नेभिगेसन मेनु

खो खोले दिएको खुसी
सम्पादक:南亚网络电视
समय:2025-03-12 12:07

kho kho

एस् ए टी भी २८ फाल्गुन, काठमाडौँः नेपाली खेलको इतिहासमा नेपालको टिमले विश्वकपमा सबैभन्दा ठूलो सफलता हासिल गरेको छ । यस्तो ऐतिहासिक सफलता नेपाललाई दिलाउने श्रेय खो खो टिमलाई जान्छ । विश्वकपमा नेपालको खो खो टिम उपविजेता बन्यो । भारतमा पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको महिला र पुरुष दुवै टिम उपविजेता बनेका छन् ।

नेपाललाई भारतका दुवै टिमले फाइनलमा पराजित गरेका थिए । भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर हलमा माघ ६ गते भएको फाइनल खेलमा नेपालको पुरुष टिम आयोजक भारतद्वारा ५४–३६ अङ्कले पराजित भएको थियो ।

प्रतियोगिताको नेपाल पहिलो खेलमा भारतद्वारा नै ४२–३७ अन्तरले हारेको नेपालले दोस्रो खेलमा पेरुलाई ८०–३४ अङ्कले, तेस्रो खेलमा ब्राजिललाई १३४–८ अङ्कले र चौथो खेलमा भुटानलाई ९८–८ अङ्कले पराजित गरेको थियो । नेपालले क्वाटरफाइनलमा बङ्गलादेशलाई ६७–१८ अङ्क तथा सेमिफाइनलमा इरानलाई ७२–२० अङ्कले पराजित गरेको थियो ।

त्यस्तै महिला वर्गको फाइनल खेलमा नेपाललाई भारतले ७८–४० अङ्कले पराजित गर्‍यो । नेपाल अपराजित रहँदै फाइनलमा पुगेको थियो । सेमिफाइनलमा नेपालले युगान्डालाई ८९–१८ अङ्कले पराजित गर्‍यो भने क्वाटरफाइनलमा इरानमाथि १०३–८ अङ्कले जित हासिल गर्न नेपाल सफल भयो ।

नेपालको कुनै पनि खेलको विश्वकपको फाइनलमा पुगेको यो पहिलो पटक हो । विश्वकपमा ऐतिहासिक सफलता हासिल गरेसँगै राष्ट्रिय खेलकुद परिषद्ले उमेर समूहका खेलाडीलाई ध्यानमा राखेर सञ्चालन गरिरहेको छात्रवृत्ति कार्यक्रममा खो खोलाई पनि समावेश गरेको छ ।

नेपालमा खो खो

नेपालमा खो खो कहिले भित्रियो भन्ने यकिन जानकारी कसैसँग छैन तर यो चर्चित खेल हो भन्नेमा दुई मत छैन । किनकि २०३८ सालदेखि विद्यालयको पाठ्यक्रममा समेत खो खो समावेश गरिसकिएको थियो । विशेष गरी दिमागी खेल पनि भएकाले यसलाई सामान्य मैदानबाहेक खासै अरू उपकरण चाहिँदैन । जसका कारण यो खेलको पहुँच विद्यालयमा सहजै बढ्ने अनुमान गरेर पाठ्यक्रममा राखिएको थियो ।

सोचे अनुसारको सफलता भने यो खेलले पाउन नसकेको तितो यथार्थ हामीसँग छ । प्रशिक्षकको अभावमा यसले सोचे जस्तो चर्चा पाउन नसकेको खेलविज्ञको बुझाइ छ । सङ्घका रूपमा भने २०५१ सालमा डा. रामकृष्ण महर्जनको अध्यक्षतामा नेपाल खो खो सङ्घ गठन भएको थियो ।

त्यतिबेला भारतमा खो खो सिकेर नेपालमा विस्तार गर्ने योजना बनाइएको थियो । तिनै महर्जनको नेतृत्वमा कीर्तिपुरको मङ्गल माविमा खेलाडीलाई प्रशिक्षित गर्न थालियो । सोही समयमा भारतको कोलकातामा भएको पहिलो एसियाली खो खो च्याम्पियनसिपमा मङ्गल माविका खेलाडीको बाहुल्य रहेको थियो । अहिले तिनै मङ्गल माविका उत्पादन खो खोको विभिन्न पदमा रहेर खेललाई जीवित राख्ने काम गर्दै आएका छन् ।

महर्जन २०५१ सालमा सङ्घ गठन हुँदा सदस्य थिए । हाल उनी खेलाडीसँगै प्रशिक्षक पनि हुन् । अहिलेसम्म देशमा खो खोको पुरुष वर्गमा सात र महिला वर्गमा छ पटक राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेका छन् । महिला–पुरुष यु–२१ राष्ट्रिय प्रतियोगिता पहिलो पटक २०७९ साल चैतमा भएको थियो ।

खो खोका नेपालका ३८ जिल्लामा सङ्घ छन् । भक्तपुरले त प्रत्येक वर्ष विद्यालयस्तरीय खो खो प्रतियोगिता गर्दै आएको छ । त्यस्तै काठमाडौँ, सुनसरी, दाङ, बर्दिया, कास्की, नवलपुर, कैलाली, कञ्चनपुर, रुपन्देही, सङ्खुवासभा, बारा, पर्सा र धनुषालगायतका जिल्ला पनि सक्रिय रहेका छन् ।

खो खोले राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पटक २०६५ सालमा प्रवेश पाएको थियो तर राष्ट्रिय खेलकुद परिषद्को अदूरदर्शी निर्णयका कारण छैटौँ राष्ट्रिय खेलकुदमा भने यसलाई समावेश गरिएन । सातौँ राष्ट्रिय खेलकुददेखि यो निरन्तर खेलिँदै आएको छ ।

अन्तर्राष्ट्रिय सहभागिता

नेपालले पहिलो खो खोको अन्तर्राष्ट्रिय सहभागिता भारतमा जनाएको थियो । सिलिगुढीमा भएको अन्तर्राष्ट्रिय खो खो आमन्त्रण प्रतियोगितामा भाग लिएको नेपालले सन् १९९६ मा भारतकै कोलकातामा भएको पहिलो एसियाली खो खो च्याम्पियनसिपमा औपचारिक रूपमा प्रतियोगिता खेल्यो ।

दोस्रो च्याम्पियपनसिप बङ्गलादेशमा भएको थियो र त्यसमा नेपालले तेस्रो भयो । त्यस्तै तेस्रो च्याम्पियनसिप भयो र यसमा पनि नेपाल तेस्रो नै भएको थियो ।

दक्षिण एसियाली खेलकुद सागको कुरा गर्दा नेपालले १२ औँ सागमा खो खोमा प्रतिस्पर्धा गर्‍यो । भारतको गुवाहाटीमा भएको सो सागमा नेपालको महिला र पुरुष टोलीले तेस्रो स्थान हासिल गरेको थियो । १३ औँ सागमा नेपाल महिला वर्गमा दोस्रो र पुरुष वर्गमा तेस्रो भयो ।

कति छन् नेपालमा खेलाडी ?

२०३८ सालदेखि यो खेलले नेपालका विद्यालयको पाठ्यपुस्तकमा ठाउँ पाए पनि खेलाडी र प्रशिक्षकको अभाव अझै पनि छ । सङ्घका अध्यक्ष महर्जनका अनुसार महिलामा चार सय र पुरुषमा छ सय जति खेलाडी रहेका छन् । प्रशिक्षकको सङ्ख्या निकै कम छ ।

अबको रणनीति

यसबारे अध्यक्ष महर्जन स्पष्ट हुँदै गएका छन् । उनी भन्छन्, “हाम्रो पहिलो रणनीति भनेको यो खेललाई विद्यालयस्तरमा पुर्‍याउनु हो । त्यसो भयो भने खेलाडी उत्पादन गर्न सजिलो हुन्छ । अनि राष्ट्रपति रनिङ सिल्डमा समावेश गर्ने । त्यसो गर्न सके विद्यालय तहबाट खेलाडी उत्पादन भएर आउँछन् ।” उनका अनुसार दाङमा फागुन महिनामा पुरुष वर्गको आठौँ राष्ट्रिय प्रतियोगिता र सुनसरीमा आगामी वैशाखमा महिलाको सातौँ राष्ट्रिय प्रतियोगिता हुने छ ।

विद्यालय तहमा खो खोलाई लैजान चैतमा काठमाडौँ महानगरपालिकासँग मिलेर कार्यक्रम गर्ने महर्जनले जानकारी दिएका छन् । उनका अनुसार चैतमा काठमाडौँ महानगरको आयोजनामा ‘उपप्रमुख कप विद्यालयस्तरीय खो खो प्रतियोगिता’ आयोजना गरिने छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर