आमनिर्वाचन भएको पाँच महिनामै बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचन जनमत परीक्षणसमेत भएकाले प्रतिस्पर्धामा उत्रिएका राजनीतिक दलका नेताहरू तीनै उपनिर्वाचनमा केन्द्रित भएका छन् । यस उपनिर्वाचनप्रति आमचासो पनि बढ्दै गएको देखिन्छ ।
गत मंसिर ४ को आमनिर्वाचनमा विजयी कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा चुनिएपछि तनहुँ–१, जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा–२ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको अदालतको आदेशबाट सांसद पद गुमेपछि चितवन–२ रिक्त भएका हुन् । वैशाख १० को उपनिर्वाचनमा पौडेलको विरासत जोगाउन सत्ता गठबन्धनले तनहुँमा शक्ति परिचालन गरेको छ । गठबन्धनको अर्को दल जसपाका अध्यक्ष उपेन्द्र यादव आफैं बारा–२ मा उम्मेदवार छन् । सांसद पद गुमाएपछि पुनः नागरिकता लिएका रास्वपाका सभापति लामिछाने पनि चितवन–२ फेरि उम्मेदवार बनेका छन् । आमनिर्वाचनको जनमतलाई उल्टाउन अन्य दलहरू कसरतमा छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादव मंसिरको आमनिर्वाचनमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) सँग ठूलो मतान्तरले पराजित भएका थिए । २०६४ सालदेखि लगातार चुनाव जित्दै आएका यादव पहिलो पटक संसद्बाहिर भएका हुन् । त्यसैले उनी जसरी पनि संसद् भवन प्रवेश गर्ने ध्याउन्नमा छन् । उपनिर्वाचनमार्फत सांसद बन्नकै लागि उनले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर बारा–२ खाली गराएका हुन् । उपेन्द्रको उम्मेदवारीलाई सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टीको समर्थन रहेको छ । गठबन्धनका कारण चुनावी अंकगणितमा जसपा अध्यक्ष यादव अगाडि देखिन्छन् तर उनी ढुक्क हुने अवस्था छैन । त्यसैले यादव वैशाखको चर्को गर्मीमा पनि जनताको घरदैलोमा पुगिरहेका छन् ।
जसपा अध्यक्ष यादवलाई सप्तरीमा पराजित गरेका सीके राउतकै दलले बारा–२ को उपनिर्वाचनमा पनि कडा चुनौती दिइरहेको छ । मंसिरको निर्वाचनमा ३ सय ५४ मतान्तरले दोस्रो भएका शिवचन्द्रप्रसाद कुशवाहलाई राउतले जनमत पार्टीमा प्रवेश गराई पुनः उम्मेदवार बनाएका छन् । जसपाबाट उम्मेदवार रहेका रामसहायले गत मंसिरमा १३ हजार ८ सय २२ मत ल्याएका थिए । त्यति बेला जसपालाई एमालेले सघाएको थियो । अहिले एमालेले आफ्नै उम्मेदवार उठाएको छ । कुशवाह भने कांग्रेस नेतृत्वको गठबन्धनबाट माओवादीका उम्मेदवार थिए । त्यति बेला स्वतन्त्र उम्मेदवार रामकिशोर यादवले ११ हजार ४३ र अर्का स्वतन्त्र उम्मेदवार रवीन्द्र यादवले १० हजार ७ सय ५० मत ल्याएका थिए । मंसिरको चुनावमा जनमत पार्टीका उम्मेदवारले प्रत्यक्षतर्फ २ हजार ७ सय २५ मत ल्याए पनि समानुपातिक मत ८ हजार ८ सय ४६ थियो ।
सशस्त्र द्वन्द्वकालदेखि माओवादीमा रहेका कुशवाह पहिलो संविधानसभा निर्वाचनमा विजयी भएका थिए । त्यसपछि उनी राजेन्द्र महतोको सद्भावना पार्टीमा प्रवेश गरी उपाध्यक्ष भएका थिए । २०७० को निर्वाचनमा पराजित भएपछि उनी पुनः माओवादी फर्के । ०७४ को निर्वाचनमा फेरि पराजय भएका थिए । उपनिर्वाचनमा उपेन्द्र यादव बारा–२ बाट लड्ने भएपछि जनमत पार्टी बलियो उम्मेदवारको खोजीमा थियो । सत्ता गठबन्धनमा तालमेल गर्दा माओवादीले टिकट पाउने सम्भावना थिएन । राउतसँग स्वार्थ मिलेपछि कुशवाहले पार्टी परिवर्तन गरे ।
जनमत पार्टीको चुनावी प्रचारप्रसार शैली अन्यभन्दा फरक छ । चुनावी अभियानमा उम्मेदवारभन्दा बढी पार्टी अध्यक्षको नाम र चुनाव चिह्न उच्चारण हुने गरेको छ । चुनावी प्रचार सामग्रीमा पनि अध्यक्ष र चुनाव चिह्नको तस्बिर बढी देख्न पाइन्छ । ‘हरन छापका कार्यकर्ता बिहान गाउँका चिया पसलहरूमा आफ्नो पार्टी अध्यक्षको गुणगान सुनाउँछन्,’ देवतालका स्थानीय राम कुशवाहले सुनाए, ‘बेलुका जुन गाउँमा घरदैलो सकिन्छ, त्यहींको कार्यकर्ताको घरमा बास बस्छन्, प्रशिक्षण दिन्छन् ।’ महागढीमाई–४ को मलहनी टोलमा सोमबार अपराह्न घरदैलोमा भेटिएका जनमतका उम्मेदवार कुशवाहले अंकगणितमा जसपा अगाडि रहे पनि जनमत शक्तिका रूपमा उदाएको बताए । ‘नयाँ विचार लिएर आएका सीके राउतले उपेन्द्रलाई उनकै क्षेत्रमा पराजित गरे, यसले के देखाउँछ कि मधेशमा नयाँ शक्ति उदाएको छ,’ उनले भने ।
