काठमाडौँ : फोर्ब्समा सूचीकृत नेपालका एकमात्र अर्बपतीको रूपमा परिचित विनोद चौधरी प्रमुख रहेको चौधरी समूहको जति ख्याति त त्यतिकै विवाद पनि। एकातिर चौधरी समूह प्रतिष्ठित औद्योगिक घरानाका रूपमा परिचित छ भने अर्कोतिर राजनीतिक र आर्थिक शक्तिको आडमा अवैध गतिविधीले विवादमा परिरहन्छ।
नेपाल राष्ट्र बैङ्क, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभाग जताततै चौधरी समूहका बदमासी ठोक्किए पनि कसैले औपचारिक अनुसन्धान गरेर निष्कर्षमा नपुर्याउँदा चौधरी समूहका कुनै सदस्य कानुनी परीक्षणमा सहभागी हुनु परेको थिएन।
तर एकाएक बिहीबार चौधरी समूहका प्रभावशाली तीन सदस्यमध्येका अरुण चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गर्यो। पक्राउको आधारमा बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा गैर कानुनी रूपमा व्यक्तिगत बनाएको।
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा गैर कानुनी रूपमा व्यक्तिको बनाएकोबारे डेढ वर्ष अगाडि उकालोले सार्वजनिक गरे पनि औपचारिक रूपमा कुनै सरकारी वा संवैधानिक निकायले अनुसन्धान गरेको सार्वजनिक पुष्टि भएको थिएन। संसद्मा भने आवाज उठिरहेको थियो। एकाएक सिआइबीले बिहीबार अरुणलाई पक्राउ गरेको समाचार सरप्राइज नै बनेको थियो।
अरुणलाई पक्राउ त्यति सहज थिएन। उनी चौधरी समूहका प्रभावशाली सदस्य त हुन् नै उनको दाइ विनोद चौधरी सत्ता गठबन्धनको सबैभन्दा ठुलो र प्रभावशाली दल नेपाली कांग्रेसका सांसद समेत हुन्।
यस अगाडि नै नक्कली भुटानी शरणार्थी घटनामा कांग्रेसका नेता बालकृष्ण खाँण समात्दा नै प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेतृत्वबिच नोकझोक सुरु भइसकेको थियो। त्यही दलका सांसद जो कांग्रेस सभापतिसँग निकट छन् उनलाई पक्राउ गर्दा सरकारको आयु नै सङ्कटमा पर्नसक्थ्यो नै।
स्रोतको दाबी अनुसार अरुण पक्राउ अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवालाई जानकारी गराएका थिए। उनले प्रमाण भए आफ्नो कुनै विमति नहुने बताएपछि नै प्रधानमन्त्रीले सिआइबीलाई अरुणलाई पक्राउ गर्न अनुमति दिएका थिए।
बिहीबारको दौडधुपबारे जानकारस्रोतका अनुसार सिआइबीले अरुणलाई पक्राउ गर्न बिहीबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अनुसन्धानको निचोडबारे ब्रिफिङ गरेको थियो। तर उनी डराए। प्रधानमन्त्रीको अनुमतीपछि सिआइबटीको बाटो खुलेको थियो।
अनुसन्धानकोक्रममा बरामद भएका प्रमाणले अरुणसहितले सरकारी जग्गा बदनियतसाथ व्यक्तिको बनाएको पुष्टि हुने भन्दै ब्युरो प्रमुख एआइजी किरण बज्राचार्यसहितले गृहमन्त्रीसँग अगाडि बढ्ने अनुमति मागेका थिए।
श्रेष्ठ सकारात्मक भए पनि उनले निर्णय दिन सकेनन्। गृहमन्त्री हच्किनुको कारण विनोद चौधरीको राजनीतिक सम्बन्ध नै थियो। खाण पक्राउ गरेकोमा अहिले पनि उनको पद संकटमै छ। कांग्रेसले गृह मन्त्रालय मागेको माग्यै छ।
गृहमन्त्रीले प्रधानमन्त्रीको अनुमति भए मात्र पक्राउ गरेर औपचारिक अनुसन्धान सुरु गर्न सकिने बताएपछि सिआइबीको टोलीसहित उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न गएका थिए।
सिआइबीको टोलीले प्रधानमन्त्रीलाई एक घण्टाभन्दा समय लगाएर बाँसबारीको सरकारी जग्गा अरुण र उनको श्रीमतीको नाममा रहेको चाँदबागको नाममा कसरी पुग्यो भन्ने ब्रिफिङ गर्यो। प्राप्त प्रमाणहरू देखायो।
सिआइबीले ब्रिफिङ गरिरहँदा प्रधानमन्त्री प्रचण्ड त्यति सहज देखिएका थिएनन्। पर्याप्त प्रमाण सङ्कलन भइसकेको र तत्काल एक्सनमा नजाने हो भने सूचना चुहिएर अनुसन्धानै गर्न नसक्ने अवस्था आउन सक्ने सम्मका पक्षबारे विस्तृत छलफलपछि प्रचण्डले देउवासँग समेत परामर्श गरेर सिआइबीलाई अगाडि बढ्न अनुमति दिएका थिए।
गृहमन्त्री र प्रधानमन्त्रीसँग परामर्श गर्नु अगाडि नै सिआइबीले बिहीबार पक्राउ गर्ने सुची बनाइसकेको थियो। सूचीमा चौधरीसँगै बाँसबारी छाला तथा जुत्ता कारखानाका कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र सञ्जय ठाकुर थिए।
सिआइबीको टोलीहरू बाँडिएर लाजिम्पाटमा रहेको चौधरी निवास थापाको बत्तिसपुतलीमा रहेको निवासमा निगरानी राखिसकेका थिए। यता प्रधानमन्त्री सहमत भएपछि पहिल्यै निगरानीमा रहेका सिआइबीको टोली अरुणको घरमा गयो। उनी बगैँचामा घाम ताप्दै थिए।
प्रहरीले आफूहरू आउनुको कारण खुलाउँदै सिआइबीको कार्यालय जान भन्दा उनले आफू प्रहरी कार्यालय नजाने अडान लिएका थिए। तर प्रहरी पक्राउ गर्ने तयारीसहित पुगेको थियो। उनीहरूले अरुणलाई मोबाइलबाट कसैसँग सम्पर्क गर्न दिएनन्।
प्रहरीले जसरी पनि लैजाने देखेपछि उनी नुहाउने अनि पूजा गर्ने भन्दै घरभित्र छिरे। प्रहरी कुरेर बस्यो। उनले पूजा सकाएपछि पनि आनाकानी गरिरहेका थिए। प्रहरीले बल प्रयोग गर्ने तयारी गरेपछि आफ्नै गाडीमा जाने सर्तमा उनी सिआइबी टोलीसँग निस्किए।
थापाको निगरानीमा रहेको प्रहरी उनको घरभित्र जानु पनि परेन। उनी घरबाट बाहिर निस्किएको बेलामा सहजै पक्राउ गरेर कार्यालय पूर्यायो। ठाकुरलाई भेट्न भने अलि समय लाग्यो।
चौधरीको विरासत
चौधरी समूहले आफ्नो कम्पनीको वेबसाइटमा राखेको विवरणमा सन् १९३५ मा भुरामल चौधरीले टेक्सटायलबाट व्यवसाय सुरु गरेको देखिन्छ। त्यसपछि लुनकरणदास चौधरीले जुटमिल,निर्माण, स्टिल, बिस्कुट, इलेकट्रोनिक्सx'Fb} चौधरी समूहको साम्राज्य फैलाए।
लुनकरणपछि विनोद, वसन्त र अरुणमा व्यवसाय बाँडियो। विनोद सिजी फुडसँगै बैङ्किङ, फाइनान्स, सिमेन्ट, होटल्स, टेलिकम जताततै सक्रिय भए। व्यवसाय बढाउन राजनीतिक संरक्षण खोज्नेक्रममा कहिले एमालेबाट सांसद भए त कहिले कांग्रेसबाट। उनका तीन भाइ सन्तान निर्वाण, वरुण र राहुलसमेत व्यवसायमा सक्रिय भए।
वसन्तको भागमा पशुपति बिस्कुट लगायत पर्यो। उनी अस्पताल व्यवसायतिर लाग्दै नर्भिक अस्पतालमा सक्रिय भए। साहित्य र धर्मकर्मतिर लागे उनी। वसन्तको एक छोरी अस्पतालमै सक्रिय भइन्।
अरुण अटोमोवाइल व्यवसायमा सक्रिय भए। उनी विनोद या वसन्तजस्तो सार्वजनिक छवि निर्माणमा लागेनन्। लो प्रोफाइलमै रमाए। पछिल्लो समय उनी व्यवसायमा निष्क्रिय जस्तै थिए। उनका दुईभाई सन्तानमध्ये करणले अटोमोवाइल्स व्यवसाय सम्हालिरहेका थिए।
सम्पत्ति भागबन्डा गर्दा छलछाम गरेर चौधरी घरानाको बनाएको १० रोपनी जग्गा उनको भागमा पर्यो। त्यसैको आधारमा उनी बिहीबार पक्राउ परे।