नेभिगेसन मेनु

पहिलो प्रयासमै ‘लोकस्टार’को किस्सा : त्यागे जापानको भिसा
सम्पादक:南亚网络电视
समय:2023-04-30 18:17

पहिलो प्रयासमै ‘लोकस्टार’को किस्सा : त्यागे जापानको भिसा

काठमाडौँ । केही दिन यता गायक बलराम विश्वकर्माको चर्चा चुलिएको छ ।  नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो श्रृंखलामा उपाधि चुमेसँगै उनी सामाजिक सञ्जालदेखि मिडियासम्म छाउन सफल भए । 

फोन तथा विभिन्न माध्यमबाट उनलाई बधाईको ओइरो छ । चौतर्फी चर्चाले दंग छन् उनी । केही दिन अगाडिसम्म गुमनाम उनी ‘लोकस्टार’को उपाधिले रातारात चर्चित भएका छन् । कहिल्यै कल्पना नगरेको खुसी पाउँदा सपना जस्तो लागिरहेको उनको भनाई छ ।

‘लोकस्टार जित्छु भन्ने त मेरो कल्पनै थिएन । थोरै धेरै केही प्रतिभा ममा छ । त्यो देखाउँछु भनेर भाग लिएको थिएँ’, उनले भने, ‘उपाधि र त्यसपछिको चर्चाले थप जिम्मेवारी बोध भएको छ ।’ 

आफूप्रति एउटा अपेक्षा र भरोसा राखेर दर्शकश्रोताले विजय गराएको बताउने उनी त्यो भरोसा मर्न नदिदै बाँचुन्जेल नेपाली कला, संस्कृतिका लागि योगदान दिने सुनाउँछन् ।

रियालटी शोमा भाग लिनेहरु प्रायःले विभिन्न प्रशिक्षण कक्षामा सहभागी हुन्छन्, जसले उनीहरुलाई उपाधिको हकदार बनाउँछ, सहयोग गर्छ । बलराम भने न कुनै संगीतको औपचारिक शिक्षा, लिए, न त गायनको प्रशिक्षण । त्यसै होमिए पनि उपाधि उनकै पोल्टामा पर्यो ।

यो श्रेय उनी आफ्नो मिहिनेत र मौलिक शैलीलाई दिन्छन् । ‘मैले कार्यक्रममा जति प्रस्तुति दिएँ, सबैमा नेपाली मौलिकता थियो’, उनले थपे ‘त्यसकारण पनि म विजेता हुन सफल भएँ कि ।’ हाम्रो आफ्नो मौलिकता भन्दा उत्कृष्ट शैली अर्काे नभएको बलरामको बुझाई छ ।

मैदानमा उत्रिएपछि जो कोहीको पनि लक्ष्य ट्रफी र पुरस्कार हुन्छ । त्यो स्वाभाविक पनि हो । तर बलरामले भने त्यो आश कहिलै राखेनन् । कारण प्रतियोगितामा केही सिक्ने र बुझ्ने हिसाबले छिरेका थिए उनी । त्यसैले ट्रफी र पुरस्कार भन्दापनि पनि उनले प्रस्तुतिमा ध्यान दिए ।

‘विजेता भएर ट्रफी र पुरस्कार जित्नुपर्छ भन्ने मेरो मुख्य मानसिकता कहिल्यै थिएन । मैले आफ्नो प्रस्तुति बलियो, मनोरञ्जनात्मक र परिपक्व हुनुपर्छ भन्नेमा जोड दिएँ’, उनले अगाडि भनें, ‘प्रस्तुतिले सबैको मन जित्दा उपाधि पनि हात लाग्यो ।’ ‘राम्रो गर्न हिँडेको बाटोमा विजयी भव पनि लेखेको रहेछ,’ उनले खुसी हुँदै भने ।

Lokstar

‘कार्यक्रममा पुरै अवधि म आफ्नै अर्गानिक तरिकाले प्रस्तुत भएँ । मेरो त्यही शैली सबैले रुचाए’, उनले आफ्नो बुझाइ राखे, ‘प्रतियोगितामा आफू जे हो, त्यो तरिकाबाट प्रस्तुत हुनुपर्दाे रहेछ । सफलताका लागि आवश्यक सुत्र र अनुभव यही रह्यो ।’

उपाधिले उनमा खुसी दिएको त छ नै । आगामी दिनमा यो भन्दा राम्रो गर्नुपर्ने चुनौती थपिदिएको छ । त्यो उनले महसुस गरेका छन् । त्यसैले आगामी दिनमा अहिले भन्दा धेरै मिहिनेत गर्ने सोच उनमा छ ।

‘पुराना पुस्ताले जोगाएका लोकसंस्कृति अगाडि बढाउने र नयाँ अनुसन्धान गर्ने जिम्मेवारी आइपरेको छ । नेपाली मौलिकताको खोज गर्नुपर्ने भएको छ,’ उनले योजनासँगै चुनौती सुनाए ।

जापानको भिसा त्यागेर संगीतमा

रुकुम पश्चिम सानीभेरी गाउँपालिकाका बलरामको गायन कला बाल्यकाल देखिकै हो । थोरैथोरै गीत गाउन सक्छु भन्ने उनमा सानैदेखि थियो रे । 

२०७२ वैशाखको भूकम्पपछि उनी काठमाडौं आएका थिए । काठमाडौंको आउनुको उद्देश्य जापान जानु थियो । त्यो समय जापानका लागि जापानी भाषा अध्ययन गरेर राम्रो नम्बरमा पास समेत गरे । भिसा पनि लाग्यो ।

उनको गायन प्रतिभा दाजु बलुसागर विश्वकर्माले पनि बुझेका थिए । त्यसैले उनले विदेश उड्नु अगाडि भाइलाई एक गीत रेकर्डिङको चाँजो पाजो मिलाए । 

दाजुले गीतको शब्ददेखि संगीतसम्म तयार गरे तर उनले गीत गाउन मानेनन् । दाजुको पटक पटकको प्रयास असफल हुँदै थियो ।

उनले गीत गाउन नमान्नुका कारण कि गीतसंगीतमा कि हात हाल्दिन, हालेपछि ब्यावसायिक रुपमा अगाडि बढ्छ् भन्ने सोच थियो । दसौं पटक दाजुले गरेको अनुरोध उनले स्वीकार नगरी धरै पाएनन् । त्यसपछि गीत रेकर्ड गरे । गीतको बोल थियो ‘सम्झनाको तरेलीमा’ ।

गीत हिट भयो । त्यसपछि ठुला ठुला पत्रकारदेखि संगीतकर्मीसम्मले उनलाई विदेश नजान र  नेपालमै गायनमा लाग्न सल्लाह दिए । ‘तिमीले गायनमा करियर बनायौ भने देश विदेश त पानी पँधेरो हो,’ धेरैले दिएको सल्लाह उनको मनमा गड्यो । 

त्यसपछि बलरामले जापानको भिसा त्यागेर फेरि गायिका ‘विष्णुमाझी’ संँगको सहकार्यमा ‘आज मुटु दुखेको किन’ गीत ल्याए । यो गीत पहिलकोे भन्दा झन् हिट भयो । ‘मैले गीतसंगीतका लागि जापानको भिसा त्यागेको थिएँ, जीवनमा जे हुन्छ । राम्रोकै लागि हुँदोरहेछ,’ उनले थपे ।

टिकटकले दियो साथ

जापानको भिसा त्यागेर संगीतमा होमिएका बलरामको दिनचर्या सामान्य बित्दै थियो । ‘विष्णुमाझी’ संँगको सहकार्य गरेको गीत ‘आज मुटु दुखेको किन’ चर्चा भएपनि उनलाई काठमाडौंमा बाँच्न संघर्ष नै गर्नु परिरहेको थियो । 

‘साथीको करले प्रतियोगितामा सहभागी भएको थिएँ । पहिलो अडिसनमै एक्स्ट्रा भोकल भनेर तारिफ मिल्यो’, बलराम भन्दै थिए, ‘दिन प्रतिदिन आफूलाई राम्रो गर्दै लैजाँदा उपाधि समेत जितें ।

काठमाडांैमा बाँच्नका लागि उनी संगीत बाहिरको काम (काम उनले खुलाउन चाहेनन्) गर्न थाले । यसरी दैनिक भागदौडमा दिन बित्दै थियो ।

एकदिन उनले ‘लोकस्टार’ सिजन २ को फर्म खुलेको थाहा पाए । यसमा सहभागी हुने उनको मन थिएन । एक साथीले (साथीको नाम उनले लुकाउन चाहे) त जानुपर्छ भनेर सहभागीको लागि फर्म भर्दिए । ती साथीले तेरो सम्भावना छ, लुकेर काम छैन । बाहिर निस्किनुपर्छ । कोसिस गर भनेर धेरै हुटहुटी लगाए । त्यसैले उनी प्रतियोगितामा सहभागी भए ।

‘साथीको करले प्रतियोगितामा सहभागी भएको थिएँ । पहिलो अडिसनमै एक्स्ट्रा भोकल भनेर तारिफ मिल्यो’, बलराम भन्दै थिए, ‘दिन प्रतिदिन आफूलाई राम्रो गर्दै लैजाँदा उपाधि समेत जितें ।

उनले प्रतियोगीताको बिभिन्न चरणमा गाएका थुप्रै गीतमध्ये दुई गीत ‘गाउँघरमा ग्यास चुलो पाउँदैन, ढुङ्ग्रो फुक्न आउँछ कि आउँदैन’ र ‘झुट बोल्दिन भन के कसम खाम, सुन धड्कन बोल्दैछ तिम्रो नाम’ सामाजिक सञ्जाल टिकटकमा हिट भएको थियो । त्यो टिकटकसमेत उनका लागि सहयोगी बन्यो । ‘टिकटक नै मेरो लागि प्लस प्वाइन्ट भयो,’ उनले थपे ।

हरायो कमाउने सपना

पहिले बलरामको सपना जापान जाने, पैसा कमाउने थियो । तर समयले उनलाई अर्काे पाटोमा उभ्यायो । त्यसैले उनी आफ्नो बाटो एउटा थियो, सफलता अर्काेमा मिलेको बताउँछन् ।

लोकस्टारको सफलताले उनमा अब पैसा कमाउनुपर्छ भन्ने सोच हराएको छ । ‘जीवनमा जे हुन्छ । राम्रोका लागि हुन्छ’, उनी भन्दै गए, ‘बाहिर देख्नेका लागि मेरो उपाधि दुई चार दिनको रमाइलो जस्तो लागेको होला । यसका लागि मैले धेरै त्याग गरेको छु ।’

balaram2

अब उनी पैसा भन्दा नाम र इज्जतका लागि काम गर्ने सोचमा छन् । लोक गीतसंगीत, कलासंस्कृति उनको पहिलो प्राथमिकतामा पर्छ रे ।

‘प्रतियोगिताबाट मैले एक किसिमको संस्कार र सभ्यता सिकेको छु । मेरो शरीरमा एक थोपा रगत रहेसम्म लोक गीतसंगीतमा योगदान दिन्छु । यो बाचा भयो ।’ 

‘संसारमा हामी नेपाली लोकगीतका कारणले पनि परिचित छौं । यसलाई हाम्रो संगीतको आमा, जन्मभूमि भन्न रुचाउँछु’, उनले खुसी हुम्दै भने, ‘लोकगीतमा जति मजा म अन्य बिधामा पाउन सक्दिनँ ।’ 

हाम्रो गीतसंगीतको पहिलो मूल आधार नै लोकगीतसंगीत भएको उनले फेरि दोहोर्याए । थपे, ‘गाउँले परिवेशमा हुर्किएकाले पनि मेरो मनपर्ने लोकगीत हो ।’

लोकस्टार लोकगीतमा गायन प्रतिभा खोज्ने एउटा टेलिभिजन रियालटी शो हो । बलरामले भने लोकस्टारको मञ्च जीवन परिवर्तन गर्ने र अवसर प्राप्तीको लागि ठूलो मार्गको रुपमा पाएका छन् । ‘यदि मैले यो मञ्च नपाएको भए । मसँग भएको प्रतिभा कहाँ देखाउन पाउँथे र, कसले पो मलाई चिन्थ्यो र ?’ उनी अलि भावुक सुनिए ।

उनी नयाँ प्रतिभालाई लोकस्टार जस्तो मञ्चको सदुपयोग गर्न सुझाउँछन् । यसमा प्रतिभा निखार्ने अवसर मिल्ने बताउँछन् । भन्छन्, ‘आफ्नो प्रतिभा बुझ्न, परिपक्प हुन र अवसरका लागि यस्ता मञ्च उपयुक्त छन् ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर