
काठमाडौँ, भदौ ३० गते । नेपाल वायुसेवा निगमको वाइडबडी नाइन एन एलजेट ‘मकालु’ जहाज एक महिनादेखि इटालीमा रोकिएको छ । नियमित विस्तृत परीक्षण (सी–चेक) का लागि साउन २४ गते इटाली पुगेको उक्त जहाजको दायाँ इन्जिनको अटो ब्रेकिङ सिस्टममा समस्या देखिएपछि समयमै मर्मत हुन नसक्दा ३५ दिनदेखि उतै रोकिएको हो ।
निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनका अनुसार साउन २४ गते इटाली पुगेको उक्त जहाज भदौ १५ गते नेपाल फर्किने तालिका थियो तर सी–चेकका क्रममा जहाजको दायाँ इन्जिनको अटो ब्रेकिङ सिस्टममा समस्या देखिएपछि आवश्यक पार्ट फेर्नुपर्ने अवस्था आएको र उक्त पार्ट तत्काल इटालीमा उपलब्ध नभएपछि जहाजको मर्मत अवधि लम्बिएको हो ।
विस्तृत परीक्षणका क्रममा अतिरिक्त खराबी भेटिने गरे पनि समस्या पहिचान भएपछि आवश्यक पार्ट तत्काल उपलब्ध गराउन नसक्दा जहाजको ग्राउन्डिङ अवधि लम्बिएको उहाँको भनाइ छ ।
इटालीको एसपी एटिटेक कम्पनीमा सी–चेक गराउन उक्त जहाज व्यावसायिक उडानमार्फत २० दिनमा फर्किने गरी दुबई हुँदै इटाली पुगेको हो । निगमले यसअघि पनि यही कम्पनीमा वाइडबडी जहाजको मर्मत गराएको थियो ।
सी–चेकका क्रममा जहाजको संरचना, दुई वटै इन्जिन, ल्यान्डिङ गियर, हाइड्रोलिक, एभियो निक्सलगायत प्रणालीको परीक्षण गर्दा उक्त समस्या फेला परेको निगमले जनाएको छ ।


















