नेभिगेसन मेनु

सात दशकअघि अमेरिकामा मञ्चनमा भएको नाटक काठमाडौंमा हेर्दा
सम्पादक:南亚网络电视
समय:2023-04-03 14:22

euta sapana ko awasan  (3)1679986215

सहरमा एउटा सानो घर र सुखी परिवारको सपना देखेर जीवनभर सामान बेच्न कुँदिरहन्छन्, विरेनप्रताप। बैंकबाट ऋण लिएर उनी घर बनाउँछन्। घरमा अत्यावश्यक सामग्री पनि किस्तामै किन्छन्। जुन दिन उनकी श्रीमती लीलाले घरको अन्तिम किस्ता तिर्छिन्, त्यही दिन उक्त घर उजाड बन्छ।

‘जिन्दगीभर ऋण तिर्न संघर्ष गर्‍यौं, आज मात्रै हाम्रो घरको अन्तिम किस्ता तिरें,’ लिला भन्छिन्, ‘आजैबाट हाम्रो यो घरमा बस्ने कोही हुनेछैन। ऋणमुक्त। रित्तो।’

आम नेपालीले जस्तै विरेनले पनि सहरमा एउटा घर, सानो र सुखी परिवारको सपना देख्छन्। सन्तानले प्रगति गरेर सफलता पाएको हेर्न चाहन्छन्। त्यसका लागि सानैदेखि पहिलो बन्न प्रेरित गरिरहन्छन्।

एउटा कम्पनीमा सामान बेच्ने ‘सेल्सम्यान’ बनेका विरेनप्रताप त्यही सपना पूरा गर्न हिमालदेखि तराईसम्म कुँद्छन्। पूर्वदेखि पश्चिमसम्म दगुर्छन्। आम मान्छेसँग उनको सम्पर्क स्थापित भएको हुन्छ। धेरैभन्दा धेरै ग्राहकले मन पराउने सेल्सम्यान बन्छन् विरेनप्रताप।

जब उनी बुढो हुँदै जान्छन्, उनका ग्राहक पनि बुढो हुँदै जान्छन्। कोही मरिसकेका हुन्छन् त कोही उनीसँग सामान किन्न छाड्छन्। नयाँ पुस्तासँग उनको सम्पर्क हुँदैन। प्रविधिले ल्याएको परिवर्तनले पनि उनको पेशालाई धरापमा पार्छ।

उनका मालिकको देहान्तपछि छोरा कुबेरले व्यवसाय धान्छन्। उमेरसँगै बिस्तारै-बिस्तारै विरेनप्रताप बजारमा बिक्न छाड्छन्। बुढ्यौलीमा पोखरा गएर ‘मार्केटिङ’ गर्नुभन्दा काठमाडौंमै थोरै पैसामा जागिर माग्छन्। छोराको उमेरका मालिक कुबेरले उनलाई जागिर दिँदैनन्, उल्टै पोखराको जागिरबाट पनि निकालिदिन्छन्।

जसको नाम कुबेर उनै विरेनले राखिदिएका थिए। उनका बुबाको व्यावसायिक सफलतामा विरेनको पसिना सिञ्चित छ। एउटै कम्पनीमा ३० वर्षदेखि काम गरिरहेका विरेन बुढ्यौलीमा रित्तो हात निष्कासनमा पर्दा निराश हुन्छन्। उनका सपनाहरू छोराले पूरा गरिदिऊन् भन्ने चाहन्छन्।

विरेनका दुइ भाइ छोराहरू फुटबल खेलाडी बन्छन्। उनीहरूले गरेका गोल बजारमा चर्चाका विषय बन्छन्। छोराहरूले व्यवसाय गरून् र छिट्टै धनी बनेको हेर्ने विरेनप्रतापको सपना पूरा हुँदैन। किनकी, खेलाडी छोरा सनुपप्रतापलाई कसैले पनि ऋण पत्याउँदैन।

बुबा–छोरा पुस्ताबीच बुझाइमा आउने अन्तर र सपनाको घर्षणले परिवारमा शान्ति हुँदैन। बुवा जहिले पनि छोराहरूले प्रगति गरेको, अरूभन्दा अब्बल भएको मात्र हेर्न चाहन्छन्। फुटबल खेलमा २२ जना खेलाडीमध्ये छोरा सनुपप्रतापले मात्र गोल गरेको हेर्न चाहन्छन्, विरेन। उनका चाहना सधैँ पूरा हुँदैन। जसले बुवा–छोराबीच द्वन्द्व चर्काउँछ।

छोरा सनुपप्रतापले बारम्बार आफूहरू भुसुना जति पनि महत्वको होइन भनेर बुबालाई बारम्बार सम्झाउन खोज्छन्। सहरको सफल व्यवसायी बन्ने सपनामा चुर्लुम्म डुबेका विरेन सम्झन चाहँदैनन्, खाली धनी बनेको सपना देखिरहन्छन्। सपना र वास्तविकता मेल नखाँदा गहिरिँदो निराशाले उनलाई आत्महत्याको बाटोतर्फ धकेल्छ।

विरेनप्रताप बारम्बार आफ्ना दाजुलाई सम्झन्छन्। जसले अफ्रिकामा प्रगति गरेका छन्। त्यतिबेला दाजुले अफ्रिकाको जंगलमा हिराखानीमा काम गरेको र मनग्य आम्दानी भएको बताएका थिए। दाजुले बारम्बार पैसा कमाउन अन्धकार जंगल पस्नुपर्ने बताउँछन्। यसतर्फ विरेनले ध्यान दिँदैनन्।

दाजुले विरेनलाई पनि अफ्रिका लैजान खोजेका थिए। आफ्नै देशमा सेल्सम्यान भएर सपनाहरू खरिद गर्ने महत्वाकांक्षा उनले पालेका थिए।

विरेनलाई आफ्नै साथी चन्द्रवीरले बारबार जागिरको अफर दिन्छन्, चाहेजति रकम दिएर। एउटै कम्पनीमा जीवनभर बफादार बनेका उनी अन्त काम गर्न जाँदैनन्। साथीको कम्पनीमा काम गर्न जानु स्वाभिमानविपरीत हुने ठान्छन्, उनी।

चन्द्रवीरका छोरा बादल विरेनका छोराहरूका पनि साथी हुन्छन्। स्कुल पढ्दा नै विरेनलाई उनका छोराहरू गणितमा कमजोर भएको जानकारी दिन्छन्। खेलकुदमा मस्त छोराहरूको पढाइप्रति विरेनले वास्ता गर्दैन। गणितमा असफल भएकै कारण उनका जेठा छोरा सनुपप्रताप विश्वविद्यालयमा प्रवेश पाउँदैन।

बादल पढेर वकिल बन्छन्। प्रशस्त पैसा कमाउँछन्। सफलता पाउन बाटो परिवर्तन गर्न बादलले पनि विरेनलाई सुझाव दिन्छन्। ढुङ्गा फोरेर पानी निस्कँदैन भने फोड्न छाड्नु पनि सफलताको सुरूवात हो भनेर सम्झाउँछन्। छोटो समयमै धनी बन्ने विरेनको सपनामा यस्ता सल्लाह र सुझावले काम गर्दैन।

सेल्सम्यानको जीवन नै अर्कालाई सपना देखाउने र सपना देखाएरै सामान बिक्री गर्ने, सम्पर्क सञ्जाल बनाउने जस्ता काममा खप्पिस विरेनप्रताप आफ्नो पुरानै मान्यतामा अडिग भइरहन्छन्। सेल्सम्यानको मुख्य काम नै सपना देख्नु ठान्छन्, उनी। जसले मानिसहरूलाई प्रभावित बनाउन सकियोस्, आफ्ना सामग्री बेचेर कमाउन सकियोस्।

यस्ता सपना बोकेर सहरमा दिनरात दौडिरहेका विरेनप्रतापलाई एक दिन उनकै सपनाले छाडिदिन्छ। अर्थात् उनी सपनाविहीन बन्न पुग्छन्। जुन दिन उनले प्राण त्यागिदिन्छन्।

विरेनको परिवारमा २४ घन्टाको उतारचढाव नाटकमा देख्न सकिन्छ। ‘फ्ल्यास ब्याक’ मार्फत विरेनका पुराना दिनहरू, सानो छँदाका छोराहरू, बजारभरि आफ्नो हाईहाई हुँदाका दिनहरू छरितो ढंगले प्रस्तुत गरिएका छन्। जसले विरेनको पूरा जीवनका उतारचढाव देखाउँछ।

