नेभिगेसन मेनु

प्रदेशविरुद्ध तथ्यहीन आलोचना नगर्न आग्रह
सम्पादक:南亚网络电视
समय:2023-05-04 13:17

Untitled-1 (3)

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनाका कारण क्षेत्रगत विकासमा महत्वपूर्ण योगदान पुगेको भन्दै प्रदेशका विरुद्ध तथ्यहीन आलोचना र टिप्पणी नगर्न आग्रह गर्नुभएको छ । 

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले आयोजना गरेको कार्यक्रममा उहाँले अनावश्यक रूपमा प्रदेश संरचना खारेज हुनुपर्छ भन्ने हल्ला गर्दा प्रदेशमाथि अन्याय भएको बताउनुभएको हो । 

“प्रदेश संरचनाका कारण यतिबेला राजस्व कम उठेको होइन, प्रदेशले फजुल खर्च बढाएको पनि छैन तर पनि मानिसहरू तथ्य र सत्य नबुझेर प्रदेश खारेज गर्नुपर्छ भनिरहेका छन्,’’ मुख्यमन्त्री कार्कीले भन्नुभयो, “सङ्घीय सरकारबाट भएका कमजोरीको दोष ढाकछोप गर्न प्रदेशमाथि अन्याय गर्न पाइँदैन ।” प्रदेश सरकार गठन भएपछिको पाँच वर्षमा कोशी प्रदेश सरकारले नौ सय किलोमिटर सडक कालोपत्रे गरेको, हजारौँ किलोमिटर सडकको स्तरोन्नति गरिएको, पुल, कल्भर्ट, स्कुल, प्रहरी र स्वास्थ्य चौकी भवनहरू निर्माणको क्षेत्रमा पनि सरकारले उल्लेख्य प्रगति गरेको भन्दै उहाँले तथ्य नहेरी प्रदेशको विषयमा नबोल्न आग्रहसमेत गर्नुभयो । 

समग्र स्थानीय तह र सङ्घीय सरकारको बेरुजुको तुलनामा प्रदेशहरूको बेरुजु पनि सबैभन्दा कम रहेको भन्दै उहाँले मन्त्रालय र मन्त्रीको सङ्ख्या बढाउने एक समयको निर्णयबाहेक प्रदेशहरूले अरू धेरै कमजोरी नगरेको टिप्पणी गर्नुभयो । चालु आर्थिक वर्षमा सरकारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसक्दा समग्र विकासमा असर परेको उहाँले बताउनुभयो । 

चौथो त्रैमासिकमा सञ्चालन हुने योजनाका लागि विनियोजन गरिएको ५० प्रतिशत समपूरक अनुदानको बजेट कटौती गरिएको ससर्त अनुदानबाट सञ्चालित योजनाबाट पनि रकम फिर्ता गर्ने प्रक्रिया सुरु भएकाले सरकारलाई विकास योजना सम्पन्न गर्ने चुनौती थपिएको उहाँले बताउनुभयो । राजस्व सङ्कलनमा सुधार गर्न नसके आगामी आर्थिक वर्षमा पनि यो समस्या दोहोरिनेतर्फ सङ्घीय सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । 

मुख्यमन्त्री कार्कीले प्रदेशको नामकरण भएपछि आफूविरुद्ध पहिचानवादीले नियोजित रूपमा आन्दोलन केन्द्रित गरेको टिप्पणी गर्नुभयो । संवैधानिक र कानुनी प्रक्रिया पूरा गरेर प्रदेशको नामकरण गरिएको भन्दै उहाँले नाम परिवर्तन गर्ने भए सोही प्रक्रिया अवलम्बन गर्नुपर्ने स्मरण गराउनुभयो । उहाँले आगामी निर्वाचनबाट नाम परिवर्तनको जनमत प्राप्त भएको खण्डमा तथा संवैधानिक र कानुनी प्रक्रिया पूरा भए नाम परिवर्तन गर्न समस्या नहुने बताउनुभयो । त्यसका लागि आन्दोलनको हिंसात्मकस्वरूप छोडेर वार्ता, छलफल र अन्तक्र्रिया गर्न उहाँले सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । 

यसैबीच मुख्यमन्त्री कार्कीले विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा मोरङका १२ जना ६० वर्षभन्दा बढी उमेरका पत्रकारलाई सम्मान गर्नुभयो । लामो समय पेसामा प्रतिबद्ध भएर क्रियाशील अग्रजलाई सम्मान गर्ने परिपाटी सुरु गरेको भन्दै उहाँले त्यसलाई सबैले अनुसरण गर्नुपर्ने बताउनुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर