
कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले विकासनिर्माणका कामलाई गुणस्तरीय बनाउन र आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न निर्देशन दिनुभएको छ । बुधबार ग्रामीण सडक सञ्जाल सुधार आयोजना अन्तर्गत कर्णाली प्रदेशमा सञ्चालित सडक तथा पुल निर्माण योजनाको प्रगति अवस्थाबारे मन्त्रालयमा आयोजित छलफलमा मन्त्री रोकाले निर्माणको प्रभावकारिताका लागि अनुगमनलाई प्राथमिकता दिनुपर्ने जनाउनुभयो ।
निर्माणका क्रममा देखिएका समस्या सम्बन्धित स्थानमै पुगेर समाधान गर्नुपर्ने उल्लेख गर्दै उहाँले स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर आयोजना अघि बढाउनुपर्ने सुझाव दिनुभयो । योजनाको कामलाई निर्धारित समयभित्र सम्पन्न गर्ने गरी निर्माण व्यवसायी र प्राविधिक टोलीले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उहाँको भनाइ छ । कामको गुणस्तरमा कुनै सम्झौता नगरी आवश्यक जनशक्ति, निर्माण सामग्री र उपकरण परिचालन गरेर कामलाई तीव्रता दिनुपर्ने उहाँले बताउनुभयो । मन्त्री रोकाले निर्माणमा देखिएका समस्या समाधान गर्दै अघि बढ्न, नियमित अनुगमन गर्न र स्थानीय सरकारसँग समन्वय बढाउन सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ ।
छलफलमा आयोजना अन्तर्गत निर्माण भइरहेका सडक तथा पुलको भौतिक र वित्तीय प्रगति, निर्माणमा देखिएका समस्या र आगामी कार्ययोजनाबारे जानकारी गराइएको थियो । आयोजनाको प्रगति विवरण अनुसार रुकुमपश्चिममा सञ्चालित चौरजहारी–चौफा–नुवाकोट–बैरागीठाँटी–मुसीकोट–सल्ले सडकको २७ किलोमिटर सडक स्तरोन्नति तथा नार्जीखोला र कालीगाडखोलामा पुल निर्माणको काम ९३.९९ प्रतिशत सम्पन्न भएको छ । उक्त योजनाको वित्तीय प्रगति ८९.१ प्रतिशत रहेको छ । यस योजना अन्तर्गत १३.४०२ किलोमिटर सडकमा स्तरोन्नतिको काम भइरहेको छ भने सोही सडकखण्डमा कालीगाडखोला पुलको काम ९४ प्रतिशत र नार्जीखोला पुलको काम करिब ९१ प्रतिशत सम्पन्न भएको आयोजनाको विवरणमा उल्लेख छ । बाँकी पुल निर्माण तथा करिब छ सय मिटर सडक कालोपत्रे गर्ने काम एक महिनाभित्र सम्पन्न गर्ने योजना रहेको छ ।
त्यस्तै जाजरकोटमा सञ्चालित मोर्का–छाङ्खिला–बडावन–सानाखोला–जुनी सडक योजनाको भौतिक प्रगति ८०.१२ प्रतिशत र सुर्खेतको दशरथपुर–बोरागाउँ सडक योजनाको भौतिक प्रगति ८०.१० प्रतिशत पुगेको छ । आयोजना अन्तर्गत निर्माण भइरहेका सडक तथा पुलका काममा वर्षा, पहिरो, निर्माण सामग्रीको अभाव, सडकको साँघुरो खण्ड र स्थानीयस्तरमा देखिएका समस्याले काम प्रभावित भएको विवरण प्रस्तुत गरिएको थियो ।


















