नेभिगेसन मेनु

सडकले कुलो पुरेपछि खेत बाँझो
सम्पादक:南亚网络电视
समय:2023-04-23 13:15

44532

हलेसी तुवाचुङ नगरपालिका–११, राजापानीको भाडबेँसीमा सडक निर्माण गर्दा कुलो बिग्रेपछि १६० रोपनी खेत बाँझो रहन गएको छ। वर्षमा तीन बाली खेती फल्ने खेतमा अहिले आकाशे पानीको भरमा एक बाली मकै मात्र फल्ने गरेको छ। २०७५ सालमा सडक निर्माण गर्दा कुलो बिग्रेको स्थानीयवासीले बताएका छन्। बिग्रेको ५ वर्ष पुग्दा पनि कुलो निर्माणमा कसैको ध्यान नजादा स्थानीयवासी निराश भएका छन्। वर्षभरि खान पुग्ने अन्न उत्पादन हुने खेत बाँझिएपछि केही कृषक बसाइँ सरिसकेका छन्।   

सङ्घीय सरकारको ५० लाख रुपियाँ, प्रदेश सरकारको ५५ लाख रुपियाँ र हलेसी तुवाचुङ नगरपालिकाको गरी करिब डेढ करोड रुपियाँमा २०७५ सालमा हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार २७ किलोमिटर सडक निर्माण भएको हो। उक्त सडक निर्माणका क्रममा लैकुखोला लुकुवा मुहान भएको बाँझगरा कुलोमा क्षति पुग्दा भाडबेँसीका ३२ घरका १६० रोपनी खेत बाँझिएको हो। 

त्रिधार्मिकस्थल हलेसीबाट फोक्सिङटार, उदयपुरको गाईघाट हुँदै धरान, विराटनगर आउजाउ गर्ने छोटो दूरीको उक्त सडक निर्माण सकिएलगत्तै कुलो मर्मत गरेर सुचारु गराइदिने सर्तमा स्थानीय बासिन्दाले सडक बनाउन दिएका थिए तर सडक निर्माणपश्चात् सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीय बिर्खबहादुर बुढाथोकीले बताउनुभयो। 

धितुङबाट लैकुखोला पार गर्नेबित्तिकै कुलो पार गरेर कुलोभन्दा ममाथिबाट भाडबेँसीतर्फ सडक बनाइएको छ। कुलोमाथिबाट सडक खन्दा झरेको ढुङ्गा माटोले कुलो पुरिएको छ। झटट् हेर्दा कुलोको अवस्था क्षतविक्षत बनेको छ। स्थानीय आफैंले श्रमदान गरेर कुलो पुनःनिर्माण गर्न सक्ने अवस्था छैन। 

स्थानीय बासिन्दाको गुनासोपछि पूर्व सांसद विशाल भट्टराई, प्रदेश सांसद राजन राई भाडबेँसी पुग्नुभएको थियो। कुलो चाँडै मर्मत गरिदिने आश्वासन दिएका सांसदहरूको बोली पनि पूरा भएन। तत्कालीन हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईको ढोका ढकढक्याउन पनि स्थानीयवासी धेरै पटक पुगे तर काम नबनेको स्थानीय रणबहादुर भट्टराई बताउनुहुन्छ। अहिलेका सङ्घीय सांसद रामकुमार राई, प्रदेश सांसद पाँचकर्ण राई, नगरपालिकाका प्रमुख विमला राईलगायतका जनप्रतिनिधिलाई कुलो मर्मत गरिदिन अनुरोध गरिरहेको उहाँको भनाइ छ। 

सडक निर्माण गर्दा कुलो बिग्रेपछि सुनकोशी किनारमा रहेको खेतमा स्थानीयवासीले धान, मकै, गहुँ, उखु, आलु, लसुन, प्याज, मासलगायतका बालीनाली उत्पादन गर्दै आएका थिए। कुलो नहुँदा ती खेतमा आकाशे पानीको भरमा मकै मात्र उत्पादन भइरहेको छ। कुलो बिग्रेपछि लटरम्म फल्ने आँप र केराको बोट सुक्दै गएको छ। हिउँद वर्षा हराभरा देखिने भाडबेँसी हाल सुक्खा गाउँमा परिणत भएको  छ। त्यहाँ ३२ घरपरिवारले सबै प्रकारका अन्न तथा तरकारी, फलफूल लगाइरहेको खेत बाँझिएपछि केही परिवार बसाइँ सरेका छन् भने केही परिवार बसाइँ सर्ने सोचमा छन्। गाउँकै विकास हुने भएकाले सडक बनाउन जग्गा दिएको तर भत्किएको कुलो मर्मत नहुँदा आफूहरू मर्कामा परेको स्थानीय कटकबहादुर बराल बताउनुहुन्छ। 

हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार सडकमा तामझामका साथ २०७७ असोज २६ गतेदेखि औपचारिक रूपमा गाडी गुडाउन थालिएको थियो। त्यही सडकका कारण भाडबेँसीमा यातायातको पहुँच पुगेको छ। दैनिक गाउँमै गाडी ओहोर–दोहोर गर्छ। पूर्वका सहर जान आउन सहज भएको छ। उत्पादित कृषि उपज बजार पठाउने वातावरण बनेको छ तर उत्पादन गर्ने खेत भने बाँझिएको छ। सडक निर्माण गर्दा कुलो बिग्रिएपछि मरुभूमि जस्तै बनेको गाउँमा बसेर गाडी ओहोरदोहोर गरेको हेर्छन् भाडबेँसीका स्थानीय बासिन्दा। सडक निर्माणले भत्काएको कुलो निर्माणका लागि साना सिँचाइलाई अनुरोध गरिएको र अध्ययन भइरहेको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईको भनाइ छ। नगरपालिकाले तत्कालै रकम विनियोजन गर्दा उता सिँचाइबाट पनि बजेट परेमा दोहोरोपना हुने भएकाले केही समय पर्खिएको उहाँले बताउनुभयो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर