
काठमाडौँ, असोज ७ गते । सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका–७, चैनपुरासम्मको लालबन्दी–सलेमपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यो आयोजना अन्तर्गत चैनपुरामा निर्माण गरिएको १३२/३३/११ केभी सबस्टेसनसमेत सञ्चालनमा आएको छ ।
सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए क्षमताका दुई वटा तथा ३३/११ केभी, २४ एमभिए क्षमताको एक पावर ट्रान्सफर्मर जडान गरिएको छ । यससँगै सबस्टेसनको कुल क्षमता ८४ एमभिए रहेको जनाइएको छ ।
स्थानीय क्षेत्रमा विद्युत् वितरणका लागि सबस्टेसनबाट ३३ केभीका पाँच वटा र ११ केभीका छ वटा फिडर निकालिएका छन् । प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि सर्लाहीको मलङ्गवा, हरिपुर, हरिपूर्वा, डुमरिया, बरहथवालगायतका क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने अपेक्षा प्राधिकरणले गरेको छ । यसबाट विद्युत् चुहावट घट्नुका साथै न्युन भोल्टेज, बारम्बार हुने विद्युत् विच्छेद (ट्रिपिङ) लगायतका समस्या न्यूनीकरण हुने छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले यो संरचना निर्माण भएपछि सो क्षेत्रका ग्राहकलाई पर्याप्त भोल्टेजसहित भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध हुने बताउनुभयो ।


















