नेभिगेसन मेनु

बलुनमा बसेर ६ हजार फिट माथि पुग्दा
सम्पादक:南亚网络电视
समय:2023-04-08 15:21

hot air baloon (1)1680805249

यसपालि पहिलो पटक घुम्नकै लागि भनेर पोखरा पुगेँ।

करिब तीन महिनादेखि 'रिफ्रेसमेन्ट' का लागि कतै जाने सोचमा थिएँ। मन मिल्ने साथीसँग यसबारे कुरा भइरहन्थ्यो। तर व्यस्त दैनिकीका कारण सोचेको पुर्‍याउनै समय लाग्ने!

दुई साताअघि भने कामबाट फुर्सद मिलाएरै जाने निधो गरियो। साथीलाई भनेँ। उनले पनि आफ्नो समय मिलाउने बताइन्। अनि तीन-चार दिनको योजनामै पोखरा जाने निश्चित गर्‍यौं।

चैत ६ गते बिहीबार। टिकट दिउँसो साढे दुई बजेको थियो। यहीअनुसार दुई बजे कलंकी पुगेँ। त्यहीँ साथीसँग भेट भयो। अनि सुरू भयो काठमाडौं-पोखराको हाम्रो यात्रा।

पौने तीन बजे हामी कलंकीबाट बस चढ्यौं। बस खाली नै थियो। पछाडिका दुइटा सिटमा हामी बस्यौं। झ्यालतिरको सिटमा बस्न पाउँदा दंग थिएँ। केही मिनेटमै सहर पार गर्दै नागढुंगाबाट ओरालो झरियो।

प्रायः एक्लै यात्रामा हुँदा बसमा बझ्ने गीत सुनिन्थ्यो। कहिले आफ्नै मोबाइलमा इयरफोन लगाएर यात्रा गरिन्थ्यो।

 

यो यात्रा भने भिन्न रह्यो। साथीको साथ भएपछि गीत किन चाहियो? गफमा मस्त भयौं। पुरानो दोस्ती कुरा मिल्ने। हाँसो र ठट्टा पनि चल्ने। यात्रा यसै रमाइलो!

हामी दुई यसरी लामो यात्रामा निस्किएको पहिलो पटक हो। त्यो पनि रात्रिबसमा।

अस्ताउँदै गरेको घामसँगै साँझ पर्दै गयो। पृथ्वी राजमार्ग कतै पक्की बाटो कतै कच्ची। कालोपत्रेका लागि काम भइरहेकाले जाम पनि थियो। त्यसमाथि हावाहुरी र गड्याङगुडुङ। घत्र्याङघुत्रुङ भए पनि साथीसँग हाँस्दै, गफिँदै यात्रा रोमाञ्चक भयो।

करिब ८ घन्टाको बस यात्रापछि ११ बजे पोखराको पृथ्वीचोक पुगियो। हामी उत्रियौं।

बस्नका लागि हामीले लेकसाइडको 'द बिच' मा कोठा बुक गरेका थियौं। तर कसरी पुग्ने र कुन बाटो हुँदै जाने भन्ने थाहा थिएन। राति भइसकेकाले सार्वजनिक बस पाउने कुरै भएन। चोकमा ट्याक्सीको लाइन थियो। हामीलाई कहाँ जाने भन्दै सोध्न थाले। अझ चालकहरूले आफैं भाडाको बार्गेनिङ गरे। उनीहरूको कुरा सुन्दा झर्को लागिसकेको थियो। तर पनि चुपचाप बस्यौं।

शरीरलाई आराम चाहिएको थियो। सडकको छेउमै यात्रु प्रतीक्षालय देख्यौं। काँधमा बोकेको एउटा झोला भुँइमा राखेर टुसुक्क बस्यौं।

एकछिन आराम गर्‍यौं।

केही दिनअघि काठमाडौंमा कफी-गफ हुँदा एक जना सरले पोखरामा राइड सेयरिङ चल्ने कुरा सुनाउनुभएको थियो। सन्दर्भ उस्तै परेकाले दिमागले सम्झिहाल्यो।

खल्तीको मोबाइल झिकेर एप डाउनलोड गरेँ। अकाउन्ट बनाएर पृथ्वीचोकबाट द बिचको लोकेसन राखेँ। ५ किलोमिटर टाढा रहेछ। ट्याक्सी बुक गरेँ। बल्ल ढुक्क भयो।

केही मिनेटमा ट्याक्सी आइपुग्यो। हामी पुग्ने ठाउँ भने चालकलाई पनि थाहा रहेनछ। गुगल म्यापअनुसार नै हेर्दै लेकसाइडतिर लागियो। मध्यराति पनि पोखरामा चहलपहल थियो। झिलीमिली उस्तै। लेकसाइड पार गर्दै पामेतिर अघि बढ्यौं।

फेवातालको छेउको बाटो। रातको चिसो हावा। धमिलो बत्तीले तालमा टल्किरहेको पानी। फेवाताल भनेर ठम्याउन गाह्रो थिएन। रातमै भए पनि मन फुरूंग भयो। त्यो अँधेरी रातको माहोल हेर्न पुगेकै थिएन, होटल पुगिसकिएछ।

तालको बायाँतर्फ छेवैमा रहेछ 'द बिच।'

होटल 'वाउ' भन्न मनलाग्ने रहेछ। होटलको प्रवेशसँगै आरामका लागि राखिएका संरचना। हरियाली बगैंचा। स्वीमिङ पुल। यी सबै दृश्य रातको बत्तीमा पनि टल्किरहेका थिए। दिउँसै पुग्न पाएको भए भन्ने मनमा लागेको थियो।

ज्यान थकित भएकाले भोलिपल्ट घुम्ने सोच्यौं। चाबी लिएर खुरूखुरू कोठा पुग्यौं।

शुक्रबार हामी 'हट-एयर बलुन' मा योजना थियो।

यसका लागि केही दिनअघि नै एक जनाले सरले हाम्रो समय तालिका मिलाइदिनुभएको थियो। हट-एयर बलुन सञ्चालन गर्ने कम्पनी 'बलुन नेपाल' ले बिहान साढे पाँच बजे होटलमै लिन आउने मेसेज दिएको थियो। फर्किँदा होटलमै छोड्दिने भएपछि हामी थप ढुक्क थियौं।

त्यहीअनुसार भोलिपल्ट लगाउने लुगा तयार गर्‍यौं। मोबाइलमा ५ बजेको अलार्म राखेर ओछ्यानमा ढल्कियौं। छिटो उठ्नुपर्ने भएपछि सुतिहाल्ने सोच थियो मेरो। तर भन्नासाथ निद्रा परेन। जबर्जस्ती आँखा चिम्लिएँ।

शरीर ओछ्यानमै थियो। मन भने हट-एयर बलुनतिरै पुगिसकेछ। उड्दा कस्तो होला भनेर सोच्दै थिएँ। कति बेला भुसुक्कै निदाएछु, पत्तै भएन।

सानो आवाजमा अलार्म बज्यो। धमिलो बत्ती बलिरहेको थियो। जुरूक्क उठेँ। ५ बजिसकेको थियो। उठ्नासाथ तातो पानी पिउने बानी छ। मिनरल वाटर खोलेर 'इलेक्ट्रिक जग' मा पानी तताएँ। अनि साथीलाई पनि दिएँ र आफूले पनि पिएँ।

हतारिँदै दुवै फ्रेस भयौं। तयार राखेको लुगा लगायौं। ५ बजेर २५ मिनेट जाँदा गाडीले हर्न बजायो। हतारिँदै निस्कियौं। उज्यालो छर्लंग भइसकेको थिएन। होटलका सुरक्षाकर्मीलाई बाहिर जाँदैछौं भनेर खबर गरेर निस्कियौं।

आहा! हुस्सुले पुरिएको फेवाताल। बिहानको चिसो हावा। फेवाताल किनारबाट गाडी सररर गुडिरहेको थियो। करिब साढे ६ किलोमिटर टाढा पुगेपछि रोकियो। पूरै फाँट। तराइजस्तै लाग्ने। त्यो ठाउँको नाम लौरूक रहेछ।

गाडीबाट झर्नासाथ छेउमै रंगीन 'हट-एयर बलुन' देखियो। ओहो कत्रो बलुन! 

हामीले आँखैअगाडि यसरी यस्तो बलुन देखेकै थिएनौं। त्यहाँ भएका केही कर्मचारीहरूले बलुन अझ ठूलो बनाउँदै थिए। छिनछिनमै बलुनभित्र आगो पनि बल्थ्यो। नामै त हट-एयर बलुन!

