
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युरोपभरि सैन्य आक्रमण रोक्न आग्रह गरेको बताउनुभएको छ । उहाँले गत साता चीनमा भएको भेटका क्रममा पुटिनसँग यस विषयमा छलफल गरेको र यसले युक्रेन युद्ध अन्त्य गर्ने सम्झौताका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा रुस र युक्रेनबीच चाँडै सम्झौता हुन सक्ने बलियो सम्भावना रहेको बताउनुभयो । यद्यपि, उहाँले कुन भूभागमा सैन्य आक्रमण रोक्ने भन्ने स्पष्ट पार्नुभएको छैन । विशेषगरी, सन् २०२२ को फेब्रुअरीमा रुसले आक्रमण गरेको युक्रेनको नाम उल्लेख गर्नुभएको छैन ।
फ्लोरिडामा नेटो महासचिव मार्क रुटसँगको भेटपछि ट्रम्पको पछिल्लो अभिव्यक्ति आएको हो । दुवै नेताले रुसलाई युक्रेन युद्ध विस्तार नगर्न आग्रह गर्दै संयुक्त वक्तव्य जारी गर्नुभएको थियो । गत साता नेटो सदस्य पोल्यान्डमा तीनवटा रुसी क्रुज क्षेप्यास्त्र खसेपछि युरोपेली राष्ट्रहरू रुसी गतिविधिप्रति थप चिन्तित बनेका छन् ।
ट्रम्पले रुसभित्र गहिरो क्षेत्रमा युक्रेनले गरेको आक्रमणको आलोचना गर्नुभएको भए पनि किएभलाई संयम अपनाउन आग्रह गर्नुभएको छैन । उहाँले युक्रेनलाई ज्याभलिन क्षेप्यास्त्र बिक्री गर्न आफ्नो पहिलो कार्यकालमा स्वीकृति दिएको स्मरण गर्दै त्यसले रुसी आक्रमणबाट युक्रेनलाई जोगाउन सहयोग गरेको दाबी गर्नुभएको छ ।
यसैबीच, ट्रम्पका ज्वाइँ तथा युक्रेन युद्धका लागि अमेरिकी दूत जारेड कुसनर र उहाँका व्यापारिक मित्र स्टिभ विटकफमाथि मस्कोको पक्ष लिएको आरोप लाग्दै आएको छ ।
कुसनरले बुधबार जर्मन एमडी मिट्स पोडकास्टसँगको अन्तर्वार्तामा पुटिनले आणविक हतियार प्रयोग नगर्ने सहमति जनाएर संयम देखाइसकेको बताउनुभयो । उहाँले युक्रेन द्वन्द्वलाई युरोपले रुसविरुद्ध युक्रेनलाई आर्थिक सहयोग र हतियार उपलब्ध गराइरहेको प्रोक्सी युद्धका रूपमा वर्णन गर्नुभयो ।
पूर्वी युक्रेनका भूभागको विषयमा पुटिनसँगको वार्ता गतिरोधमा रहेको कुसनरले स्वीकार गर्नुभयो । उहाँले युद्ध थप चर्किन सक्ने चेतावनी दिँदै द्वन्द्व व्यापक रूपमा विस्तार हुन धेरै गलत आकलन आवश्यक नपर्ने बताउनुभयो ।
ट्रम्पले अर्को महिना मियामीमा हुने जी–२० शिखर सम्मेलनमा पुटिन सहभागी हुने वा नहुने निश्चित नभएको बताउँदै उहाँ आउन चाहेमा स्वागत गरिने स्पष्ट पार्नुभएको छ । गत साता चीनको सेन्जेनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा ट्रम्पले पुटिनलाई मित्रका रूपमा स्वागत गर्नुभएको थियो । यसले युक्रेन र युरोपेली राजधानीहरूमा ट्रम्प पुनः रुसतर्फ झुकेको चिन्ता बढाएको थियो ।


















