नेभिगेसन मेनु

एकै ओभरमा दीपेन्द्रका ६ छक्का : नेपालको पहिलो र विश्वका पाँचौँ खेलाडी
सम्पादक:南亚网络电视
समय:2024-04-14 13:06

dipendra2024-04-14-06-15-27

ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० मा पाँचौँ नम्बर क्रिजमा पुगेका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले २०औँ ओभरमा कतारका कमरान खानलाई ६ छक्का प्रहार गरेका छन्। 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभर (६ बल)मा लगातार ६ छक्का प्रहार गर्ने पाँचौँ खेलाडीको रेकर्ड बनाएका छन् । उनको यो सफलता अन्तर्राष्ट्रिय टी–२० मा भने तेस्रो खेलाडीको विश्वरेकर्ड बनेको छ । त्यस्तै, एकै ओभरमा ६ छक्का हान्ने नेपाली क्रिकेटर उनी पहिलो बनेका छन् । ओमानमा चलिरहेको एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा कतारलाई ३२ रनले हराउने क्रममा दीपेन्द्रले २०औँ ओभरमा ६ छक्का प्रहार गरेर ऐतिहासिक रेकर्ड बनाएका हुन् ।

यसअघि एकै ओभरमा ६ छक्काको कीर्तिमान भारतका युवराज सिंह, वेस्ट इन्डिजका किरन पोलार्ड, दक्षिण अफ्रिकाका हर्सेल गिब्स र अमेरिकाका जसकरण मलहोत्राको नाममा थियो । युवराज र किरनले टी– २० तथा हर्सेल र जसकरणले एकदीवसीयमा यो रेकर्ड बनाएका थिए । युवराजले सन् २००७ टी–२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध र पोलार्डले सन् २०२१ मा श्रीलंकाविरुद्ध लगातार ६ बलमा छक्का हानेका थिए । हर्सेलले सन् २००७ को एकदीवसीय विश्वकपमा नेदरल्याण्ड्सविरुद्ध एकै ओभरमा ६ छक्का हिर्काएका थिए । त्यस्तै, सन् २०२१ मा अमेरिकाका जसकरण मलहोत्राले पपुवा न्युगिनीविरुद्ध यही रेकर्ड कायम गरेका छन् ।

अल अमेरात मैदानमा पाँचौँ नम्बर क्रिजमा पुगेका दीपेन्द्रले पहिलो इनिङ्सको अन्तिम ओभरमा कमरान खानलाई ६ छक्का प्रहार गरे । १९ ओभर समाप्तिमा नेपालले सात विकेट गुमाउँदै १७४ रन बनाएर खेलिरहेको थियो । दीपेन्द्रले ६ छक्कासहित ३६ रन जोड्दा नेपालले निर्धारित २० ओभरमा २१० रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । दीपेन्द्रविरुद्ध बलिङ गर्न आएका कमरानले १.४ ओभरमा सर्वाधिक ४२ रन खर्चिए । 

दीपेन्द्रले चौथो छक्का प्रहार गरेपछि ६ वटै बलमा छक्का हान्न सक्ने आत्मविश्वास पलाएको अनुभव सुनाएका छन् । ‘पहिलादेखि नै अभ्यास यस्तै गरिरहेको थिएँ । आज त्यो यहाँ (कतारविरुद्ध) देखिएको छ,’ उनले भने, ‘चौथो छक्का प्रहार गरेपछि अब ६ छक्का प्रहार गर्न सक्छु भन्ने लाग्यो । कीर्तिमान बनाएको छु । एकदमै खुसी छु । टिमले मलाई समर्थन गरेको छ । कोचले पनि फिनिसर मान्नुभएको छ । त्यसैले म यहाँ छु । राम्रो भइरहेको छ ।’

टस जितेर ब्याटिङ गरेको नेपालले पूरा ओभर खेल्दै २११ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा कतारले पूरा २० ओभर खेल्दै नौ विकेट गुमाएर १७८ रन बनायो । 

नेपाली राष्ट्रिय टोली कप्तान रोहितकुमार पौडेलले दीपेन्द्रसहित सबै खेलाडीबाट समग्रमा राम्रो प्रस्तुति भएको बताए । ‘ब्याटिङमा राम्रो भयो, दीपेन्द्र दाइले राम्रो प्रदर्शन गर्नुभयो । नेपाली ब्याटिङको शीर्ष क्रम राम्रो भएको छ । बलिङ पनि पावर प्लेमा राम्रो भएको छ,’ उनले भने । 

लगातार दोस्रो जितपछि नेपालले ४ अंक जोडेको छ । नेपालले समूह १ को पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो । यसअघि दीपेन्द्रले नै चीनमा आयोजना भएको १९औँ एसियाली गेम्समा मंगोलियाविरुद्ध एकै ओभरमा पाँच छक्का प्रहार गरेका थिए । उक्त खेलमा उनले नौ बलमा अर्धशतक बनाउँदै विश्व कीर्तिमान बनाएका थिए । 

एकै ओभरमा ६ छक्का लगाएपछि दीपेन्द्रसिंह ऐरीको प्रतिक्रिया–चौथो छक्का प्रहार गरेपछि ६ छक्का हान्न सक्छु भन्ने लाग्यो पहिलादेखि नै अभ्यास यस्तै गरिरहेको थिएँ । आज त्यो यहाँ (कतारविरुद्ध) देखिएको छ । चौथो छक्का प्रहार गरेपछि अब ६ छक्का प्रहार गर्न सक्छु भन्ने लाग्यो । कीर्तिमान बनाएको छु । एकदमै खुसी छु । टिमले मलाई समर्थन गरेको छ । कोचले पनि फिनिसर मान्नुभएको छ । त्यसैले म यहाँ छु । राम्रो भइरहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर