
सुर्खेतमा जारी १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटवलमा कर्णाली प्रदेश लिगको समूह चरणबाटै बाहिरिएको छ । बिहीबार तेस्रो दिनको पहिलो खेलमा कर्णाली प्रदेश गण्डकी प्रदेशसँग ५–० को अन्तरले पराजित भएपछि समूह चरणबाट बाहिरिएको हो ।
बिहीबारको खेल जित्नै पर्ने दवावमा रहेको कर्णाली लिग चरणबाट बाहिरिने पहिलो टोली बनेको छ । यसअघि मङ्गलबार उद्घाटन खेलमा नेपाल पुलिस क्लबसँग कर्णाली ३–० ले पराजित भएको थियो ।
बिहीवार भएको खेलको १६ औँ मिनेटमा गण्डकीका लछु थापाले पहिलो गोल गर्नुभएको थियो । यस्तै, खेलको २५ औँ र ३३ औँ मिनेटमा गण्डकीकै आशिष गुरुङले दुई गोल गरेर टिमलाई ३–० को अग्रता दिलाउनुभएको थियो । गण्डकीका सुदिप गुरुङले खेलको दोस्रो हाफको ५७ औँ मिनेट र अतिरिक्त थप भएको चार मिनेटमा गण्डकीका टेकराज गुरुङले एक गोल गरेर खेलको अन्तर ५–० पु¥याउनुभएको थियो ।
फुटवलका म्याच कमिसनर वीरेन्द्र पाण्डेका अनुसार सो खेलमा तीन जना खेलाडीले पहेँलो कार्ड पाएका थिए । गण्डकीका रन्दिप पौडेल र यामबहादुर श्रेष्ठ तथा कर्णालीका दिलविजय शाहीले पहेँलो कार्ड पाएका थिए । बिहीवार दिउँसो २ः३० बजे हुने खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको (एपीएफ) र मधेस प्रदेश भिड्ने छन् ।

















