नेभिगेसन मेनु

मुस्ताङ गल्फ प्रतियोगिता : तामाङलाई उपाधि
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-17 14:50

golf-final-team (1)

लेखनाथ, भदौ ३० गते । दोस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि काठमाडौंका एमेच्योर गल्फर श्याम तामाङले जित्नुभएको छ । पार ३६ को नौ होलको लोवाथाङस्थित मुस्ताङ गल्फ कोर्समा भएको प्रतिस्पर्धामा तामाङले उपाधि रक्षा गर्नुभएको हो । 

विश्वकै सर्वाेच्च स्थानमा रहेको गल्फ कोर्समा आयोजित प्रतियोगितामा पोखराका गल्फर लीलाजंग गुरुङ तामाङलाई एक अङ्कले पछि पार्दैै दोस्रो हुनुभयो । तामाङले नौ होलमा एक अन्डर खेल्दै १९ स्कोर बनाउनुभयो । गुरुङले भने १८ अङ्कसहित दोस्रो स्थानमा चित्त बुझाउनुभएको छ । 

प्रतियोगितामा २४ पुरुष गल्फर सहभागिता थिए । प्रतिस्पर्धाको ग्रसतर्फ रबिन राना पोखराका याम रानालाई पछि पार्दै च्याम्पियन बन्नुभएको छ । रबिन र यामको समान स्कोर ११ भए पनि रबिन काउन्ट ब्याकमा च्याम्पियन ठहरिनुभएको हो । उहाँले अन्तिम होलमा २ अङ्क जोड्नुभएको थियो । पिबी राईको पनि समान ११ स्कोर भए पनि उहाँ तेस्रो बन्नुभयो। 

प्रतिस्पर्धामा सिनियर गल्फरको पुरस्कार भने पोखराका गल्फर बलराम थापाले हात पार्नुभयो । उहाँ गत वर्षको प्रतिस्पर्धामा उपविजेता बन्नुभएको थियो । थापाको स्कोर १६ स्कोर छ ।

यता, महिलातर्फ प्रतिस्पर्धामा पोखराकी जुनी गुरुङ १५ स्कोर गर्दै च्याम्पियन बन्नुभयो । सर्वाधिक बर्डी हिर्काउने गल्फरको पुरस्कार आत्मराम सिंखडाले जित्नुभयो भने लङगेस्ट ड्राइभको पुरस्कार मदन सिंखडाको नाममा रह्यो । होलनजिक हिर्काउँदै ‘क्लोजेस्ट टु दि पिन’को पुरस्कार मेजर विजय मोक्तानले पाउनुभयो ।

होल इन वान विजेतालाई घोडा पुरस्कार दिने निर्णय आयोजकको रहे पनि कसैले होल इन वान गर्न सकेनन् । विभिन्न विधाका विजेता गल्फरलाई निर्देशक विष्ट, गाउँपालिकाका पदाधिकारी, नेपाल गल्फ सङ्घका केन्द्रीय सदस्य भुबहादुर गुरुङ(भुवन) लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

पहिले चौरीखर्क रहेको लोवाथाङमा अहिले दोस्रो पटक प्रतियोगिता भएको हो । विश्व कीर्तिमान कायम गर्ने योजनासहित मुस्ताङ गल्फ कोर्षले चार हजार छ सय ४५ मिटरमा प्रतियोगिता आयोजनालाई निरन्तरता दिएको हो ।

कोर्षका निर्देशक इन्द्रधारा विष्ट आगामी वर्ष कोर्षलाई अझ व्यवस्थित र प्रतियोगितालाई अझ भव्य बनाउने योजना सुनाउनुहुन्छ । लोमान्थाङलाई हाइ अल्टिच्युड स्पोर्टस हबको रुपमा विकास गरिने उहाँको भनाइ छ । 

मुस्ताङ गल्फ कोर्सले आयोजना गरेको प्रतियोगिताको स्थानीय व्यवस्थापन गाउँपालिकाले गरेको छ । प्रतियोगिता लोमान्थाङका प्रतीकात्मक युवराज ढिक्मी ढिन्डुप फोन्चुक परवल विष्टले टी अफ गरी सुरुवात गर्नुभएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर