रङ्गमञ्च क्षेत्रका लागि २०७९ साल फलदायी रह्यो। २०७८ सालजस्तो यो वर्ष रङ्गमञ्च सुस्ताएर बस्नुपरेन । वरिष्ठ रङ्गकर्मी सुनील पोखरेलदेखि अनुप बराल, निशा शर्मा, घिमिरे युवराज, अशान्त शर्मा, सुलक्षण भारती, आकाङ्क्षा कार्की, राजन खतिवडा, दयाहाङ राई, विजय बराललगायत कलाकारहरूले कोभिड–१९ बाट थलिएको रङ्गमञ्चलाई उठाउने प्रयास गर्नुभयो। २०७९ सालको अन्त्यसम्म आउँदा पनि आरोहण गुरुकुलमा ‘माक्र्स फर्किए’, मण्डलामा ‘एउटा सपनाको अवसान’ मञ्चन भइरहेका छन्।
भर्खरै मात्र शिल्पी थिएटरमा ‘बिमोक्ष’ मञ्चन भएको थियो। आरोहण गुरुकुलका प्रमुख सुनील पोखरेल वर्ष २०७९ मा रङ्गमञ्च जुर्मुराउन थालेको बताउनुहुन्छ। रङ्गमञ्चले राम्रो बाटो समाते पनि अझै राम्रा नाटकहरू मञ्चन हुन नसकेको उहाँको गुनासो छ।
वर्ष २०७९ मा टेकुस्थित कौसी थिएटरमा ‘ऐया माया’, ‘साथी साथी आइदेऊ न’, ‘गड अफ कार्नेज’, ‘र धुमधामको घाम’ मञ्चन भए। चारवटै नाटकले राम्रो दर्शक पाउन सफल भए। कौसी थिएटरको अध्यक्ष आकाङ्क्षा कार्की अघिल्लाभन्दा यस वर्ष रङ्गमञ्चले सोचेभन्दा राम्रो दर्शक पाएकोमा उत्साहित देखिनुहुन्छ। काठमाडौँ, अनामनगरमा रहेको ‘मण्डला थिएटर’ नाटकका लागि यो वर्ष पनि केन्द्रजस्तै बन्यो। कोभिडको समयमा बन्द रहेको मण्डला थिएटरले २०७९ फागुनदेखि थापागाउँको नयाँ भवनबाट नाटक मञ्चन सुरु गरेको थियो। २०७९ सालमा ‘पल्पसा क्याफे’, ‘चोरको स्वर’, ‘खुवालुङ’, ‘सुनकेशरी’ २४ मा १२ ले राम्रो दर्शक बटुल्यो।
कुनै वर्ष यस्तो पनि थियो, जति बेला नाटकघरमा दर्शक नगण्य हुन्थे। नाटक हेर्ने संस्कृतिको विकास खासै भएको थिएन। नाट्यकर्मीको अभिनयको भोक मेट्ने माध्यमभन्दा फराकिलो बन्न सकेको थिएन, रङ्गमञ्च। उम्दा अभिनय र ‘रित्तो’ गोजी नाट्यकर्मीको नियतिजस्तै थियो तर बर्सेनि रङ्गमञ्चमा देखिने परिवर्तनले यस क्षेत्रलाई उठाउने काम भने गरेको छ। नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा एकपछि अर्को नाटकघर खुलेर नेपाली नाट्यकर्ममा उज्यालो फर्किएको बताउनुहुन्छ।
अर्का नाट्यकर्मी विमल सुवेदी दर्शकले नाटकलाई विश्वास गर्नु नै ठूलो मान्नुहुन्छ। उहाँ भन्नुहुन्छ, “थिएटरमा दर्शकको उपस्थितिले नेपाली समाज बौद्धिक बन्दै गएको सङ्केत गर्छ। जुन नेपाली रङ्गमञ्चका लागि सकारात्मक पक्ष पनि हो। अहिले रङ्गकर्मीको अवसर र दायित्व दुवै बढेको छ। जुन हामीले यो वर्ष देख्यौँ।”
सकारात्मक पाटोसँगै चुनौतीको बाटोमा पनि हिँड्यो रङ्गमञ्च। अहिले मञ्चन भइरहेका अधिकांश नाटक या त अनुवाद हुन् वा उपन्यासमा आधारित। यो वर्ष पुरानै नाटक दोहोरिएर मञ्चन हुने जमात पनि लामै भए। यसबाट नयाँ सिर्जनाको खडेरी प्रस्ट देख्न सकिन्छ। राम्रा नाटकको अभावका कारण किताबको सहारा लिनुपरेको नाट्यकर्मी सुवेदी स्विकार्नुहुन्छ। “अहिले नेपाली रङ्गमञ्चमा खासै नाटक लेखन छैन,” उहाँले भन्नुभयो, ‘नाटक देखाउन नाटकै हुनुपर्छ भन्ने होइन।” यो चलन नेपालमा मात्रै नभएर विदेशमा पनि रहेको उहाँ बताउनुहुन्छ।
रङ्गमञ्चले यो वर्ष स्थानीय तहमा पनि उत्साह जगाएको छ। ‘पोखरा थिएटर’ कास्की पोखरामा यो वर्ष ‘केश नं. तीन सय एघार’, ‘दुई कथा, एक चिहान’लगायतका नाटकहरू मञ्चन भए। जसले राम्रो सफलता हात पा¥यो। यससँगै थिएटरले गण्डकी प्रदेश, विद्यालयस्तरीय तेस्रो नाटक महोत्सव–२०७९ को पनि आयोजना गरेको थियो । पोखरा थिएटरका अध्यक्ष परिवर्तन भन्नुहुन्छ, ‘“थएटर चलाउन गाह्रो हुने भएकोले बेलाबेलामा महोत्सवहरू पनि आयोजना गर्छौं।”
झापाको दमकस्थित कदम थिएटरमा २०७९ मा ‘सिमिक्चा’, ‘१२ दुर्वशा,’ ‘बालबालिका अभिनीत नाटक ‘गाई कि त्रिशूल, ‘लङ टाइम नो सी’जस्ता नाटक मञ्चन भए। अहिले काठमाडौँमा जस्तै यहाँ पनि रङ्गमञ्चमा दर्शकको रुचि बढ्न थालेको कदम थिएटरका प्रमुख सिजन दाहाल बताउनुहुन्छ। यीबाहेक झापाको शब्द थिएटर, काँकडभिट्टास्थित परिवर्तन थिएटर, विराटनगरको आरोहण गुरुकुलले पनि यो वर्ष आफ्नो नाट्य गतिविधिलाई राम्रोसँग चलायामान गर्यो।