नेभिगेसन मेनु

वृक्षरोपण सँगसँगै पाँच किलो चामल
सम्पादक:南亚网络电视
समय:2023-06-14 14:28

Untitled-1 (36)

बाजुरा, जेठ ३१ गते । बाजुराका नौ वटै स्थानीय तहमध्येकै हिमाली गाउँपालिका एक विकट दुर्गमको गाउँपालिका हो। जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको यो गाउँपालिकाको सबै वडामा सधैँ खाद्यान्नको अभाव हुने गर्छ। 

साउन भदौमा बाढीपहिरो तथा चैत–वैशाखमा पर्ने असिना पानीले यहाँका किसानले लगाएको खेती सखाप पार्ने गरेपछि यो ठाउँमा खाद्यान्न अभाव हुने गरेको छ। यो अवस्थाको अन्त्य गर्न विगतका केही वर्षयता पालिकाले खाद्य सुरक्षासँग वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ। 

पछिल्लो समय यो कार्यक्रमले यहाँका स्थानीयको जीवनमा केही परिवर्तन ल्याएको छ। पालिकाको सात वटै वडामा प्रत्येक परिवारलाई आफ्नै जमिनमा फलफूलको बोट रोपेबापत खाद्यान्न उपलब्ध गराउँदै आएपछि स्थानीयको जीवनशैलीमा परिवर्तन आएको हो। 

स्थानीयको खाद्यान्न अभाव हटाउन खाद्यसँग वृक्षरोपण कार्यक्रम सञ्चालन गरेको हिमाली गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले यस किसिमको कार्यक्रमले स्थानीयलाई खाद्यान्नमा सहज भएको बताउनुभयो। एक परिवारले बिस वटा बिरुवा वा फलफूल रोप्ने र सो बिरुवा रोपेबापत पाँच केजी चामल पाउने गरेका छन्। पहिलो पटक बिरुवा रोपेबापत र त्यसपछि बिरुवा हुर्काएबापत थप पाँच किलो चामल दिने गरिएको छ।  खाद्यान्न अभाव हुने समस्यालाई टार्न गाउँपालिकाले २०७६ सालमै खाद्यसँग वृक्षरोपण कार्यक्रम सञ्चालनका लागि नीतिगत निर्णयसँगै कार्यविधि नै बनाएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो।

बिहान बेलुकीको छाक टार्न सकस हुने यहाँका स्थानीयलाई यो कार्यक्रमले निकै सहज भएको गुम्बाका स्थानीय कृष्ण लामाले बताउनुभयो। उहाँले भन्नुभयो, “गाउँपालिकाले फलफूलका बोट निःशुल्क दिएर आफ्नै जमिनमा रोप्न लगाउने र बोट रोपेबापत खाद्यान्न दिने गरेपछि छाक टार्न सहज भएको छ।’’

मैले झन्डै २० वटा बिरुवा रोपेको छु। ती अधिकांश बोट स्याउका छन्। केही बोट ओखर र कागती छन्। ती बिरुवा फाट्टफुट्ट फल्न थालेको लामाले बताउनुभयो। गाउँपालिकाले प्रत्येक वर्ष यस किसिमको कार्यक्रम सञ्चालन गर्न करिब एक करोड रकम खर्च गर्दै आएको छ। पाँच वर्षका लागि बनाइएको यो कार्यक्रमले स्थानीयको जीवनशैली नै बदल्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले वृक्षरोपणसँग खाद्य सुरक्षा कार्यक्रमले स्थानीयको आर्थिक अवस्थामा परिवर्तन ल्याएको बताउनुभयो। उहाँले भन्नुभयो, “यो कार्यक्रम फस्टाउँदै गएपछि एक परिवारले एक वर्षमा करिब पाँचदेखि २५ लाखसम्म आम्दानी गर्ने अनुमान गरिएको छ।’’

स्याउ भण्डारणका लागि कोल्ड स्टोर 

स्थानीयको बारीमा स्याउ लटरम्म फल्न थालेपछि भण्डारणका लागि पालिकाले नै कोल्ड स्टोर निर्माण सुरु गरेको छ। कृषक यति बेला स्याउ खेती गर्न उत्प्रेरित भएका छन्।  हिमाली गाउँपालिकाका १ को नेटा, २ को टिन, ३ को कोट कोटीगाउँ रुम्दी, ४ को वोर्ता, ५ को रुगिन बछ्या, किउडीलगायतका गाउँमा यति बेला लटरम्म स्याउ फल्न थालेको छ। गाउँपालिकाले स्याउ स्टोर गर्नकै लागि धुलाचौरमा कोल्ड स्टोर निर्माण गर्न थालेको हो।

करिब दुई करोड १६ लाख रुपियाँ लागतमा सो कोल्ड स्टोर निर्माण सुरु गरिएको हो। हिमाली गाउँको अर्गानिक स्याउ देशका विभिन्न सहरमा बिक्री गर्ने गरी गाउँपालिकाले यो कोल्ड स्टोरेज भवन निर्माण गर्न लागेको हो। 

आर्थिक वर्ष २०८०/८१ को मसान्तसम्म सम्पन्न गर्ने गरी निर्माण सुरु गरेको यो भवनको अहिले झन्डै २५ प्रतिशत काम भएको गाउँपालिकाले जनाएको छ। उता गाउँमा स्याउ फल्न सुरु भएको छ। 

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले स्याउ कोल्ड स्टोरेज गरेर बिक्री गर्दा स्थानीयले मागेको मूल्य पाइनुका साथै आर्थिक अवस्था परिवर्तन हुन सक्ने बताउनुभयो। असोज कात्तिकमा स्याउ पाक्न सुरु हुन्छ।  त्यसै बेला बाढीपहिरोका कारण बर्खाको समय बाटो बन्द हुन्छ। बाटो बन्द भएपछि स्याउ कतै लिएर बिक्री गर्न समस्या हुन्छ। यो समस्या समाधान गर्ने गरी गाउँपालिकाले यति बेला धुलाचौरमा कोल्ड स्टोर निर्माण गरेको उहाँले बताउनुभयो।

सबै वडामा सडकको पहुँच 

सो गाउँपालिकाले केही वर्षभित्रैमा सबै वडामा सडकको पहुँच गर्ने योजना राखेको छ। गाउँमा उत्पादन गरेका तरकारी तथा स्याउलाई सहज रूपमा बजारसम्म लैजान सडकको पहुँच अनिवार्य गरिएको हो। गाउँपालिका केन्द्र पुग्न दुई दिन लाग्ने कतिपय वडामा अहिले एक घण्टामा गाउँपालिका पुग्ने गरेका छन्।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर