एस् ए टी भी २० फाल्गुन, काठमाडौँ: राष्ट्रिय गौरवको आयोजनामा समेटिएको चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणले तीव्रता पाएको छ। तीन वर्षदेखि अलपत्र चितवनको भरतपुर महानगरपालिका–१५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण नयाँ ढंगले अघि बढेपछि कामले तीव्रता पाएको हो।
गत असारमा भरतपुर महानगरपालिका र हिमालयन कालिन्चोक बिबिआर जेभीबीच ३० महिनाभित्र रंगशाला निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएपछि निर्माणको काम तीव्र गतिमा अगाडि बढेको महानगरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले जानकारी दिए। उनका अनुसार, आठ महिनाको अवधिमा २० प्रतिशत आर्थिक प्रगति भएको छ, तर भौतिक प्रगति भने त्यसभन्दा बढी छ।
‘आठ महिनाको अवधिमा १६ करोड रुपैयाँ बराबरको खर्च देखिएको छ। निर्माण भइरहेको भौतिक संरचनामध्ये डन्डी बिछ्याउने काम सकिँदासम्म २० करोड रुपैयाँ हाराहारीमा खर्च हुन्छ। यो काम अब एक दुई दिनमा सकिन्छ,’ इन्जिनियर आचार्यले भने।
अहिले रंगशालाको प्यारापिट र दुईवटा टावरको काम सँगसँगै भएको छ। उत्तर दक्षिणतर्फ विशिष्ट व्यक्ति, खेलाडी, रेफ्रीलाई राख्ने टावर बन्दै छन्। डन्डी तयारी अवस्थामा रहेको र डन्डी बिछ्याउने काम सकिँदा १५ हजार क्षमतामा दर्शक अट्ने प्यारापिट निर्माण हुनेछ। यही गतिमा काम अगाडि बढे पन्ध्र महिनाभित्र रंगशाला निमार्णको काम सकिने आचार्यले बताए। ‘हामीसँग अझै २२ महिना बाँकी छ। अहिलेको कामको गतिलाई हेर्दा पन्ध्र महिनामा सकिने देखेका छौँ,’उनले भने। उनका अनुसार, असार महिनामाभित्र प्यारापिट र दुईवटा टावर ढलाइको काम सकिनेछ। त्यसपछि भित्रको काम बर्खामा पनि गर्न सकिने उनले बताए। २२ महिनामाभित्र खेल्न लायक मैदान निर्माण हुने आचार्यको दाबी छ।
पहिलो चरणमा रंगशालामा मैदान, ड्रेनेज, २ वटा समान ३/३ तलाको टावर बनाइनेछ। एउटामा भिआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन्। दुवैतर्फ १५ हजार क्षमताको प्यारापिट बनाइनेछ।
धुर्मुस सुन्तली फाउन्डेसनले ५८ करोड रुपैयाँ बराबरकोे काम गरेको महानगरले बताएको छ। तर धुर्मस सुन्तलीले लगाएको ऋण तिर्ने पक्षमा महानगरपालिका छैन। ‘भरतपुर बासीलाई एक हिसाबले घाटा भएको छ’ महानगरपालिका प्रमुख रेनु दाहालले भनिन्, ‘त्यो ऋण त हामीले तिर्न सक्दैनौँ।’
रंगशाला निर्माण गर्न संघ र प्रदेश सरकारले बजेट विनियोजन गरेका छन्। भरतपुर महानगरपालिकाले पनि रंगशालाको अधुरो काम पूरा गर्न भनेर आगामी वर्षका लागि चार करोड ३० लाख रुपैयाँ बजेट स्वीकृत गरेको छ। प्रदेश र केन्द्र सरकारकै साझेदारी र सहकार्य गरेर रंगशाला निर्माण गर्ने योजनामा महानगर छ।
कृषि तथा वनविज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जमिनमा रंगशाला निर्माण गर्दै गर्दा आर्थिक अभाव भएपछि फाउन्डेसनले हात झिकेको हो। अहिले २० वर्षका लागि महानगरपालिकाले सो जग्गा लिजमा ल्याएको बताएको छ।