
सरकारले विपन्न, असहाय तथा बेवारिसे नागरिकका लागि अस्पतालमा छुट्याएको १० प्रतिशत निःशुल्क शैयाको सेवा सुदूरपश्चिम प्रदेशमा प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालनमा ल्याएको ‘निःशुल्क स्वास्थ्य पोर्टल’ को तथ्याङ्अनुसार सुदूरपश्चिममा २४७ वटा निःशुल्क शैया खाली रहँदा लक्षित वर्गका जम्मा छ जना बिरामीले मात्र यो सेवा पाएका छन् ।
पोर्टलमा अद्यावधिक विवरणअनुसार सुदूरपश्चिम प्रदेशको आबद्ध सरकारी तथा निजी अस्पतालमा कुल एक हजार ६०१ शैया छन् । जसमध्ये कानुनी प्रावधानअनुसार २५३ शैया विपन्न तथा लक्षित वर्गका लागि निःशुल्क छुट्याइएको छ । हाल छ जना बिरामी मात्र ती शैयामा भर्ना भइ उपचाररत छन् ।
प्रदेशको नौ वटै जिल्लामा कुल एक हजार ६०१ शैयामध्ये कैलालीमा सबैभन्दा बढी एक हजार १८१ शैयामध्ये २०९ वटा शैया निःशुल्क छन् । एक जना मात्रै लक्षित बिरामीले सेवा पाएका छन् । पहाडी जिल्लाको अधिकांश बिरामी उपचारका लागि कैलाली झर्ने भए पनि लक्षित वर्गका बिरामीले सेवा पाउन सेकेका छैनन् । यो विषयमा अनुगमनसमेत भएको छैन ।
कञ्चनपुरमा कुल एकसय वटा शैयामध्ये १० वटा निःशुल्क रहेकोमा तीन जनाले सेवा लिइरहेका छन् । डोटीमा १४० शैयामध्ये १५ शैया निःशुल्क भए पनि एक जनाले मात्र सेवा पाएका छन् ।
त्यसैगरी डडेलधुरामा एकसय शैयामध्ये १० शैया निःशुल्क भए पनि एक जनाले सेवा पाएको छन् भने बझाङमा १५ शैयामध्ये एक जनाले सेवा पाएका छन् । बाजुरा, अछाम, दार्चुला र बैतडीमा लक्षित वर्गका बिरामीले सेवा पाउन सकेका छैनन् । सकारले निःशुल्क उपचारका लागि कार्यविधी बनाए पनि सुदूरपश्चिमका ५४ प्रतिशत मानिस खल्तीबाटै उपचार गर्दै आइरहेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्क छ ।
खासगरी निजी अस्पतालले निःशुल्क शैयाको उपलब्धता लुकाउने गरेको तथा लक्षित वर्गका बिरामीलाई संवैधानिक र कानुनी व्यवस्थाबारे पर्याप्त जानकारी नहुँदा सेवा लिनेको सङ्ख्या अत्यन्त न्यून देखिएको छ । सरोकारवाला निकायले अस्पतालको मुख्य प्रवेशद्वारको सूचना पाटीमै दैनिक रूपमा निःशुल्क शैयाको विवरण अद्यावधिक गर्न लगाउनुपर्नेमा जोड दिएका छन् ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक योगेशप्रसाद भट्टले कानुनी रूपमा लक्षित वर्गले पाउनु पर्ने निःशुल्क शैया र उपचारको व्यवस्था व्यवहारमा पूर्ण रूपमा लागू हुन नसकेको स्वीकार गर्नुभयो । निर्देशनालयले कार्यविधि कार्यान्वयन र अनुगमन विषयमा आवश्यक समन्वय गरिरहेको जानकारी दिएको छ ।
भिरबाट लडेर घाइते भएकी श्रीमतीको उपचार गाउँलेहरुले चन्दा उठाएपछि उपचार पाएको दशरथचन्द नगरपालिका –४, का दानीराम तिरुवाले बताउनुभयो । निःशुल्क शैयाका बारेमा कुनै जानकारी नभएको उहाँले बताउनुभयो ।
बस्ने आवास समेत नभएका तिरुवाको केही वर्षअघि नेपाल सरकारले जनता आवास कार्यक्रमबाट दुई कोठे घर बनाइदिएको थियो । सोही घरमा गाई बाख्रा पालेर जिवीका चलाउँदैआएका तिरुवा घाँस काट्ने क्रममा श्रीमती भिरबाट लडेर मेरुदण्ड भाँचएपछि बिच्चलीमा पर्नुभएको छ ।
संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने मौलिक हक प्रदान गरेको छ । सोही हकको कार्यान्वयनका लागि मन्त्रालयले ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३’ जारी गरेको छ ।
कार्यविधिको दफा ८ (घ) मा प्रत्येक अस्पतालले आफ्नो मुख्य प्रवेशद्वार र प्रस्थान बिन्दुमा दैनिक रूपमा निःशुल्क शैयाको उपलब्धता र सेवाको विवरण देखिने गरी डिजिटल वा भौतिक सूचना बोर्ड राख्नुपर्ने स्पष्ट व्यवस्था छ । साथै, सोही बोर्डमा उजुरी दर्ताका लागि पोर्टलको ‘क्युआर कोड’ र वेब ठेगाना अनिवार्य प्रदर्शन गर्नुपर्ने उल्लेख छ ।
त्यसैगरी, कार्यविधिअनुसार अस्पतालको मुख्य प्रवेशद्वार नजिकै ‘निःशुल्क स्वास्थ्य सेवा सहयोग कक्ष’ स्थापना गरी जिम्मेवार कर्मचारी (फोकल पर्सन) तोक्नुपर्ने व्यवस्था छ । तर, व्यवहारमा यसको पूर्ण पालना नहुँदा आर्थिक अभावमा छटपटाइरहेका विपन्न बिरामीहरू निजी तथा सरकारी अस्पतालमा महँगो शुल्क तिरेर उपचार गराउन बाध्य छन् ।
कार्यविधि बमोजिम निःशुल्क शैयामा भर्ना हुने नेपाली नागरिकलाई सःशुल्क शैयाका बिरामी सरह नै बिनाभेदभाव शैया, चिकित्सक परामर्श, शल्यक्रिया, प्रयोगशाला परीक्षण र उपचारमा आवश्यक पर्ने औषधी लगायतका सेवा निःशुल्क प्रदान गर्नुपर्ने व्यवस्था रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सेवा लिनका लागि विपन्न परिचयपत्र, स्थानीय तहको सिफारिस, बेवारिसेको हकमा प्रहरी वा प्रशासनको मुचुल्का र आकस्मिक अवस्थामा विपन्न वर्ग स्वघोषणा फाराम भरेर उपचार पाउने व्यवस्था छ ।
यदि कुनै अस्पतालले शैया खाली हुँदाहुँदै सेवा दिन इन्कार गरेमा वा पोर्टलमा झुट्टा विवरण राखेमा पीडित पक्षले अनलाइन उजुरी दिन सक्नेछन् । अनुगमनको क्रममा नियम उल्लङ्घन गरेको पाइएमा त्यस्ता अस्पतालको सञ्चालन अनुमति तथा नवीकरण रोक्का वा खारेजीसम्मको कारबाही हुने व्यवस्था कार्यविधिमा गरिएको छ ।
सरोकारवालाहरूले प्रदेश सरकार र स्थानीय तहले अस्पतालहरूको नियमित अनुगमन गरी सूचनापाटीमा दैनिक विवरण सार्वजनिक गर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्नुपर्ने बताएका छन् ।


