सहरमा अनेक सपनाको पछाडि दौडिरहेका आम नेपालीको जीवनसँग मेल खाने यस्तै कथा बोकेको नाटक ‘एउटा सपनाको अवसान’ अहिले मण्डला थिएटरमा मञ्चन भइरहेको छ। चैत १० देखि वैशाख १० गतेसम्म मञ्चन हुने उक्त नाटक सन् १९४९ मा अमेरिकामा मञ्चन भएको थियो। जतिबेला अमेरिकी समाज पनि अहिलेको नेपाली समाज जस्तै अनेक सपनाका पछाडि दौडिरहेको समय थियो।

अमेरिकी नाटककार आर्थर मिलरले लेखेको ‘अ सेल्सम्यान’ शीर्षकको नाटक कवि विप्लव प्रतीकले नेपालीमा रूपान्तरण गरेका हुन्। नेपाली परिवेश सुहाउँदो बनाउन उनले नेपाली जनजीवन र लवज मिसाएका छन्। भिजुअल आर्टिष्ट अमृत कार्कीले डिजाइन गरेको सेटले आम नेपालीको सपनाको घर दर्शाउँछ।

निर्देशक अनुप बरालले उक्त नाटक पहिलो पटक सन् १९९५ मा भारतको दिल्लीस्थित नेशनल स्कुल अफ ड्रामा (एनएसडी)मा पढ्न जाँदा भेटेका थिए।

‘एनएसडीको लाइब्रेरीमा भारतको परिवेश सुहाउँदो गरी लेखिएको यो नाटक कुनै दिन नेपालमा प्रदर्शन गर्नुपर्छ भनेर त्यतिबेलै सोचेको थिए,’ उनले भने, ‘तीनव र्ष अघि कवि विप्लव प्रतीकलाई नेपालीमा रूपान्तरण गर्न सुझाए, अहिले मञ्चन गर्न सफल भयौं।’

यथार्थवादी धारका निर्देशक बरालले यस नाटकमार्फत् नेपाली समाजले देखेका सपना, भोगेका असफलता र संवेदनाविहीन बाटो उजागर गरिदिएका छन्। अरूभन्दा अगाडि, अब्बल र पहिलो बन्ने सपना किन गलत छ भनेर उनले नाटकमार्फत् देखाइदिएका छन्।

दोस्रो विश्वयुद्धपछि अमेरिकी समाजमा देखिएका निराशालाई आम मान्छेमार्फत् प्रस्तुत गरिएको यही नाटक विश्वमै पहिलो आम मान्छेको नाटक भएको दाबी गर्छन्, बराल।

‘यो नाटक आउनुअघि राजा-महाराजा, सेनापति, धनीमानीका कथा नाटकमा आउँथे, आम मान्छेका कथा नाटकमा आएको यही पहिलो हो,’ उनले सेतोपाटीसँग भने, ‘त्यतिबेला यो नाटक पुँजीवाद विरोधी कम्युनिष्ट विचारले प्रेरित भएको भनेर विरोध पनि भएको थियो।’

नाटक हेरूञ्जेल दर्शकले न्यास्रो मान्नुपर्ने ठाउँ भेटिँदैन। अनेकन सपनाको खोजीमा दौडिरहेका दर्शकलाई नै यस नाटकले आफ्ना सपना र हिँडेको बाटोबारे सोच्न बाध्य बनाउँछ। साढे २ घन्टा लामो नाटकको बीचमा १० मिनेट मध्यान्तर छ।

नाटकमा न्हु बज्राचार्यले संगीत दिएका छन्। जसले नाटकका उतार चढावलाई अझै बढाइदिएको छ। नाटकमा लीलाको भूमिका दीया मास्केले निभाएकी छिन्। विरेनप्रतापको भूमिका रोय, सनुपप्रतापको भूमिका दिव्यादेव र जीवन गौतमले निभाएका छन्। विरेनका कान्छा छोरा सगुनप्रतापको भूमिका विकास जोशी र अभिषेक खड्काले निभाएका छन्। चन्द्रवीरको भूमिका सन्देश शाक्य, बादलको भूमिका सूर्यमान लिम्बु र अविरलप्रताप अधिकारी, पारूको भूमिका मेनुका प्रधान, बन्धुको भूमिका शेखर चापागाईंले निभाएका छन्।

यस्तै, कुबेरको भूमिका उत्पल झा, लताको भूमिका सारा जे अधिकारी, पद्मिनीको भूमिका निकिता आचार्य, सोनामको भूमिका विशाल पुलामी र देवध्वजको भूमिका सुरज मल्लले निभाएका छन्।

भूमिका अनुसार कलाकारले गरिरहेका अब्बल अभिनयले नाटकलाई अझै यथार्थ बनाइदिएको छ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर