
दोलखा, भदौ ४ गते । दोलखामा निर्माणाधीन ९९.८ मेगावाट क्षमताको तामाकोशी–५ जलविद्युत् आयोजनामा एकैसाथ पाँच स्थानबाट सुरुङ खन्न सुरु गरिएको छ । वनक्षेत्रको स्वीकृति नपाउँदा करिब आठ महिना निर्माण रोकिएको आयोजना गत चैतदेखि पुनः सञ्चालनमा आएको हो ।
आयोजनाका सबै अडिट सुरुङको काम पूरा भएपछि पाँच वटा वर्किङ फेसबाट एकैसाथ सुरुङ खन्न सुरु गरिएको आयोजनाका सहायक प्रबन्धक नवीन न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार मुख्य भूमिगत संरचनाको निर्माणलाई समेत गति दिइएको छ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक आयोजना प्रगति प्रतिवेदन अनुसार वनक्षेत्रको स्वीकृतिका कारण लामो समयसम्म रोकिएका आयोजना पुनः सञ्चालनमा आएको हो । मुख्य हेडरेस सुरुङको कुल आठ हजार एक सय मिटरमध्ये हालसम्म १५० मिटर उत्खनन भएको छ । मुख्य सुरुङसँगै अधिकांश पहुँच सुरुङको उत्खनन सम्पन्न भइसकेको छ ।
पावरहाउस अडिटको एक हजार ९१६.२६ मिटरमध्ये एक हजार ७५६.६५ मिटर अर्थात् करिब ९२ प्रतिशत उत्खनन सम्पन्न भएको छ । त्यस्तै स्पिलवे सुरुङको २९१ मिटर, पेनस्टकको १११ मिटर र प्रेसर हेडरेस टनेलको ७९६ मिटर उत्खनन सम्पन्न भएको सहायक प्रबन्धक न्यौपानेले बताउनुभयो । टेलरेस सुरुङ र ठाडो सुरुङको पनि उत्खनन सुरु भएको छ । टेलरेसतर्फ ७७४ मिटर र भर्टिकल साफ्टतर्फ १७२ मिटर उत्खनन गर्न बाँकी छ । समग्रमा भूमिगत सुरुङ संरचनातर्फ ३३ प्रतिशत उत्खनन सम्पन्न भएको छ ।
तीन ठेक्का प्याकेजमार्फत निर्माण
आयोजना तीन प्रमुख ठेक्का प्याकेजमार्फत निर्माण भइरहेको छ । प्याकेज–१ अन्तर्गत सिभिल तथा हाइड्रोमेकानिकल संरचनाको निर्माण भइरहेको छ । सिभिल निर्माणको ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले पाएको छ । कम्पनी दुई वर्षदेखि आयोजनास्थलमा परिचालित छ ।
प्याकेज–२ अन्तर्गत इलेक्ट्रोमेकानिकल उपकरण तथा प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता भइसकेको छ भने डिजाइनको काम भइरहेको छ । प्याकेज–३ अन्तर्गत स्थायी शिविर निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । सूचना अधिकारी सुलभ श्रेष्ठका अनुसार कुल २१ अर्ब ९५ करोड रुपियाँ लागत अनुमान गरिएको आयोजनाको वित्तीय प्रगति २५ प्रतिशत पुगेको छ । हालसम्म पाँच अर्ब ८३ करोड रुपियाँ खर्च भएको छ । प्रतिवेदन अवधिमा मात्रै दुई अर्ब ९९ करोड रुपियाँ खर्च भएको कम्पनीले जनाएको छ । तामाकोशी–५ जलविद्युत् आयोजना ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको क्यास्केड आयोजना हो ।


















