नेभिगेसन मेनु

अनियन्त्रित दोहन र खडेरीले सुक्न थाले हातेपम्प
सम्पादक:南亚网络电视
समय:2024-06-19 13:10

pump2024-06-19-06-15-31

धनगढी उपमहानगरपालिका– ११ घोड्सुवामा खानेपानीका लागि करिब पाँच वर्षअघि खनिएको डिप बोरिङ सुकेको छ । लगातारको खडेरीसँगै गत जेठदेखि डिप बोरिङमा पानी आउन छोडेको हो । पानी नै नआउने भएपछि पाइप बिछ्याएर गाउँमा वितरण गर्न नसकिएको वडासदस्य तुल्सीराम रानाले बताए । 

धनगढी– १२ जुगेडा ‘ए’ गाउँका रवि लामाको हातेपम्प (नल्का) सुकेको तीन महिना भयो । गत चैतमा हातेपम्प सुकेयता उनको परिवारले खानेपानीका लागि छिमेकीको भर पर्नुपरेको छ । खानेपानी लाइनबाट धारा जडान गरेका छिमेकीबाट मासिक सय रुपैयाँ तिरेर पानी ल्याउने गरिएको लामाले बताए । 

‘पानी सुकेपछि लुगाकपडा धुन, शौचालय जान र बारी सिँचाइ गर्न निकै समस्या भएको छ,’ लामाले दुःख सुनाए, ‘अर्काको धाराबाट बोकेर ल्याएको पानीले धानको ब्याड जोगाउनुपरेको छ । धारामा पानी नआएको दिन शौचालय जान पनि समस्या हुन्छ ।’ अर्का स्थानीय धनबहादुर लामाका अनुसार गाउँका दर्जनभन्दा बढी परिवारका नल्का गर्मी सिजन सुरु भएसँगै सुकेका छन् ।

धनगढी– ११ बेलागाउँमा खनिएको डिप बोरिङबाट तीन–चार वर्षअघिसम्म पानी आउँथ्यो । डिप बोरिङको पानी स्थानीयले पिउन र सिँचाइका लागि प्रयोग गर्थे । सिँचाइ गरेर गर्मीयाममा धानको बिउ जोगाउन स्थानीयलाई निकै सजिलो थियो । करिब तीन दशकअघि खनिएको बोरिङमा अहिले पानी आउन छोडेको छ । स्थानीयका अनुसार दुई वर्षअघिसम्म पनि थोरै पानी आउने डिप बोरिङ त्यसयता पूरै सुकेको छ । 

कैलाली, कञ्चनपुर जिल्लामा तराई क्षेत्रका बासिन्दा भूमिगत पानीको स्रोतमा निर्भर छन् । अत्यधिक दोहन, लामो खडेरीजस्ता कारणले भूमिगत पानीको स्रोत सुक्दै जाँदा यहाँ खानेपानीको संकट देखिन थालेको छ । डिप बोरिङ, स्यालो ट्युबेल, नल्का सुक्न थालेपछि सर्वसाधारणले पानीको संकट भोग्नुपरेको छ । भूमिगत स्रोत सुक्ने र पानी घट्ने समस्या देखिन थालेपछि खानेपानीको संकट बढ्दै गएको छ । सहरी क्षेत्रमा यो समस्या बढी देखिएको छ ।

तराईमा खानेपानी र सिँचाइका लागि भूमिगत स्रोतको प्रयोग हुँदै आएको छ । चरम दोहनका कारण भूमिगत पानीको स्रोत रित्तिँदै गएको जलस्रोत तथा सिँचाइ विकास कार्यालय धनगढीका प्रमुख श्रवण खनाल बताउँछन् । ‘लामो खडेरी, भूमिगत स्रोतको चरम दोहन, भूमिगत स्रोतको भरण हुने भावर क्षेत्रको विनाशजस्ता कारणले तराईमा जमिनमुनि पानीको सतह घट्दै गएको छ,’ उनले भने ।

भूमिगत स्रोतको संरक्षण र पुनर्भरण हुन नसक्ने हो भने अबका केही वर्षमा तराईमा पानीको संकट अझ गहिरिने उनको भनाइ छ । ‘तराईमा स्यालो ट्युबेल, डिप ट्युबेलको संख्या धेरै भयो । अर्कोतिर पानी जति निकाल्यो त्यति पुनर्भरण हुनुपर्ने हो, तर भएन,’ खनाल भन्छन्, ‘भावर क्षेत्रमा बस्ती बस्नु, वर्षा अनियमित हुनुजस्ता कारणले पानीको भूमिगत स्रोत घट्दै गएको हो ।’ 

हिजोआज भूमिगत पानीको स्रोत भेट्टाउन पनि मुस्किल हुन थालेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार आठ–दश वर्षअघिसम्म जमिनमुनि ७०–८० फिटमा आउने पानी अहिले डेढ–दुई सय फिट खन्दा पनि मुस्किलले फेला पर्ने गरेको छ । ‘१८ वर्षअघि नल्का हाल्दा ८२ फिटमा पानी आएको थियो, गत वर्ष छिमेकमा एक सय ६९ फिट खनेपछि बल्ल पानी भेटियो,’ धनगढी– ५ का तारानाथ अवस्थीले भने, ‘त्यो पनि गर्मीमा पानी घट्न थालेको छ ।’ 

जलस्रोत तथा सिँचाइ विकास कार्यालय धनगढीले गरेको एक अध्ययनले धनगढी क्षेत्रमा १० वर्षको अवधिमा भूमिगत पानीको सतह करिब दुई मिटर घटेको अनुमान गरेको छ । जमिनमुनि पानीको सतह भेटिएको करिब १० वर्षको तथ्यांक र अन्य आधार अध्ययन गर्दा वार्षिक औसत २० सेन्टिमिटर स्रोत घटिरहेको देखिएको कार्यालय प्रमुख खनालले बताए । 

यसको प्रमुख कारण डिप ट्युबेल, स्यालो ट्युबेलबाट अनियन्त्रित दोहन रहेको उनले बताए । सिँचाइ विकासले मात्र पाँच वर्षको अवधिमा कैलालीमा ४५ स्यालो ट्युबेल र डिप ट्युबेल खनेको उनले जानकारी दिए । खानेपानी कार्यालय, स्थानीय तह, सिँचाइका अन्य निकायले पनि स्यालो ट्युबेल र डिप ट्युबेल राख्ने गरेका छन् ।

एक स्यालो ट्यूबेलबीचको दूरी ५० मिटर र डिप ट्युबेलबीचको दुई–तीन सय मिटर हुनुपर्नेमा अन्धाधुन्ध राख्ने गरिएको खनाल बताउँछन् । वर्षायामको पानी संकलन गरेर पुनर्भरण गर्नेतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ । पश्चिम तराईमा लामो समयदेखि वर्षा हुन सकेको छैन । धनगढीमा गत १७ जेठमा अधिकतम तापक्रम ४४.१ डिग्री सेल्सियस मापन भएको थियो । जुन करिब २९ वर्षयताकै उच्च तापक्रम हो । मंगलबार धनगढीको अधिकतम तापक्रम ४३.१ र न्यूनतम तापक्रम ३० डिग्री सेल्सियस मापन भएको छ ।

पुनर्भरणका लागि धनगढीमा तालको अतिक्रमण हटाइँदै

स्रोत सुकेर खानेपानीको समस्या देखिन थालेपछि धनगढी उपमहानगरले पानीको पुनर्भरणको प्रयास सुरु गरेको छ । नगरभित्र रहेका पुराना तालहरूको अतिक्रमण हटाएर पुरानै स्वरूपमा फर्काउन अभियान नै थालिएको मेयर गोपाल हमालले बताए । ८३ तालको अतिक्रमण हटाउने अभियान तीव्र पारिएको उनले बताए । ‘परम्परागत ताल अतिक्रमण गरेर कंक्रिटका घर बनाइए । पानीको पुनर्भरण हुने ताल अतिक्रमणले पुरिएपछि जमिनमुनि पानीको स्रोत घटेको छ,’ मेयर हमालले भने, ‘पानीको संकट नहोस् भनेर तालहरूलाई पहिलेकै स्वरूपमा फर्काउन अतिक्रमण हटाउने अभियान चलाइरहेका छौँ ।’ 

त्यस्तै, सामुदायिक वनभित्र एउटा पोखरी बनाउन नगरका सबै सामुदायिक वनलाई पत्राचार गरिएको उनले बताए । यसले पानीको पुनर्भरणसँगै वनमा आगलागी हुँदा निभाउन र वन्यजन्तुका लागि पनि सहज हुने हमालले बताए । ‘विद्यालयमा नल्का सुकेर खानेपानीको समस्या देखिएपछि ट्यांकरले ढुवानी गर्न थालिएको छ,’ हमालले भने, ‘पुनर्भरणमा ध्यान नदिने हो भने अबको आठ–दश वर्षपछि खानेपानीको हाहाकार हुन्छ । यसबारे सबै पालिका र सरोकारवाला निकायले सोच्नुपर्ने वेला आएको छ ।’ भविष्यमा पानीको समस्या नआओस् भनेर घरको नक्सापास गर्दा जमिनमुनि रिचार्ज पोखरी अनिवार्य बनाएको हुनुपर्ने नीति उपमहानगरले पारित गरेको उनले बताए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर