
दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज १७ गते । विद्युतीय सवारीसाधन निर्माता लिपमोटरले सेप्टेम्बर २०२६ मा विश्वभर १ लाख ५ हजार ६५६ युनिट सवारीसाधन डेलिभरी गरेको छ ।
कम्पनीका अनुसार योसँगै लिपमोटरले लगातार तेस्रो महिना मासिक १ लाखभन्दा बढी सवारीसाधन डेलिभरी गर्ने उपलब्धि हासिल गरेको छ । सेप्टेम्बरको डेलिभरी अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५९५ प्रतिशतले बढेको कम्पनीले जनाएको छ । त्यस्तै, सन् २०२६ को तेस्रो त्रैमासिकमा कम्पनीले ३ लाख १० हजार ५२ युनिट सवारीसाधन डेलिभरी गरेको छ । यो अघिल्लो वर्षको तेस्रो त्रैमासिकको तुलनामा ७८।३५ प्रतिशत बढी हो ।
सन् २०२६ को पहिलो नौ महिनामा लिपमोटरको कुल विश्वव्यापी डेलिभरी ६ लाख ६६ हजार ५३९ युनिट पुगेको छ । यो संख्या सन् २०२५ को पूरै वर्षमा कम्पनीले गरेको कुल डेलिभरीभन्दा समेत बढी हो ।
विश्वव्यापी अटोमोबाइल कम्पनी स्टेलान्टिससँगको संयुक्त साझेदारीमा सञ्चालित ‘लिपमोटर इन्टरनेसनल’ मार्फत कम्पनीले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको जनाएको छ । हालसम्म लिपमोटरको कुल विश्वव्यापी निर्यात १ लाख ५० हजार युनिट नाघेको छ ।
कम्पनीले युरोपमा आफ्नो बिक्री तथा सेवा सञ्जालसमेत तीव्र रूपमा विस्तार गरिरहेको छ । हाल युरोपमा लिपमोटरका बिक्री तथा सेवा केन्द्रको संख्या १ हजारभन्दा बढी पुगेको कम्पनीले जनाएको छ ।
नेपालमा भने साङ्ग्रिला मोटर्स प्रालिले लिपमोटरका विद्युतीय सवारीसाधन बिक्री तथा वितरण गर्दै आएको छ। कम्पनीले टी–०३, बी–०१, बी–१० र सी–१० लगायतका विद्युतीय सवारीसाधन नेपाली बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ ।
लिपमोटरले उन्नत विद्युतीय सवारी प्रविधि, सुरक्षा र दिगो यातायातलाई प्राथमिकता दिँदै विश्व बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको जनाएको छ ।


















