नेभिगेसन मेनु

अन्योलमा एसिया कप
सम्पादक:南亚网络电视
समय:2023-05-03 12:57

thumb (1)

नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको छ । तर, नेपाल छनोट भएको यो दोस्रो पटक हो । सन् २००२ मा पनि नेपाल एसिया कपका लागि छनोट भएको थियो । सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनल पुग्दै नेपाल छनोट भयो ।

त्यसअनुरुप नेपालले २००४ को एसिया कप खेल्ने तय थियो । एसियाली क्रिकेट परिषद् (एसीसी) ले नेपाल र यूएईलाई एसिया कपको तयारीस्वरुप १ लाख डलर दिने घोषणा पनि गरिसकेको थियो ।

एसीसी ट्रफीको फाइनल पुगेका नेपाल र यूएई एसिया कपलाई छनोट भएको थियो । नेपालले मलेसिया र यूएईले हङकङलाई सेमिफाइनलमा हराएका थिए । मलेसियालाई निकै रोमाञ्चपूर्ण सेमिफाइनलमा २५ रनले पराजित गरेपछि नेपाली खेलाडी पेभेलियनमा आएर प्रशिक्षक रोय लुक डायसको अँगालोमा खुसीले रोएका थिए ।

राजु खड्काको कप्तानीमा नेपालले सिंगापुरमा उत्कृष्ट खेल खेल्दै समूह चरणमा ओमान, कतार, कुवेतलाई हराएको थियो । यूएईसँग पराजित भए पनि समूह उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको नेपालले शक्ति गौचत र विनोद दासको अलराउन्ड प्रदर्शनमा मलेसियामाथि उत्कृष्ट पुनरागमन गर्दै विजय हात पारेको हो ।

नेपाल समूह चरण र फाइनलमा यूएईसँग समान ६ विकेटले हारेको थियो । राजु खड्काले एसिया कपमा छनोट हुनु नेपाली क्रिकेटको सबैभन्दा ठूलो दिन भएको बताउँदै एसिया कप खेल्ने व्यग्रता जनाएका थिए । सन् २००२ मै न्युजिल्यान्डमा भएको आईसीसी यू–१९ विश्वकपको प्लेट फाइनलमा पुगेपछि सिनियर टोलीले पनि एसिया कप छनोटको सफलता पाएको थियो । न्युजिल्यान्डमा यू–१९ विश्वकपको प्लेट फाइनल पुगेका ७ नेपाली खेलाडीले सिंगापुरमा एसीसी ट्रफी खेलेका थिए ।

तर, कार्गिल युद्धको विषयलाई लिएर भारतले पाकिस्तानसँग खेल्न अस्वीकार गरेपछि नेपाल र यूएई छनोट भएर पनि एसिया कप खेल्न वञ्चित भएको थियो । भारत र पाकिस्तानबीचको तनावले सन् २००२ को एसिया कप हुन सकेन । जसका कारण २००० मा यूएईमा भएको तेस्रो एसीसी ट्रफीको फाइनल पुगेका यूएई र हङकङलाई २००४ को एसिया कप खेल्न दिइएको थियो ।

अब एसिया कप खेल्ने पालो २००२ को एसीसी ट्रफी फाइनल पुगेका नेपाल र यूएईको थियो । अर्थात यूएई र नेपालले २००६ को एसिया खेल्न तय भयो । तर, भारत र पाकिस्तानबीचको तनाव सकिएको थिएन । जसका कारण २००६ को एसिया कप पनि हुन सकेन ।

सन् २००५ मा पाकिस्तानमा भएको एसीसीको बैठकले २००२ को एसीसी ट्रफीबाट छनोट भएकाको एक संस्करण हटाउँदै २००६ मा एसिया कप आयोजना गर्ने निर्णय गरेपछि नेपाली क्रिकेट टोली झन्डै दुई दशकअगाडि नै भारत र पाकिस्तानसँग एकदिसीय अन्तर्राष्ट्रिय खेल्नबाट वञ्चित भएको हो ।

पाकिस्तानमा भएको एसीसी बैठकमा नेपालबाट तत्कालीन क्यान उपाध्यक्ष तारिणीविक्रम शाहले सहभागिता जनाएका थिए । तत्कालीन अध्यक्ष जयकुमार नाथ शाह अस्वस्थ रहेकाले बैठकमा उपाध्यक्ष शाहले भाग लिएका थिए । यूएई र नेपालले एसिया कपमा खेल्न पाउनुपर्ने आफूहरूले उठाएको आवाजको कुनै सुनुवाइ नभएको उपाध्यक्ष शाहले बताएका थिए । एसिया कपको त्यसपछिको संस्करण २००८ मा भयो, जसमा यूएई र हङकङले सहभागिता जनाए । यी दुई टोलीले २००६ र २००८ को एसीसी ट्रफी फाइनल खलेका थिए ।

अहिले फेरि भारत र पाकिस्तानबीच तनाव बढेको छ । सेप्टेम्बरमा हुन लागेको एसिया कपको आयोजक राष्ट्र पाकिस्तान हो । तर, भारतले पाकिस्तानमा गएर खेल्न ठाडै अस्वीकार गरिसकेको छ । भारत एसिया कप खेल्न नआएमा यही वर्षको अन्त्यमा भारतले आयोजना गर्ने विश्वकप खेल्न नजाने घुर्की पाकिस्तानले पनि दिएको छ ।

पाकिस्तानले यो लवज परिवर्तन गरी भारतलाई एसिया कप खेलाउन नरम बनिसकेको छ । जसअनुरुप पाकिस्तान नआए पनि भारतका सबै खेल उसले यूएईमा राखेको छ भने प्रतियोगिताको बाँकी खेल पाकिस्तानमा हुनेछ । यो तालिकाअनुसार नेपालले पाकिस्तानसँग पाकिस्तान र भारतसँग यूएईमा समूह चरणका खेल खेल्नेछ ।

भारतले यो प्रस्ताव पनि अस्वीकार गरेको समाचार आएको छ, जसका कारण आगामी एसिया कप अन्योल बनेको छ । तर, एसीसीका अध्यक्ष जय शाहले सामाजिक सञ्जालबाट नेपाललाई उपाधि जित्दै एसिया कपमा छनोटमा भएकामा बधाई दिएका छन् । यसले एसिया कप आयोजनाक्रममा रहेको संकेत गर्छ । ‘नेपालजस्तो राष्ट्रका लागि एसिया कप ठूलो अवसर हो, हामी चाहन्छौं जहाँ भए नि खेल होस् । भारत, पाकिस्तान, यूएई जहाँ भए पनि खेल हुनुपर्‍यो । एउटा टिमको रूपमा हामीले यति मिहिनेत गरेका छौं । एसीसीले पनि यत्रो खर्च गरिसकेको छ,’ नेपालका कप्तान रोहित पौडेल एसिया कप हुनेमा आशावादी छन् ।

एसीसीले विश्वकपअघि एसियाली राष्ट्रको तयारीका लागि एसिया कप आयोजना गर्दै आएको छ । अक्टोबर–नोभेम्बरमा भारतले विश्वकप आयोजना गर्दै छ । त्यसको ठीक एक महिनाअघि हुन लागेको एसिया कपमा भारत, पाकिस्तानसहित श्रीलंका, बंगलादेश र अफगानिस्तान यो मौका गुमाउन चाहँदैनन् ।

जय शाह एसीसी अध्यक्षका साथै भारतीय क्रिकेट बोर्डका सचिव हुन् । त्यसैले उनी जुनसुकै हालतमा पनि एसिया कप आयोजना गर्न चाहन्छन् । भारतीय विदेश नीतिका कारण उनी पाकिस्तान समावेश विषयमा खुलेका छैनन् । त्यसैले समाचारमा जनाइएअनुसार पाँच राष्ट्रसम्मिलित एसिया कप पनि आयोजना हुन सक्नेछ । यस्तो भएमा सम्भवतः भारतले पाकिस्तानविनै एसिया कप आयोजना गर्नेछ । एसिया कप आउन अब चार महिनामात्र बाँकी छ । यस्तो अवस्थामा एसीसीले प्रायोजकहरूसँग आयोजनाका लागि प्रतिबद्धता जनाइसकेको हुनाले तोकिएको समयमा एसिया कप हुने सम्भावना धेरै छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर