नेभिगेसन मेनु

७१ औँ सगरमाथा दिवस, राष्ट्रिय तथा अन्तराष्ट्रिय आरोहीलाई सम्मान गरेर मनाइँदै
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2024-05-29 15:46

Image_20240529121721

७१ औं सगरमाथा दिवसको अवसरमा पानसमा बत्ती बाल्दै सम्माननिय प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड' र साथमा पर्यटनमन्त्री हित बहादुर तामाङ। तस्बिर: विशाल श्रेष्ठ, एस् ए टि भी

काठमाडौँ, जेठ १६ गते । विश्वको सर्वाेच्च शिखर सगरमाथामा पहिलो पटक सन् १९५३ मे २९ तारिख अर्थात् ७१ वर्षअघि आजकै दिन बिहान ११ बजेर १५ मिनेटमा पहिलो पटक भएको सफल आरोहणको स्मृतिमा आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिने आरोहण कार्यको सम्मानमा सगरमाथा दिवस मनाउने गरिएको हो ।

IMG_0225

काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरी ७१औ सगरमाथा दिवस मनाइएको छ। कार्यक्रममा प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड' को प्रमुख आतिथ्य थियो भने नेपाल पर्यटन तथा संस्कृति उड्डयन मन्त्री हित बहादुर तामाङ, कोशी प्रदेश सरकारका मुख्यमंत्री हिक्मत कुमार कार्की, विभिन्न देश बाट पाल्नु भएका हिमाल आरोही लगायत अन्य विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो।

IMG_0381

कार्यक्रममा मन्तव्य पेस गर्नुहुदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गर्नुभएको छ । उहाँले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

IMG_0397

७१औँ सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले लक्ष्य पूरा गर्न पर्वतारोहणसँग सम्बन्धित विभिन्न संघसंस्था, सहयोगी, पर्यटन व्यवसायीलगायत सबैसँग समन्वय गरेर सहकार्य गरेर एकापसमा विश्वासको वातावरण सिर्जना गरी जानुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि 'हिमाल जोगाऔँ मानव बचाऔँ, नेपालको पहिचान साहसी सान' भन्ने नारासहित सरकारको बजेटमा नै आगामी वर्ष नेपालमा १६ लाख पर्यटकको आगमनको लक्ष्य निर्धारण गरिएको उल्लेख गर्नुभयो। 

Image_20240529121745

त्यसै गरी ३० औँ पटक सगरमाथा चुचुरोमा पुगेर कीर्तिमान राखेका आरोही कामिरिता शेर्पाले हिमाल बचाउन विश्वको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हिमाललाई सुरक्षित राख्न मानव सृजित समस्या जस्तै प्राकृतिक स्रोतको अत्यधिक दोहन, ऊर्जाको अत्यधिक प्रयोग, बढ्दो औद्योगिकीकरणका साथै डढेलो, भूकम्प, ज्वालामुखी जस्ता प्राकृतिक प्रकोपलगायत कारण भइरहेको जलवायु परिवर्तनबारे विश्व नै गम्भीर हुन आवश्यक छ ।” उहाँले पृथ्वीको कुलिङ एजेन्टका रूपमा काम गर्ने हिमालका आधार शिविरमा प्रयोग हुने ग्यासचुलो, हिटरलगायतका उपकरणको प्रयोगमा समेत नियन्त्रण आवश्यक रहेको बताउनुभयो । 

त्यस्तै छैटौँ पटक सगरमाथा आरोहण गरेर फर्किएका आरोही जेनजेन लामाले जलवायु परिवर्तनका कारण हिमालमा कम हिउँ पर्ने, हिउँ नजम्ने र द्रुत गतिमा हिउँ पग्लिँदै गएका कारण हिमाल सङ्कटमा पर्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “खुम्बु आइसफल क्षेत्रमा कम हिउँ भएका कारण यस पटक आरोहणका लागि बाटो बनाउनसमेत मुस्किल परेको छ । लुबुचे पिक क्षेत्रमा काला पत्थर देखिएका छन् ।” उहाँले जलवायु परिवर्तनको असरले अहिले मात्रै नभएर कालान्तरमा वनस्पती, जीवजन्तु, चराचुरुङ्गीलगायत रैथाने बाली लोप हुँदै जाने र पर्यटनको क्षेत्रमा सङ्कट ल्याउन सक्ने बताउनुभयो । 

नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारी पहिलो पटक सगरमाथाको शिखरमा पुगेर विश्वलाई मानवीय साहस र क्षमताको परिचय दिनुभएको थियो । आरोही हिलारीको सन् २००८ जनवरी ११ र नोर्गेको सन् १९८६ मे ९ तारिखमा निधन भयो । हिलारीको निधनको सन्दर्भ पारेर नेपालमा सन् २००८ देखि सगरमाथा दिवस मनाउन थालिएको हो ।

सगरमाथा आरोहणको सात दशक लामो यात्रामा सन् २०२२ सम्म सात हजार २२६ स्वदेशी तथा विदेशी पर्वतारोहीले सगरमाथा चढेर साहसिक विजय यात्रा पूरा गरिसकेका छन् । जसमध्ये ५१९ जना महिला रहेका छन् ।

आरोहणका क्रममा तीन सयभन्दा बढीको निधन भएको छ । सगरमाथा आरोहणको इतिहासमा २०७२ मा महाभूकम्प र २०७७ मा कोरोना महामारीका कारण कुनै मानव पाइला सगरमाथा चुचुरोमा पुगेनन् । त्यस्तै २०७१ को वसन्त ऋतुमा हिमपहिरो गएका कारण आरोहण रोकिएको थियो । पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनियरिङ इन नेपाल, फ्याक्ट्स एन्ड फिगर–२०२३’ का अनुसार सन् २०२२ सम्म ३६ वटा विषयमा सगरमाथामा कीर्तिमान कायम गरिएको छ ।

IMG_0252

एकै जनाले दर्जनौँ पटक आरोहण गरेको यस चुचुरोमा दुवै खुट्टा गुमाएकादेखि दृष्टिविहीनसम्मले आरोहण गरेर कीर्तिमान बनाउनुभएको छ । सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीले नयाँ नयाँ कीर्तिमान थप्दै आउनुभएको छ । सगरमाथा आरोहण गरेर कीर्तिमान राख्नेमा विश्वकै पहिलो महिला, नेपाली प्रथम महिला, फरक क्षमता भएका, दुवै खुट्टा गुमाएका, सगरमाथामा विवाह गर्ने जोडी, पाको उमेरकी महिला, उत्तर दक्षिण दुवै दिशाबाट आरोहण गर्ने महिला, सबैभन्दा ठुलो आरोहण दल, नेपाली प्रथम पत्रकार, सबैभन्दा पाको उमेर, बिनाअक्सिजन आरोहण, सगरमाथाको शिरबाट स्की, सगरमाथाको शिरमा २१ घण्टा, एचआइभी एड्सपीडित, सबैभन्दा छिटो र सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आरोही रहनुभएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर