नेभिगेसन मेनु

सडक नीतिले छोएन स्थानीय तहलाई
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-21 12:18

Untitled-1

 कोशी राजमार्गबाट धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजार जोड्ने चार वटा बाटा अहिले सञ्चालनमा छन् । त्यस्तै मध्यपहाडी राजमार्गको लेगुवा बजारबाट समेत जितपुर जोडिन्छ तर यीमध्ये कुनै पनि सडक अहिलेसम्म कालोपत्रे हुन सकेको छैन । 

हिउँदमा सुखदुःख सबै बाटो सञ्चालन भए पनि बर्खामा भने सबै बाटोको यात्रा कष्टकर हुने गरेको छ । स्थानीय तह सञ्चालनमा आएको पहिलो पाँच वर्षमै मुख्य राजमार्गबाट गाउँ र नगरका केन्द्र जोड्ने कम्तीमा एउटा सडक कालोपत्रे गरिसक्ने सङ्घीय सरकारको नीति थियो । सरकारको यो नीतिले महालक्ष्मी नगरपालिकालाई अहिलेसम्म छुन सकेको छैन । 

कोशी राजमार्गको सिदुवा बजार हुँदै लेगुवाघाट जोड्ने २३ किलोमिटर सडक कालोपत्रे गर्न पाँच वर्षअघि नै सङ्घीय सरकारलाई सिफारिस गरिएको थियो । त्यस्तै कोशी राजमार्गको त्रिसुलेबाट जितपुर जोड्ने सडक पनि कालोपत्रे गर्ने चर्चा पटक पटक चल्छ तर महालक्ष्मी नगरपालिका स्थापना भएको करिब सात वर्ष पूरा हुँदा पनि कुनै पनि सडक कालोपत्रे हुन सकेको छैन । सडक कालोपत्रे गर्न माग गर्दै पटक पटक मन्त्रालय धाउँदा पनि काम अघि बढ्न नसकेको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज राय बताउनुहुन्छ । “हामीले वर्षमा दुई पटकसम्म काठमाडौँ र विराटनगर पुगेर ताकिता गर्दै आएका छौँ तर हाम्रो सडकको बारेमा कुनै सुनुवाइ नै हुँदैन,” प्रमुख राय भन्नुहुन्छ, “पहुँच पुग्नेको मात्र काम हुन्छ, पहुँच नपुग्नेको काम हुन धेरै गाह्रो छ ।”

नयाँ संरचना अन्तर्गत स्थानीय सरकार सञ्चालनमा आएको सात वर्ष बित्न लाग्दा पनि धनकुटामा स्थानीय तहको केन्द्र जोड्ने सडक निर्माणको काम अपेक्षा गरिए अनुसार अघि बढ्न सकेको छैन । धनकुटाका जम्मा सात पालिकामध्ये साँगुरीगढी गाउँपालिका, धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिका र छथर जोरपाटी गाउँपालिकासहित चार पालिकाको केन्द्र राष्ट्रिय राजमार्गबाट करिब पाँच सय मिटरको दुरीभित्र छन् । तीबाहेकका अन्य पालिकामा सडक मुख्य समस्याका रूपमा रहेको छ । 

महालक्ष्मी नगरपालिकाबाहेक सहिदभूमि गाउँपालिकाको केन्द्र पिप्ले जोड्ने पनि मुख्य तीन सडक छन् । गुठीटार र हिलेबाट पिप्ले जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । बाँकी सडक कहिले कालोपत्रे हुन्छ भन्न सक्ने अवस्था छैन । सडकको ट्र्याक खुलेको करिब २० वर्षपछि यो सडकमा कालोपत्रे गर्न सुरु गरिएको हो । अब भने केही आशा पलाएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई बताउनुहुन्छ ।

यता भेडेटारबाट चौबिसे गाउँपालिकाको केन्द्र जोड्ने सडकको ट्र्याक खुलेको तीन दशक भइसके पनि कालोपत्रेको काम सुरु भएको छैन । कोशी राजमार्गको भेडेटारबाट चौबिसे गाउँपालिकाको केन्द्र राजारानी बजार २२ किलोमिटरको दुरीमा छ । भेडेटार–राजारानी–रविराँके सडकले यो पालिकाको केन्द्र राजारानी बजारलाई छुन्छ । सडक कालोपत्रे गर्न पाँच वर्षअघि ठेक्का लागे पनि अहिलेसम्म कालोपत्रे हुन सकेको छैन । 

पालिका जोड्ने सडक कम्तीमा पनि एउटा मात्रै पनि कालोपत्रे भएको खण्डमा पालिकामा आवतजावत गर्न मात्र नभई समग्र क्षेत्रका लागि कोसेढुङ्गा बन्ने पालिका प्रमुखहरूको भनाइ छ । एउटै मात्र सडक कालोपत्रे भए पनि बाह्रै महिना सडक प्रयोग गर्न सहज हुने चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ बताउनुहुन्छ । “पालिकाको कामका लागि भन्दा पनि यी सडक पालिकावासीलाई बढी आवश्यक हुन्छ । कृषिजन्य र दैनिक उपभोग्य वस्तु ढुवानीका लागि सडक महŒवपूर्ण हुन्छ । त्यसैले पनि सडक चाँडोभन्दा चाँडो कालोपत्रे गर्न आवश्यक छ,” चेम्जोङ भन्नुहुन्छ । न्यून आन्तरिक आय रहेका स्थानीय तह पूर्वाधारका ठूला परियोजना सञ्चालनका लागि प्रदेश र सङ्घीय सरकारकै भर पर्नुपर्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ ।

हिउँदमा जसोतसो यातायात र ढुवानीका साधन सञ्चालन भए पनि वर्षामा यी कुनै पनि सडक छिचोल्न सकिने अवस्था हँुदैन । सङ्घीय सरकारले आफ्नो नीति अनुसार बजेट उपलब्ध नगराउँदा मुख्य राजमार्गबाट स्थानीय तहका केन्द्र जोड्ने सडक स्तरोन्नति र कालोपत्रे हुन सकेका छैनन् । स्थानीय तह सञ्चालनमा आएपछि प्रायः सबैजसो स्थानीय तहमा कच्ची सडक विस्तार भएको छ । सङ्ख्या बढे पनि गुणस्तर नहुँदा त्यस्ता सडक स्थानीय नागरिकको जीवन निर्वाहसँग जोडिन नसकेको गुनासो छ  ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर