नेभिगेसन मेनु

सयथरि बाजा, एउटै गुनासो !
सम्पादक:南亚网络电视
समय:2024-09-14 13:16

ramprasad-kandel-lokbaja

२९ भाद्र, काठमाण्डौं - त्रिपुरेश्वरस्थित महादेव मन्दिर परिसरभित्र पस्नुभयो भने तपाईले देख्नुहुनेछ– लोकबाजा संग्रहालय । यहाँ पुराना नेपाली बाजागाजाको संरक्षणमा तीन दशकदेखि निरन्तर खटिरहेका भेटिनेछन्- संग्रहालयका संस्थापक तथा अध्यक्ष रामप्रसाद कँडेल ।

धादिङको गजुरीमा ०२२ सालमा जन्मेका कँडेलले सानो उमेरमा घरमा शंख देखे । सानैमा हजुरआमा देवकी कँडेलले गाउने भाकाबाट उनको मनमा संस्कृतिप्रति प्रेम बस्यो ।

उमेर बढेपछि कँडेल थाङ्का कलाको व्यापारतिर लागे । थाङ्का कलाको व्यापारसँग उनलाई यसमा हुने बौद्ध धर्मशास्त्र, दर्शन र साधनाप्रति चाख बढ्यो ।

यही चाखलाई पूरा गर्न गुरु स्वामी अखण्डानन्द सरस्वतीको शरणमा पुगे । एक दशकभन्दा लामो समय गुरुको सामीप्यमा बसेर कँडेलले दर्शन र साधनाको गहनतालाई बुझे ।

देशका लागि केही गर्नू भन्ने गुरु आदेशअनुसार उनले बाजाको संकलन र संरक्षणमा लाग्ने प्रण गरे ।

शुरुमा उनलाई नेपालका मौलिक बाजाहरु २०/२५ वटा होलान् भन्ने लागेको थियो । उनी भ्रममा रहेछन् ।

धादिङसँगै नुवाकोट, रसुवा लगागतका जिल्लामा बाजा खोज्दै जाँदा एक वर्षमै उनले एक सय बाजा संकलन गरे । त्यसपछि बाजा संकलन र अध्ययनको क्रमलाई अझ निरन्तरता दिए । हालसम्म उनले ६६ वटा जिल्लामा पुगेर बाजाहरुको संकलन र अध्ययन गरेका छन् ।

देशभरि बाजा खोज्दै हिँड्दा कँडेलले अनेकौं दुःख झेलेका छन् । कतै चोरको आरोपसम्म खेप्नुपरेको उनी सुनाउँछन् ।

तामाङ समुदायमा लामाहरुले काङलिङ बाजा प्रयोग गर्छन् । यो मृत व्यक्तिको नलीखुट्टाको हड्डीबाट बनाइन्छ । यो बाजाको संकलनका क्रममा कँडेलले ठूलो जोखिम मोलेको सुनाए ।

‘म्युजिकल आइकोनिक ग्राफ अफ नेपाल’ पुस्तकका लागि पुराना मूर्तिकलाको तस्वीर संकलनकै क्रममा बर्दिया पुग्दा स्थानीय समुदायले मूर्तिचोरको रुपमा आशङ्का गरेर ठूलै लफडा गरेको उनले बिर्सेका छैनन् ।

बाजा, संस्कृति संकलन र अध्ययनका क्रममा भोगेका यस्ता अनेकौं कथा–व्यथा उनको मानसपटलमा ताजा छन् ।

विसं ०५२ सालदेखि कँडेल बाजाको संकलनमा लागेका हुन् । उनले ०५४ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा संग्रहालय ऐन नभएका कारण सामाजिक संस्थाका रुपमा बाजा संग्रहालय दर्ता गरे ।

उनी लगायतको समूहको प्रयासमा संकलित बाजाहरुको व्यवस्थापन, संरक्षण र प्रदर्शन गर्ने हेतुले ०५८ सालमा भद्रकालीमा कोठाभाडा लिएर संग्रहालयको स्वरुप दिइयो ।

तत्कालीन मन्त्रिस्तरीय बैठकबाट अनुमोदन पाएर ०६४ सालमा संग्रहालय र गुठी संस्थानबीच सम्झौता भयो । सोही सम्झौताअनुसार महादेव मन्दिर परिसरको सत्तलमा संग्रहालय सारियो । ०६४ सालदेखि हालसम्म त्रिपुरेश्वरको यही सत्तलमा संग्रहालय रहँदै आएको छ ।

कँडेलका अनुसार हाल सङ्ग्रहालयमा ६५७ प्रकारका बाजा छन् । त्यस्तै, ४० हजार घण्टासम्मका श्रव्य–दृश्य सामग्रीहरु संग्रहित छन् । त्यसैगरी १० हजार घण्टाका दृश्य सामग्रीहरु डिजिटलरुपमा संग्रहित गरिएका छन् । जसमा बाजा, गीत, नाच, पर्व, जात्राका श्रव्य–दृश्य सामग्री रहेको कँडेल बताउँछन् ।

बाजा संग्रहालयसमेत रहेको मन्दिर परिसर र सत्तलमा ०७२ सालको भूकम्पबाट क्षति पुग्यो । त्यसपछि यो सत्तल गुठी संस्थानले पुनर्निर्माण तथा सञ्चालनका लागि काठमाडौं विश्वविद्यालय (केयु) लाई दिने निर्णय ग¥यो ।

केयुले उक्त परिसरलाई पुनर्निर्माण गरी संगीत विद्यालयका रूपमा परम्परागत धर्म, बाजा, संगीतलाई जोगाउने, संरक्षण गर्ने, अनुसन्धान गर्ने उद्देश्य राखेको छ ।

केयुले बाजा सङ्ग्रहालयको विषय भने गुठी संस्थानलाई नै छोडेको छ । उसले महादेव परिसरको मल्लकालीन सम्पदा र ऐतिहासिक सभ्यतालाई जोगाउन पहल गर्ने बताउँदै आएको छ । हालसम्म पनि उक्त परिसरमा पुनर्निर्माणको कार्य जारी छ ।

बाजा सङ्ग्रहालय रहेको स्थान जीर्ण भएकाले पुनर्निर्माणकै लागि भए पनि स्थानान्तर हुनुपर्ने गुठी संस्थानले अडान राख्दै आएको छ । कँडेल भने अझै नयाँ बाजाहरु थपिरहेका छन् ।

गुठी संस्थानको स्वामित्वमा रहेको संग्रहालय परिसर खाली गर्न संस्थानले पटक–पटक ताकेता गरिरहेको छ । कँडेल भने गुठीले बोलाएको बैठकमा जान्छन्, खाली गर्नु भन्ने आदेश सुन्छन् र फेरि लुरुलुरु संग्रहालयतिरै फर्कन्छन् । र, आफूले लामो सङ्र्षले सङ्कलन गरेका मौलिक बाजाहरुको स्याहार सुसारतिर लाग्छन् ।

गुठी र कँडेलबीच यसरी दोहोरी चलेको झण्डै एक दशक भयो । यसबीचमा कँडेलले जिल्लादेखि उच्च अदालतसम्मको लामो कानुनी लडाइँ पनि लडिसकेका छन् । यी लडाइँहरुमा उनी असफल लडाकू बन्न पुगेका छन् । अदालतको फैसला गुठी संस्थानकै पक्षमा आएको छ ।

कानुनी लडाइँमा जानुपूर्व उनी बाजा र संङ्ग्रहालयको अस्तित्व समाप्त होला कि भन्ने त्रासमा थिए । कानुनी लडाइँमा असफल भएपछि आफूभित्रको डर हराएको उनी बताउँछन् ।

सङ्ग्रहालयमा खबरहबकर्मी पुग्दा कँडेल तामाङ समुदायको ‘पिवाङ’ र नेवारी समुदायको बाजा ‘पिँवाचा’ बनाउने तयारीमा अभ्यस्त थिए । उनी भर्खरै गुठी संस्थानको बैठकमा पुगेर सङ्ग्रहालय फर्केका रहेछन् । उनले सुनाए, ‘भर्खरै गुठीकै मिटिङमा पुगेर आएको । उहाँहरुले जतिसक्दो चाँडो खाली गर् भनिरहनुभएको छ । यत्रो बाजा कता लगेर राख्ने ? बाजा सङ्कलनसँगै आफ्नै जमीन र घर बनाएको भए हुने रहेछ, सकिएन ।’

उनले आफ्नो तीन दशकको मेहनतलाई उनले माटोमुनिको जगका रुपमा लिएका छन् । यही जगकै कारण विद्यालयस्तरको पाठ्यक्रममा बाजा अध्ययनलाई समेटिएको छ । युवा पुस्तालाई आफ्नो बाजा चिनाउनुपर्छ भन्ने चेनता समुदायभित्र पनि आएको छ । यसमा उनी निकै खुसी छन् ।

आफूले संकलन गरेको प्रत्येक बाजाका प्रतिलिपि सिर्जना गरेर ७५ वटै जिल्लाको सदरमुकाममा बाजा सङ्ग्रहालय स्थापना गर्ने योजना उनले बुनेका छन् ।

कँडेलका अनुसार यो योजना पूरा भएमा बाजा अवनकै लागि काठमाडौँ बाहिरदेखि विद्यार्थीहरु राजधानीसम्म आउनुपर्ने बाध्यता रहँदैन ।

उनको योजना र हालको सङ्ग्रहालयले भोलि कुन रुपमा होला, त्यो त उनलाई एकिन छैन । भन्छन्, ‘राज्यले नै स्वयम् सङ्ग्रहालयको जिम्मेवारी लिइदिएमा म ढुक्कले थप संस्कृति र बाजा अध्ययनको काममा लाग्न पाउँथेँ ।’

आफूले गरेको कार्यलाई कँडेलले देश र संस्कृतिप्रतिको समर्पणका रुपमा लिएका छन् । देशको मौलिक बाजा र संस्कृतिका लागि झण्डै तीन दशकसम्मको उनको अथक सङ्घर्षमा उनी थाकेका छैनन् । उमेरले उनलाई अब आरामतिर सङ्केत गरिरहेको छ । उनी भने अझै १०/१५ वर्ष संस्कृति संरक्षणका लागि लाग्छु भन्ने जोशमा छन् ।

‘सङ्ग्रहालयको व्यवस्थापन र निरन्तरता अब कसरी हुन्छ भन्ने जिज्ञासामा कँडेल भन्छन्, ‘न्यायालयबाट नै न्याय नभएपछि मेरो डर रहेन । मैले त यत्रो वर्ष आफ्ना लागि भन्दा पनि देशकै लागि काम गरेको हुँ । हदै भए यो ठाउँबाट बाजाहरु फ्याँक्ने काम होला । त्यो अवस्थामा राज्यले त केही गर्ला नि । होइन भने यतैतिर प्लास्टिक ओढाएरै भएर पनि संरक्षण गर्छु ।’

कँडेललाई आफूले गरेको काममा पश्चाताप छैन । बाजा, संस्कृति र कलाको खोजीमा लागेका उनको यात्रा १० वर्ष सङ्ग्रहालय कसरी जोगाउने भन्ने धुनमै बितेको छ ।

घरि प्रशासनिक त घरि कानुनी लडाइँहरुमा उनले एक दशक न्यायालयदेखि मन्त्रालयको ढोका चाहारे । ‘मेरो १० वर्षसम्मको समय बिनासित्ति बित्यो । दश वर्षमा मैले अझै थुप्रै बाजा र संस्कृतिहरु खोज्न पाउने थिएँ’ उनी भन्छन्, ‘यो १० वर्षमा मैले भेट्नुपर्ने र बुझ्नुपर्ने कति अग्रजहरु बिते होलान् ।’

उनलाई लाग्थ्यो, कला र संस्कृति कुनै व्यक्तिको नभएर राज्यको हो । यद्यपि यो १० वर्षको उनको प्रयास निरर्थक रह्यो । अझै पनि उनी सङ्ग्रहालय बचाउँछु नै भन्ने पक्षमा छन् ।

जीवनको उर्जाशील समय उनले संस्कृति र बाजालाई दिए । यो समयावधिमा उनी कुनै पार्टी र सत्ताकेन्द्रित भन्दा पनि स्वतन्त्र नागरिक भएर निरन्तर लागे । उनको चित्त दुखाइ छ, ‘मैले कुनै पार्टीको भन्दा देशको झण्डा समातेँ । यो नै मेरो गुरुआज्ञा थियो । देशको बन्नु भनेको कसैको नहुनु रहेछ ।’

कँडेल कहिलेकाहीँ आफैंलाई प्रश्न गर्छन्, ‘कतै देशको सम्पत्तिका रुपमा बाजाबारे राज्यलाई चिनाउनै पो सकिएन कि ?’

कँडेलको अध्ययनअनुसार नेपालमा एक हजार ३५० थरिका बाजा छन् । प्रत्येक भूगोल, समाज, समुदाय र बस्तीका आ–आफ्नै संस्कृति, धुन र नाचहरु छन् । ती सबैलाई समेट्न अझै सकिएको छैन । सबैलाई समेट्ने हो भने नेपाललाई सङ्गीतको गुरुकुल बनाउँदै साङ्गीतिक पर्यटकमा समेत अगाडि बढाउन सकिने उनको तर्क छ ।

सरकारलाई उनको प्रश्न छ, ‘आजसम्म हामीले विश्व पर्यटनमा हिमाललाई बेचिरहेका छौं । भोलि त्यो पनि सकियो भने के बेच्ने ?’

संस्कृति र मौलिक बाजा संरक्षण गर्ने हो भने ‘एक बाजा र एक नेपाली’को नीति ल्याउनुपर्ने उनको तर्क छ ।

कँडेल भन्छन्, ‘प्रत्येक युवामा एउटा मात्रै बाजाको सीप भएमा अन्य मुलुकमा समेत यही प्रदर्शन गरेर बाँच्ने आधार बन्न सक्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर