नेभिगेसन मेनु

निकुञ्ज पुगे चौरासी हजार पर्यटक
समय:2026-11-26 14:25

chitwan

चालु आर्थिक वर्ष २०८३/८४ को पछिल्लो चार महिनामा ८४ हजारभन्दा बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । निकुञ्ज कार्यालयको तथ्याङ्क अनुसार साउनदेखि कात्तिक मसान्तसम्म ८४ हजार ५४ पर्यटकको आगमन भएको हो ।

 निकुञ्ज भ्रमण गर्ने पर्यटकमध्ये नेपालीको सङ्ख्या सबैभन्दा बढी छ । यस अवधिमा ४५ हजार ३६८ नेपाली पर्यटक निकुञ्ज पुग्नुभएको छ । त्यसै गरी सार्क राष्ट्रबाट तीन हजार ७८७ र अन्य विदेशी मुलुकबाट ३४ हजार ८९९ पर्यटकको आगमन भएको कार्यालयका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तु तथा जैविक विविधताका दृष्टिले महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । निकुञ्जमा दुर्लभ एकसिङे गैँडा, पाटेबाघ, हात्ती, घडियाललगायतका वन्यजन्तु अवलोकन गर्न पर्यटक आउने तिवारीको भनाइ छ । त्यस्तै प्राकृतिक वातावरण, वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकन निकुञ्जका प्रमुख आकर्षण रहेको उहाँ बताउनुहुन्छ ।

गत आव २०८२/८३ मा चितवन राष्ट्रिय निकुञ्जमा कुल दुई लाख ७२ हजार ९२३ पर्यटकको आगमन भएको थियो । जसमा एक लाख ६१ हजार ३७५ नेपाली, २२ हजार ८८३ सार्क राष्ट्रका तथा ८८ हजार ६६५ अन्य विदेशी पर्यटक निकुञ्ज भ्रमणमा आएको तथ्याङ्कमा उल्लेख छ ।

निकुञ्जले कात्तिक मसान्तसम्म चार महिनामा निकुञ्जले १० करोड छ लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ । त्यसमध्ये सबैभन्दा बढी पर्यापर्यटनबाट प्राप्त राजस्व नौ करोड ७३ लाख १६ हजार पाँच सय रुपियाँ रहेको निकुञ्जका सूचना अधिकारी तिवारीले बताउनुभयो । 

यसै गरी काठ र दाउरा बिक्रीबापत २८ हजार ६५५, गैरकाष्ठ वनपैदावार बिक्रीबापत १८ लाख १३ हजार १८१, दण्डसजायबाट प्राप्त राजस्व दुई लाख १३ हजार तीन सय र अन्य शीर्षकबाट १२ लाख ३२ हजार सात सय रुपियाँ सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । गत आवमा ३१ करोड एक लाख ६४ हजार ५५१ रुपियाँ राजस्व जम्मा भएको थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी