नेभिगेसन मेनु

को बन्लान् मुल्तानका सुल्तान ?
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-08-29 13:51

thumb (1)

मुल्तान — मुल्तान क्रिकेट रंगशालाले खासै धेरै अन्तर्राष्ट्रिय क्रिकेटको आतिथ्य गरेको छैन । यहाँ केवल १० एकदिवसीय अन्तर्राष्ट्रिय र ६ टेस्ट आयोजना भएको छ । आयोजनाका हिसाबले यो बामे सर्दै छ । तर विश्व क्रिकेटमा मुल्तान क्रिकेट रंगशाला एक बिम्ब बनिरहेछ ।

३० हजार दर्शक क्षमताको यही मैदानमा बुधबार एसिया कपको पहिलो खेल हुँदै छ । पाकिस्तानले नेपाललाई आतिथ्य गरेर एसिया कप सुरु गर्नेछ । संयोगले एसिया कपमा नेपालको पहिलो खेल हुनेछ र पाकिस्तानविरुद्ध पहिलो भेट पनि । त्यो पनि एकदिवसीय अन्तर्राष्ट्रियको ताजा विश्व नम्बर एक टोलीसँग ।

मुल्तानलाई पहिला कासिम बाग रंगशालाको नामले चिनिन्थ्यो । सन् २००१ देखि मुल्तान क्रिकेट रंगशालाको रूपमा स्थापित भएको हो । त्यही वर्ष पाकिस्तानले एसियन टेस्ट च्याम्पियनसिपमा बंगलादेशविरुद्ध यही मैदानमा खेलेको थियो । एसियन टेस्ट च्याम्पियनसिप पनि कासिम बाग रंगशालाजस्तै विलिन भइसकेको छ ।

यो रंगशालाको प्र्रसिद्धि २००४ मा भारतको पाकिस्तान भ्रमणपछि चुलिएको हो । भारतले डेढ दशकपछि पहिलो पटक टेस्ट शृंखलाका लागि पाकिस्तान भ्रमण गरेको थियो । भारतीय ओपनर वीरेन्द्र सहवागले ३ सय ९ रनको सनसनी इनिङ्स खेलेर यसलाई स्मरणीय बनाइदिएका थिए । उनले पहिलो दिनमै अविजित २ सय २९ रन बनाएका थिए । पाकिस्तानले यो टेस्टमा इनिङ्स हार बेहोरेको थियो ।

आकर्षक तेहरो शतकका कारण सहवागलाई ‘सुल्तान अफ मुल्तान’ को उपाधि दिइएको थियो । कम अन्तर्राष्ट्रिय खेल आयोजना गरे पनि सहवागको त्यही तेहेरो शतकले मुल्तान क्रिकेट रंगशालालाई जीवन्तता दिइरहेको छ । एसिया कपको खेलतालिका निश्चित भएसँगै कप्तान रोहित पौडेल मुल्तानमा गएर खेल्ने प्रसङ्गमा सहवागको तेहरो शतकलाई लिएर रोमाञ्चित थिए । पाकिस्तानका लोकप्रिय क्रिकेटर इन्जमाम उल हक पनि मुल्तानकै हुन् । उनले आफ्नो २५ मध्ये २ टेस्ट शतक यहीं बनाएका छन् । सन् २००१ मा अविजित १ सय १५ र सन् २००३ मा अविजित १ सय ३८, दुवै पटकको प्रतिद्वन्द्वी थियो बंगलादेश । अहिले उनी पाकिस्तान क्रिकेट बोर्डका छनोटकर्ता हुन्, जसले एसिया कपका लागि पाकिस्तानी टोली छनोट गरेको थियो ।

कराँचीमा एक साता प्रशिक्षण र एक अभ्यास खेलेपछि नेपाली टोली मुल्तान आइपुगेको छ । टोली पाकिस्तानसँग पहिलो खेल खेल्न तयार छ । अफगानिस्तानविरुद्ध तीन एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर पाकिस्तानी टोली आइतबार राति मुल्तान आइपुगेको हो ।

कप्तान बाबर आजम, इमाम उल हक र नसिम शाह श्रीलंकाबाट आइतबार लाहोर पुगेका थिए भने सोमबार मुल्तान आएका छन् । पाकिस्तानमा नेपालले आएर खेलेको आधिकारिक भ्रमणको सूची धेरै लामो छैन । सुरक्षाका कारण देखाई पाकिस्तानमा ठूला टेस्ट टोली आएर खेल्न अस्वीकार गरिरहेको समयमा एसियाली क्रिकेट परिषद्ले सन् २००३ मा एसीसी यू–१९ कप आयोजना गरेको थियो । नेपाली टोली मलेसियामाथि जित प्राप्त गरेर ट्रफी उचाल्दै आईसीसी यू–१९ विश्वकपलाई छनोट भएको थियो । कनिष्क चौगाईं, यशवन्त सुवेदी, शक्ति गौचन, मन्जित श्रेष्ठ, मनोज कटुवाल, लाक्पा लामा, पारस खड्का, शरद भेषावकरलगायतका खेलाडी यही प्रतियोगिताबाट जम्न सुरु गरेका थिए ।

दुई दशकअगाडि शक्ति गौचन आफूलाई निकै भाग्यमानी सम्झन्थे । भाग्यमानी यसकारण कि उनको कप्तानीमा उपाधि जितेसँगै गरेको एउटा प्रश्न थियो, पाकिस्तानजस्तो टेस्ट खेल्ने राष्ट्रमा नेपालले आएर फेरि कहिले उपाधि जित्ला अनि पाकिस्तानमा आएर नेपालले फेरि कहिले आधिकारिक प्रतियोगिता खेल्न पाउला ? नेपालका लागि १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका र ५ वर्षअघि संन्यास लिएका शक्तिसामु अहिले दोस्रो प्रश्नको उत्तर अहिले ठीक अगाडि आएको छ । नेपालले पाकिस्तानसँग उमेर समूहमा मात्र होइन एकदिवसीय अन्तर्राष्ट्रियमै खेल्दै छ । त्यो पनि विश्वकपपछिको दोस्रो ठूलो प्रभाव पारेको प्रतियोगिता । यहाँ आएर खेल्ने ठूला टोलीको सूचीमा नेपालले आफूलाई पनि उभ्याएको छ ।

मुल्तानमा ९ महिनाअघि इंग्ल्यान्डले आएर पाकिस्तानविरुद्ध खेलेको पछिल्लो टेस्ट हो । मुल्तानले एकदिवसीय अन्तर्राष्ट्रिय आयोजना गर्न नपाएको १४ महिनाभन्दा बढी भइसकेको छ । मुल्तानमा पाकिस्तानले ६ मध्ये तीन टेस्ट जितेको छ भने दुईमा हार बेहोरेको छ । मुल्तानमा पाकिस्तानको त्यसमध्ये एक हार सहवागको त्यही सुल्तानी इनिङ्सका कारण थियो । मुल्तानमा खेलिएका १० एकदिवसीय अन्तर्राष्ट्रियमध्ये पाकिस्तानले ७ जितेको छ । पाकिस्तानले यस भूमिमा २००८ यता खेलेको सबै एकदिवसीय अन्तर्राष्ट्रिय जित्दै आएको छ ।

पाकिस्तानले सन् २००३ मा बंगलादेशविरुद्ध बनाएको ३२३/३ को योगफल यस मैदानको उच्च स्कोर हो । गत वर्ष वेस्ट इन्डिजले दिएको ३ सय ६ रनको लक्ष्य पाकिस्तानले ४ बलअघि पूरा गरेको थियो । मुल्तानमा यही तीन अवसरमा हो एकदिवसीयमा ३ सय रनको आँकडा छोएको । सन् २००६ मा भारतविरुद्ध पाकिस्तान १ सय ६१ रनमा अलआउट भएको थियो ।

मुल्तानमा पाकिस्तानको यो न्युन स्कोर हो । २००४ मा जिम्बावे १ सय ४८ रनमा अलआउट भयो, जुन मुल्तानमा खेलिएको एकदिवसीय अन्तर्राष्ट्रियकै न्युन स्कोर थियो । बाबर आजमसहित मुल्तानमा भ्रमणकारी टोलीबाट वेस्ट इन्डिजका साइ होप, जोसुवा ब्रुक्स, मार्लोन सामुइल्स र बंगलादेशका शकिब अल हसनले एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका छन् ।

भारतले पाकिस्तानमा गएर खेल्न नमानेपछि पाकिस्तानले ‘हाइब्रिड’ मोडलमा एसिया कप आयोजना गरिरहेको छ, १३ खेलमध्ये चार खेलमात्र पाकिस्तानमा

नेपालका आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरीले के यो सूचीमा आफूलाई उभ्याउलान् ? त्यसो भएमा त्यो नेपाली खेलाडीको आईसीसीको पूर्ण राष्ट्रविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक हुनेछ । कुशल भुर्तेलले जुनमा जिम्बावेविरुद्ध विश्वकप छनोटमा हरारेमा ९९ रन बनाउनु नेपाली खेलाडीको पूर्ण राष्ट्रविरुद्ध उच्च स्कोर हो ।

एसियाली क्रिकेट परिषद् (एसीसी) ले आयोजना गर्ने एसिया कपलाई पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले १५ वर्षपछि आतिथ्यता गर्दै छ । तर, भारतले पाकिस्तानमा गएर खेल्न नमानेपछि पाकिस्तानले ‘हाइब्रिड’ मोडलमा यो प्रतियोगिता आयोजना गरिरहेको छ । जसअनुसार एसिया कपका १३ मध्ये ४ खेलमात्र पाकिस्तानमा हुन लागेको हो । पाकिस्तानमा हुने अन्य तीन खेल सबै लाहोरमा हुनेछ ।

एसिया कपको खेलतालिका सार्वजनिक गर्नु ठीक अगाडि पीसीबीको अन्तरिम व्यवस्थापन समितिको जिम्मा ७० वर्षीय जाका असराफको नेतृत्वमा आएको थियो । यसअघि पनि पीसीबीको प्रमुख रहिसकेका उनको नेतृत्वमा पाकिस्तानका प्रधानमन्त्रीले १० सदस्यीय अन्तरिम व्यवस्थापन समिति बनाएको थियो । दुई सातापछि कानुनी झमेला पार गर्दै उनले पीसीबीमा नजम सेठीको पूर्ण स्थान लिएका थिए ।

असराफ पन्जाबका हुन् । उनले एसिया कपको उद्घाटन खेल आफ्नो प्रान्तमा ल्याउने निर्णय गरेपछि मुल्तानले पाकिस्तान र नेपालबीचको खेल आयोजना गर्न लागेको बताइएको छ । एसिया कपका अन्य ९ खेल श्रीलंकाले आयोजना गर्नेछ । भारतले सबै आफ्नो खेल श्रीलंकामा खेल्नेछ । पाकिस्तानले सेप्टेम्बर २ मा चिरप्रतिद्वन्द्वी भारतसँग श्रीलंकाको क्यान्डीमा खेल्ने तालिका छ । पाकिस्तानले समूह चरण पार गरेमा सुपर लिगको एक खेल्न पुनः लाहोर फर्किनुपर्नेछ । पाकिस्तान २०२५ को फेब्रुअरीमा च्याम्पियन्स ट्रफी आयोजना गर्न लागिरहेको छ, त्यही भएर पनि पीसीबी लाहोरबाहेक अन्य सहरमा प्रतियोगिता लिएर गएको हो । नेपाली टोलीको हकमा पाकिस्तानविरुद्ध एसिया कपमा उत्रिएपछि मुल्तानमा अन्तर्राष्ट्रिय क्रिकेट निरन्तर आयोजना गर्न सहयोग गर्नेछ ।

नतिजालाई एकातिर राखेर सकरात्मक क्रिकेट खेल्न सके त्यो नेपालका लागि मुल्तानमा सुल्तान बराबर हुने निश्चित छ । नेपाली ब्याटर भीम सार्कीले भनेझैं एउटा लामो यात्राको सुरुआत एक पाइलाबाटै हुन्छ । नेपालको लामो यात्राको सुरुआत मुल्तान क्रिकेट अन्तर्राष्ट्रियमा पाइला टेकेर हुँदै छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर