
काठमाडौँ, भदौ ३० गते । २०औं एसियाली खेलकुद (एसियाड) को उद्घाटन समारोहमा नेपालकी महिला कबड्डी टोलीकी कप्तान मानमती विष्ट र बक्सर चन्द्रबहादुर थापामगरले नेपालको राष्ट्रिय झण्डा बोक्नुहुने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का कार्यकारी सचिव सुजनलाल श्रेष्ठले नेपाली टिम मार्चपापासमा सहभागी हुँदा मानमती र चन्द्रबहादुरले राष्ट्रिय झन्डा बोक्ने जानकारी दिनुभयो ।
सन् २०२३ मा चीनको हाङझावमा भएको १९औं एसियाडमा नेपालले महिला कबड्डीमा काश्य पदक जित्दा मानमती सो टोलीका सदस्य हुनुहुन्थ्यो । यसैगरी बक्सर चन्द्रबहादुरले गत मंसिरमा संयुक्त अरब इमिरेट्समा भएको वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक काश्य पदक जित्नुभएको थियो । २०औं एसियाडमा नेपालले २१ खेलमा सहभागिता जनाउनेछ । नेपाली टोलीमा ७८ पुरुष र ५७ महिला गरी १३५ खेलाडी हुनुहुन्छ ।


