केही मिनेटमै त्यो बलुन फुलेर झन्डै कोठाजत्रै ठूलो भयो।

बलुन एउटा मात्र थियो। एक पटकमा पाइलटसहित ९ जना बस्न मिल्ने रहेछ। तौल पनि मिलाउनुपर्ने रहेछ। बलुनमा उड्ने धेरै भएकाले पहिलो चरणमा हामी छुट्यौं।

अरू मानिसहरू चढेको बलुन हावाको दिशा हुँदै बिस्तारै उड्यो। आफ्नो पालो पर्खिरहेका हामी हेर्न थाल्यौं। बिहानको घामको झुल्को पनि हेर्न पाइने भएपछि हामी थप मख्ख थियौं। उडेको केही मिनेटमै बलुन धेरै माथि पुग्यो। कम्तीमा पनि आधा घन्टासम्म बलुन आकाशमै तैरिरह्यो।

अर्को चरणमा उड्न म र साथी उत्साहित थियौं। चढ्नुअघि एउटा फारम भर्नुपर्ने रहेछ। फारममा नाम, उमेर, तौल लेख्यौं। अघिल्लो बलुन अवतरण हुन समय लाग्ने भएपछि प्रतीक्षामा थियौं। छेवैमा बलुन नेपाल कम्पनीका कर्मचारी रहेछन्।

उनले यो हट एयर बलुनमा विमान उडानमा जस्तै पाइलट, क्रु-मेम्बर र एयर होस्टेस हुने बताए। हट एयर बलुनकी एयर होस्टेसले गाडीबाटै झिकेर तातो पानी र कफी बाँडिन्।

कफीसँगै एकछिन हामी गफमा भुलियौं। लौरूकबाट उडान भरेको बलुन अवतरण हुन पामे पुग्यो। हामी पनि गाडीमा उतैतिर लाग्यौं।

बलुनबाट सबै यात्रु झरे। अब हाम्रो पालो थियो। सात जना चढिसक्नुभएको थियो। म भने फोटो खिच्नै व्यस्त थिएँ। साथीले बोलाएपछि म हतारिएँ र बलुनको 'बास्केट' मा उक्लिएँ।

बलुनको बास्केटमा यात्रु उभिने ठाउँ रहेछ। उभिएरै उड्नुपर्ने। बस्ने व्यवस्था नहुने रहेछ। बास्केटमा तीन वटा खण्ड हुँदो रहेछ। दुईतिर चार/चार जना यात्रु उभिन मिल्ने। अर्कोतिर पाइलट बस्ने। पाइलटको छेउमै ग्यास पनि थियो। त्यही ग्यास बाल्दै पाइलटले उडान सुरू गरे।

हाम्रो उडान पामेबाट सुरू भयो। ७ बजेको थियो। उडानमा पाइलटसहित नौ जना थियौ। सुरूमा पाइलटले सुरक्षाका नियमहरूबारे बताए। ध्यानपूर्वक सुनेँ। बलुन उड्नुअघि केही फोटा खिच्यौं। सबै जना उडानका लागि तयार भएपछि पाइलटले आगो बाल्दै बलुन यात्रा अघि बढाए।

हावाको वेगसँगै आगो बल्दा ह्वाररर आवाज आउथ्यो। एकैछिनमा आगो निभ्थ्यो। फेरि हावासँगै बल्थ्यो।

बलुनको बास्केटमा उभिएर हेर्दा दृश्य निकै फराकिलो देखियो। जहाजमा यात्रा गर्दा झ्यालबाट बाहिरको दृश्य हेरेकी थिएँ। त्यो बाहेक उडेको अनुभव थिएन। हट एयर बलुन त खुला भएकाले सबैतिर हेर्न पाइने।

अहो! कति मज्जा। कति रमाइलो!

बलुन हावाको दिशातिर उड्दै गयो। बलुनभित्र भन्दा पनि बाहिर चारैतिर देखिने दृश्य थप रमणीय थियो। उडेको करिब दस मिनेटमा बलुन धेरै माथि पुग्यो। तल हेर्दा पोखरा र आसपासका ठाउँ, जंगल, पोखरी सानासाना देखिन्थे। अझ फेवाताल पनि साँघुरो जस्तै लाग्ने। आकाशै छुन पुगेको अनुभूति भयो।

चारैतिर जंगल, पहाड र हिमाल। यात्रा गर्नुअघिसम्म त मनमा कताकता डरको चिसो पनि पसेको थियो। तर त्यति बेला डरभन्दा बढी मजा आयो। बलुन थप माथि अकासिँदै थियो। बिस्तारै घुमी पनि रहन्थ्यो। त्योसँगै हामी पनि चक्कर मार्थ्यौं।

हामी कति उचाइमा छौं भनेर मैले पाइलटलाई सोधेँ। पाइलटले ५ हजार फिटमाथि पुगेको बताए। अझै माथि पुग्ने इशारा पनि गरे।

आहा! आँखै अगाडि लश्करै देखिएका सेताम्मे हिमाल। तर यात्रामा हामी सबै नयाँ रहेछौं। त्यहाँबाट देखिने ठाउँ र हिमाल कुन कुन हुन्, पत्तै भएन। अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रे, लमजुङ, फिस्टेल पिक लगायत रहेछन् भन्नेसम्म थाहा भयो।

मैले ययति नजिकबाट हिमाल हेर्न पाएकी थिइनँ। हिमालकै काखमा पुगेजस्तो पो भयो।

हामी ६ हजार फिटको उचाइमा पुग्यौं। अझै माथि पुग्न पाए पनि हुन्थ्यो जस्तो लाग्दै थियो। तर सीमा त्यति रहेछ। अन्तिम पटक फेरि त्यही उचाइमा केही मिनेट बितायौं। बलुन घुमिरहँदा सबैले फोटा खिच्यौं।

छेउमा दुई जोडी थिए। हालसालै बिहे गरेका रहेछन्। खुबै रमाइरहेका थिए। उनीहरूकै अनुरोधमा मैले फोटो खिचिदिएँ। पृष्ठभूमीमा हिमाल पारेर खिच्देको फोटो हेरेपछि उनीहरू दंग भए।

अर्को छेउमा एक जना दाइ सामाजिक सञ्जालमै लाइभ गर्दै थिए। निकै उचाइबाट देखिएका सबै दृश्य लाइभमै देखाउने दाइको प्रयास अझ रमाइलो थियो।

बलुन घुमिरहँदा पाइलटले वरपर देखिएका सबै ठाउँबारे बताए। अनि आफ्नो अनुभव समेत साटे। भारतमा जन्मिएका उनी तीन महिना मात्र भएछ नेपाल आएको। विभिन्न मुलुकमा बलुन राइडर (पाइलट) भइसकेका रहेछन्।

उनी नेपालको पर्यटन र एड्भेन्चरमा रमाइरहेका रहेछन्। नेपाल स्वर्गकै एक टुक्रा जस्तो लाग्छ भन्दै थिए। अझ पोखराको हट एयर बलुन यात्राका क्रममा देखिने सुन्दर ठाउँबारे उनी छुट्टै विश्लेषण गर्दा रहेछन्। नेपालको बारेमा प्रचारप्रसार गर्दा खुसी पनि लाग्छ रे। बलुन यात्रामा यात्रु खुसी हुँदा यात्रा रोमाञ्चक बनेको महशुस गर्छन् रे।

उनका यस्तै रमाइला कुरा सुन्दै हामी बलुनबाट बिस्तारै तल झर्‍यौं।

तल झर्न धेरै समय लागेन। पामेबाट उडेको हाम्रो हट एयर बलुन लौरूकमा अवतरण हुने भयो।

क्रु-मेम्बर आइपुगे। बलुनको बास्केटमा समाउँदै पूरै बलुन घिसार्न थाले। तीन जनाले बलुन तान्दै खाली जमिनमा पुर्‍याए। विमान धावनमार्गबाट पार्किङसम्म पुर्‍याए जस्तै। यो माहोल पनि निकै रमाइलो थियो। 

यात्रु उत्रिएपछि क्रु-मेम्बरले बलुन फुकाउन थाले। करिब दुईदेखि तीन मिनेटमै त्यत्रो फुकेको बलुन स्याप्पै सुक्यो। यसरी ४४ मिनेटको हट एयर बलुन यात्रा सकियो।

एयर होस्टेसले सबैलाई एउटा बक्समा खानेकुरा बाँडिन्।

पाइलटले हामीलाई यात्राको अनुभव सोधे। अनि खुसी हुँदै 'हट एयर बलुन' सफल उडानको सर्टिफिकेट दिए।

अनि आएकै गाडीमा हामी होटल फर्कियौं। मन भने त्यो बलुनजस्तै उडिरहेको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर