नेभिगेसन मेनु

घरमा खेल्नुको फाइदा कति ?
सम्पादक:南亚网络电视
समय:2024-03-18 14:07

WeChat Screenshot_20240318115139

काठमाडौँ — नेपाली मिडियासँग पछिल्लो पटक प्रस्तुत हुँदा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले भनेका थिए, ‘म समर्थकसामु माफी माग्न चाहन्छु । तर यो परिस्थति मैले बनाएको होइन । एन्फा पदाधिकारीसँग यसको उत्तर हुनुपर्छ । यो खेलाडीका लागि पनि गाह्रै स्थिति हो । तर अहिले हामीसँग कुनै विकल्प छैन । हाम्रो काम स्थितिको सामना गर्ने र आफूले सक्दो राम्रो गर्ने नै हो ।’ 

उनले यति धेरै भावुक भएर बोल्नुपर्ने किन परेको थियो त ? यो कुरा भने सबैलाई थाहा छ । विश्वकप र एसियाकप दुवैको छनोटका रूपमा रहेको बहराइनविरुद्धको एक खेल नेपालले आफ्नै भूमिका खेल्न पाउनुपर्ने थियो । त्यो भनेको दशरथ रंगशाला नै भयो । तर खेल उल्टै बहराइनमै हुने भएको छ ।

यस्तोमा नेपालले आफ्नो घरेलु मैदानमा खेलेर पाउने भए भरको फाइदा गुमाएको छ । यो पनि सबैलाई थाहा छ, फुटबलमा आफ्नो ‘होम ग्राउन्ड’ को अर्थ के हो भनेर ? तिनै एनिसले भनेजस्तै अब कराएर हुने तत्कालका लागि केही छैन । अहिले तत्कालका लागि नेपाली टिम बहराइन पुगिसकेको छ । अब बिहीबार एउटा खेल हुनेछ, अनि अर्को साताको मंगलबार दोस्रो खेल ।

यो समूहमा यूएई र यमन पनि छन् । दुवै खेल घरमै खेल्न पाउँदा बहराइनलाई अप्राकृतिक फाइदा पुग्नेछ नै । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलको मिति थाहा पाएर पनि दशरथ रंगशालालाई किन तयार राख्न सकेन, त्यो यही संस्थालाई थाहा होला । तिनै एन्फाका पदाधिकारीलाई सम्भवतः घरेलु मैदानमा खेल्नुको फाइदा पक्कै थाहा छैन ।

यसका लागि सबैभन्दा राम्रो उदाहरण त सन् २०११ मा भएको विश्वकपका खेल नै हुनेछ । नेपालले सुरुमा टिमोर लिस्टेको सामना गरेको थियो । त्यति बेला दुवै लेगका खेल काठमाडौंमै भएको थियो । त्यसको नेपालले भरपुर फाइदा लियो । समग्रमा दुई लेगको खेलमा नेपाल ७–१ ले अगाडि रह्यो । त्यति बेला भनिएको थियो, विचरा टिमोर लिस्टेले एउटा खेल पनि आफ्नो घरेलु मैदानमा खेल्न सकेन । दोस्रो चरणमा नेपालको प्रतिद्वन्द्वी थियो, जोर्डन ।

त्यसको पहिलो लेगको खेल अम्मानमा भएको थियो र त्यसमा नेपाल लाजैमर्दो हिसाबले ९–० ले पराजित भयो । त्यति बेला प्रशिक्षक थिए, ग्राहम रोबर्टस् । यो हारपछि उनले पनि माफी मागे । भन्थे, ‘यत्तिको खराब नतिजा मैले आफ्नो पूरा खेल जीवनमै भोगेको छैन । त्यसको पाँच दिनपछि नेपालले दशरथ रंगशालामा जोर्डनको आतिथ्य गर्‍यो । मज्जाले पानी परेको त्यो दिन नेपालले जोर्डनलाई १–१ को बराबरीमा रोक्यो । भरत खवासले त्यो खेलमा गरेका थिए, ऐतिहासिक गोल ।

यो नतिजापछि तिनै प्रशिक्षक रोबर्टस्ले भनेका थिए, ‘मलाई नेपाली टिमको प्रदर्शनमा खुसी र गर्व दुवै छ ।’ यसले पनि देखाउँछ, घरमा खेल्नु बाहिर खेल्नुको अन्तर । यसका लागि नेपालले केही वर्षयता खेलेका खेलको नतिजालाई पनि राम्रै उदाहरण बनाउन सकिन्छ । जस्तो, मुख्य प्रशिक्षकका रूपमा एनिस आएयता नेपालले औपचारिक १२ खेल खेलेको छ । यसमध्ये घरमा खेलेका चार खेल छन्, त्यसमा एक जित, दुई बराबरी र एक हार छन् ।

यो ठिक्ककै प्रदर्शन हो । तर उनकै नेतृत्वमा विदेशी भूमिका खेलेका आठ खेलमध्ये दुईमा मात्र जितै जित छ । त्यसपछि एक बराबरी । र, बाँकी पाँचमा हार । योचाहिँ खराब प्रदर्शन नै भयो । एनिस अगाडिका मुख्य प्रशिक्षक थिए, अब्दुलाह अल्मुताइरी । उनको नेतृत्वमा नेपालले आधिकारिक १७ खेल खेल्यो । त्यसमध्ये चार खेल घरेलु मैदानमा रह्यो । त्यसमा दुई जित, एक बराबरी र एक हार रह्यो । यो अलिकति राम्रै प्रदर्शन रह्यो ।

तर विदेशी भूमिमा खेलिएका १३ खेलमध्ये १० खेलमा हार रह्यो । दुई खेलमा जित निस्केकोमा एक बराबरी रह्यो । फेरि यो पनि पनि खराब प्रदर्शन नै रह्यो । विश्वकप छनोटकै खेलको कुरा गर्ने हो भने अहिलेसम्म नेपालले ठ्याक्कै ४० खेल खेलेको छ । त्यसमा घरमा खेलेका खेल छन्, नौ । त्यसमा दुई जित छन्, अनि चार बराबरी । बाँकी तीनमा हार । यी नौ खेलमध्ये पनि घरमा खेलेका पछिल्ला पाँच खेलमा नेपाल अपराजित रहेको छ ।

प्रतिद्वन्द्वीको हिसाबमा नेपालले खासै चुनौती दिन नसके पनि गल्फ राष्ट्रका लागि काठमाडौं आएर खेल्नु सजिलो थिएन, हाई अल्टिच्युटका हिसाबले पनि । २०१९ मा पनि नेपालले एसिया कप र विश्वकप छनोटको कुवेतविरुद्धको खेल आयोजना गर्दा स्थिति यस्तै थियो । १३ औं दक्षिण एसियाली खेलकुदका लागि दशरथ रंगशाला पुनर्निर्माणकै क्रममा थियो । त्यसैले नेपालले आफ्नो ‘घरेलु मैदान’ को खेल भुटानको थिम्पुमा लगेर खेलेको थियो । हाई अल्टिच्युटका कारण कुवेतलाई त्यो खेलको ९० मिनेट कटाउनै गाह्रो भएको थियो, नतिजा भने ०–१ ले नेपालको विपक्षमा थियो ।

विश्वकप छनोटका ३१ खेल भने नेपालले विदेशमा खेलेको छ । त्यसमध्ये पनि एक खेल तटस्थ भूमिका रूपमा भुटानमा त्यही कुवेतविरुद्धको खेल थियो । यी सबै खेलमा नेपाल २५ हार बेहोरेको छ । जित भने पाँच खेलमै मात्र छन् । एक खेल बराबरीमा टुंगेको छ । अनि यो पनि खराव प्रदर्शनकै दर्जामा आउँछ । यो तथ्यले देखाउँछ, विदेश भूमिमा खेल्नु कति धेरै कठिन छ भनेर । यो पृष्ठभूमिमा नेपालले आफ्नै भूमिमा खेल्नुपर्ने एउटा खेल बहराइनमा खेल्नुपर्दा निराशा सबैलाई हुन्छ, एन्फा पदाधिकारीलाई अपवाद मान्ने हो भने ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर