङ्घ नै गठन गरेर यहाँका व्यवसायीले व्यवस्थित रूपमा सेवा सञ्चालन गर्दै आएका छन् । मोरङबाट कन्याम घुम्न आउनुभएकी सीता पौडेल चियाबारीको दृश्यसँगै घोडचढीको अनुभवले भ्रमणलाई थप रमाइलो बनाएको बताउनुहुन्छ । “चिसो मौसम, एकैछिनमा घाम लाग्ने र फेरि बादलले डाँडाकाँडा ढाक्ने कन्यामको प्राकृतिक वातावरण आफैँमा आकर्षक छ,” उहाँले भन्नुभयो, “त्यसमाथि घोडामा चढेर चियाबारी र आसपासका दृश्य अवलोकन गर्न पाउँदा छुट्टै आनन्द ।”
इलामलाई अर्थोडक्स चिया, अम्रिसो, अदुवा, अकबरे खुर्सानी, ओलन (दुध), अलैँची र आलु अर्थात् ‘अ’ को सङ्गम जिल्लाका रूपमा समेत चिनिन्छ । कृषि उत्पादनसँगै प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले परिचित इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा घोडचढी सेवाले पर्यटनको अर्को आकर्षण थपेको हो । असोजदेखि वैशाखसम्म चिया बगानको मनमोहक दृश्य र लभडाँडाबाट देखिने आसपासका मनोरम दृश्य अवलोकन गर्न पर्यटकको भिड लाग्ने गरेको छ । कन्याम घोडचढी व्यवसायी सङ्घका सचिव सोमबहादुर तामाङका अनुसार हाल यस क्षेत्रमा तीन दर्जनभन्दा बढी घोडा सञ्चालनमा छन् । व्यवसायीहरूले पालो मिलाएर पर्यटकलाई घोडचढी सेवा दिँदै आएका छन् । उहाँका अनुसार एक व्यवसायीले आफ्नो पालोमा घोडचढी सेवा प्रदान गरेर दैनिक दुई हजार रुपियाँभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
घोडचढीका लागि पनि निश्चित शुल्क निर्धारण गरिएको छ । पर्यटकले घोडामा चढेर फोटो खिचाउँदा ५० देखि एक सय रुपियाँसम्म र घोडामा सवार भएर घुम्न चाहेमा प्याकेज अनुसार तीन सयदेखि तीन हजार रुपियाँसम्म शुल्क तिर्नुपर्ने व्यवस्था छ । घोडचढी व्यवसायले व्यवसायीलाई आम्दानीको स्रोत उपलब्ध गराउनुका साथै कन्यामको पर्यटन प्रवर्धनमा समेत सहयोग पु¥याएको छ । लोप हुँदै गएको परम्परागत घोडचढीलाई व्यावसायिक रूप दिँदै स्थानीयले आफ्नो जीविकोपार्जनको माध्यम बनाएका छन् ।

















