नेभिगेसन मेनु

रोकिएन बालविवाह : कलिलै उमेरमा आमा
समय:2026-11-27 16:39

child-marriage11

 ‘बिहेबारी, २० वर्षपारि’, बालविवाह न्यूनीकरणका लागि चलाइएको यो सन्देश दाङमा अझै व्यवहारमा उतार्न चुनौतीपूर्ण देखिएको छ । बालविवाह रोक्न विभिन्न अभियान सञ्चालन भइरहे पनि कलिलो उमेरमै विवाह गर्ने र आमा बन्ने किशोरीको सङ्ख्या उल्लेख्य छ । यसले बालविवाह न्यूनीकरणका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ ।

दाङमा १८ वर्ष उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या ११ हजार ४३५ रहेको छ । पालिका स्वास्थ्य शाखाबाट प्राप्त तथ्याङ्क अनुसार जिल्लामा १८ वर्षमुनि विवाह गर्नेको दर १७.०८ प्रतिशत छ । त्यसै गरी १६ वर्ष उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या एक हजार २५६ रहेको छ । 

बालविवाहको प्रभाव किशोरीको स्वास्थ्यमा समेत देखिएको छ । स्वास्थ्य कार्यालय दाङको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा २० वर्षमुनिका महिलाबाट स्वास्थ्य संस्थामा एक हजार ३५७ प्रसूति भएका थिए । आर्थिक वर्ष २०८२/८३ मा उक्त सङ्ख्या घटेर एक हजार १३७ पुगेको छ । स्वास्थ्य कार्यालय दाङका प्रमुख तथा जनस्वास्थ्य प्रशासक टिबी गुरुङका अनुसार कुल अनुमानित जीवित जन्ममध्ये २० वर्षमुनिका महिलाबाट भएको संस्थागत प्रसूतिको अनुपात आव २०८१/८२ मा ११.२९ प्रतिशत थियो । आव २०८२/८३ मा घटेर ११.१९ प्रतिशत पुगेको छ । चालु आव २०८३/८४ को साउनदेखि उपलब्ध तथ्याङ्क अनुसार २० वर्षमुनिका महिलाबाट स्वास्थ्य संस्थामा ४१३ प्रसूति भएका छन् । उक्त अवधिको कुल अनुमानित जीवित जन्ममध्ये किशोरीको प्रसूतिको अनुपात भने उपलब्ध तथ्याङ्कमा उल्लेख छैन । 

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा २० देखि २४ वर्ष उमेर समूहका १४.१० प्रतिशतले १८ वर्ष नपुग्दै विवाह गरेका छन् । लुम्बिनी प्रदेशमा १४.६१ प्रतिशत रहेको छ । जनगणना २०७८ अनुसार नेपालमा १८ वर्ष नपुग्दै विवाह गर्नेको सङ्ख्या तीन लाख ८५ हजार २१ रहेको छ । त्यसमध्ये लुम्बिनी प्रदेशमा मात्रै ७१ हजार १७४ जनाले १८ वर्ष नपुग्दै विवाह गरेको तथ्याङ्कमा उल्लेख छ ।

लुम्बिनी प्रदेशमा १८ वर्ष नपुग्दै विवाह गर्नेको दर सबैभन्दा बढी रोल्पामा २०.८८ प्रतिशत रहेको छ । त्यसै गरी प्युठानमा २०.०३ प्रतिशत, पूर्वी रुकुममा १८.५५ प्रतिशत, अर्घाखाँचीमा १८.५४ प्रतिशत, दाङमा १७.०८ प्रतिशत, गुल्मीमा १६.०९ प्रतिशत, बाँकेमा १६.०५ प्रतिशत, बर्दियामा १५.६६ प्रतिशत, पाल्पामा १५.०३ प्रतिशत, कपिलवस्तुमा १२.६७ प्रतिशत, रुपन्देहीमा १०.७५ प्रतिशत र पश्चिम नवलपरासीमा १०.७१ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १५ वर्ष उमेर नपुग्दै विवाह गर्नेको दर १.८३ प्रतिशत रहेको छ । बालविवाह न्यूनीकरण तथा सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको ब्याकवार्ड सोसाइटी एजुकेससन (बेस) संस्थाको बालबालिकाका लागि न्यायमा पहुँच कार्यक्रमका लुम्बिनी प्रदेश संयोजक नरबहादुर चौधरीले बालविवाहले किशोरीको शिक्षा, स्वास्थ्य, व्यक्तिगत विकास र भविष्यमा नकारात्मक असर पार्ने बताउनुभयो । बालबालिका, अभिभावक तथा समुदायस्तरमा सचेतना अभिवृद्धि आवश्यक रहेको उहाँको भनाइ छ ।

बालविवाहको दर राष्ट्रिय औसतभन्दा बढी रहेको लुम्बिनी प्रदेशमा यसको न्यूनीकरण तथा नियन्त्रणका लागि आगामी आव २०८३/८४ मा १० करोड ९० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीका अनुसार १०९ वटै स्थानीय तहमा प्रतिपालिका १० लाख रुपियाँका दरले बजेट छुट्याइएको छ । बालविवाह न्यूनीकरण, बालसंरक्षण, शिक्षा तथा पुनस्र्थापनाका कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

नेपाल सरकारले सन् २०३० सम्म देशलाई बालविवाहमुक्त बनाउने लक्ष्य लिएको छ । सोही लक्ष्य अनुसार लुम्बिनी प्रदेशलाई पनि बालविवाहमुक्त बनाउन अभियान अघि बढाइएको लुम्बिनी प्रदेश बालअधिकार संसदीय मञ्चका संयोजक धनलक्ष्मी श्रेष्ठले बताउनुभयो । बालविवाह अन्त्यका लागि परिवार, समुदाय, स्थानीय तह र सरोकारवाला निकायबिच समन्वय, सहकार्य र प्रतिबद्धता आवश्यक रहेको सरोकारवालाको भनाइ छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी