
काठमाडौँ, असोज १८ गते । पश्चिम नवलपरासीका प्रतापपुर र सुस्ता गाउँपालिकामा केरा खेतीमा ‘ब्ल्याक सिगाटोका’ रोगको प्रकोप फैलिएपछि किसान चिन्तित भएका छन् । केरा जोन क्षेत्रका रूपमा विकास गरिएको यस क्षेत्रमा लगाइएको केराको करिब आधा क्षेत्रफलमा रोगले क्षति पुर्याएको किसानले बताएका छन् ।
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले प्रतापपुर र सुस्ता गाउँपालिकाका एक हजार ८२ हेक्टर क्षेत्रफललाई केरा जोन क्षेत्र घोषणा गरी किसानलाई विभिन्न सहयोग गर्दै आएको छ । उत्पादनको तयारी अवस्थामा रहेको केरामा रोग देखिएपछि किसानले ठुलो क्षति बेहोर्नु परेको परियोजनाले जनाएको छ ।
परियोजना प्रमुख शालिकराम पौडेलका अनुसार अधिकांश किसानको खेतमा ब्ल्याक सिगाटोका रोग देखिएको छ । उहाँले रोग नियन्त्रणका लागि आवश्यक विषादी सिफारिस गरिए पनि किसानले समयमै सावधानी नअपनाउँदा समस्या थप फैलिएको बताउनुभयो ।
“अधिकांश किसानको खेतमा रोग फैलिएको छ । नियन्त्रणका लागि विषादी सिफारिस गरेका छौँ । किसानले आवश्यक सावधानी नअपनाउँदा पनि रोग धेरै फैलिएको छ,” उहाँले भन्नुभयो ।
उखुको भुक्तानी समयमै नपाउने समस्याका कारण पछिल्लो समय केराखेतीतर्फ आकर्षित भएका किसान रोगको प्रकोप बढेपछि थप समस्यामा परेका छन् । भारतबाट केरा आयात रोकिएपछि नेपाली उत्पादनले राम्रो मूल्य पाउन थालेकाले किसान उत्साहित थिए । रोगको प्रकोपसँगै उत्पादन घट्नुका साथै बिक्री मूल्यसमेत प्रभावित भएको किसानको भनाइ छ ।
केरा उत्पादक सङ्घ नवलपरासीका अध्यक्ष लख्खु यादवले रोगका कारण तयार हुन नपाउँदै केराको बोट र फलमा क्षति पुगेको बताउनुभयो । भारतबाट केरा आयात रोकिएपछि राम्रो मूल्य पाउने अवस्था बने पनि रोगका कारण किसानले अपेक्षित लाभ लिन नसकेको उहाँले बताउनुभयो । “भारतबाट केरा आउन रोकिएपछि किसानले मूल्य पाएका थिए तर रोगले धेरै बाली नष्ट गर्यो । रोगकै कारण अहिले मूल्यसमेत घटेको छ,” उहाँले भन्नुभयो ।
किसान सञ्जय मौर्यले रोगका कारण केराको बिक्री मूल्यमा गिरावट आएको बताउनुभयो । राम्रो मूल्यमा बिक्री भइरहेको अवस्थामा रोगका कारण फल पूर्ण रूपमा तयार नहुँदै बिक्री गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
हाल किसानले प्रतिदर्जन २५ देखि ४० रुपियाँमा केरा बिक्री गर्दै आएका छन् । केराको पातमा सुरुमा ससाना थोप्ला देखिने, बिस्तारै पात सुक्दै जाने र अन्ततः बोट नै कमजोर हुने ब्ल्याक सिगाटोका रोगका कारण फलसमेत पूर्ण रूपमा तयार हुन नपाउँदै पाक्ने तथा कुहिने समस्या देखिने गरेको कृषि प्राविधिक बताउँछन् ।


