उपेन्द्र यादवले जुन पालिकामा पार्टी कमजोर छ, त्यहाँ विशेष जिम्मेवारी दिएर प्रभावशाली नेतालाई खटाइरहेका छन् । ‘देवताल गाउँपालिका अध्यक्षमा जसपाकै उम्मेदवार विजयी भए पनि उनको व्यवहारले पार्टीको अवस्था खस्किएको छ,’ जसपाका एक नेताले भने, ‘त्यहाँ अध्यक्ष यादवले पर्सा–१ का सांसद एवम् पूर्ववनमन्त्री प्रदीप यादवलाई खटाउनुभएको छ ।’ चुनावी दौडाहामा मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव, पूर्वमुख्यमन्त्री मो. लालबाबु राउतलगायत पनि होमिएका छन् । जसपा अध्यक्ष यादव आफू गठबन्धनप्रति शतप्रतिशत विश्वस्त रहेको बताउँछन् । ‘सबै पार्टीका साथीहरू लागेका छन्,’ उनले भने, ‘दायाँ–बायाँ हुने अवस्था छैन ।’
मंसिरको आमनिर्वाचनमा जसपालाई बारा–२ छाडेको एमालेले समानुपातिकमा ९ हजार १ सय ९३ मत ल्याएको थियो । उपनिर्वाचनमा एमालेबाट पुरुषोत्तम पौडेल उम्मेदवार छन् । पौडेलले पार्टीहरूले गठबन्धन गरे पनि जनताले गठबन्धन नगरेको बताउँछन् । स्वतन्त्र उम्मेदवारी दिएका अरुण ज्ञवालीले अघिल्लो निर्वाचनमा ७ हजार ६ सय ९८ मत ल्याएका थिए । यस पटक उनले पूर्वमन्त्री एवम् रौतहटका सांसद प्रभु साहको आम जनता पार्टीको साथ पाएका छन् ।
बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले उम्मेदवारी दिएका छन् । मंसिरको आमनिर्वाचनमा उनले काठमाडौं–१ मा नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दिएका थिए । उपनिर्वाचनको संघारमा आफैंले खोलेको पार्टी छाडेर खरेल रास्वपा प्रवेश गरेका हुन् । पूर्वडीआईजी खरेल एसपी भएका बेला छिमेकी जिल्ला पर्सामा बसेका थिए ।
उपनिर्वाचनलाई नजिकबाट नियालिरहेका फेटा निवासी समाजशास्त्री वीरेन्द्रप्रसाद साहले अन्य पार्टीबाट यादव समुदायबाट उम्मेदवार नबन्नु नै जसपा अध्यक्षका लागि ठूलो राहत भएको बताउँछन् । ‘मधेशमा जातीय संरचना बलियो छ,’ उनले भने, ‘बारा–२ मा यादव समुदायको बाहुल्य छ । तर अरू पार्टीबाट यादव उम्मेदवार छैनन् । मंसिरको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका रामकिशोर यादव र रवीन्द्र यादवले पनि जसपा अध्यक्षलाई नै साथ दिएका छन् ।’ पूर्वशिक्षक देवेन्द्र गिरी युवाले राम्रो प्रतिनिधि छान्न खोजिरहेको बताउँछन् । ‘बुथ कब्जा गर्ने परिपाटी हटेकाले मतदाता स्वयं निर्णायक हुने अवस्था छ,’ उनले भने, ‘उपचुनावमा हिंसा, झडप पनि देखिएको छैन । सबै उम्मेदवारलाई मतदाताले एकनासले स्वागत गरेका छन् ।’
चितवन–२ कसको किल्ला ?
चितवन–२ मा पनि मौसमी तापमानसँगै चुनावी रापताप उकालो लागिरहेको छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आमनिर्वाचनको जनमत जोगाउने दौडधुपमा छन् । सभापति नै उम्मेदवार रहेकाले रास्वपाका अन्य नेता र पदाधिकारीले यहाँ सक्रियता बढाएका छन् । जनमत उल्ट्याउन कांग्रेस र एमालेले पनि कसरत गरिरहेका छन् । कांग्रेसबाट पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठ र एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।
दोहोरो राहदानी र नागरिकतासम्बन्धी मुद्दा तथा छोटो समय गृहमन्त्री हुँदा गरेका केही निर्णयका कारण लामिछानेप्रति मतदातामा संशय बढेको देखिन्छ । तर पाँच महिनाअघि लामिछाने ठूलो मतान्तरले विजयी भएकाले यसपालि अन्य दललाई परिणाम उल्टाउन सजिलो देखिँदैन । तत्कालीन मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार गत मंसिरमा चितवन–२ मा ८३ हजार ९ सय ६३ मत खसेको थियो । लामिछानेले ४९ हजार २ सय ६४ मत ल्याउँदा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत पाएका थिए ।
०७० सालको संविधानसभा सदस्य निर्वाचन र ०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन–२ बाटै विजयी भएका एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६ सय ४७ मतसहित तेस्रो मात्र भएका थिए । जबकि ०७४ को निर्वाचनमा उनले निकटतम प्रतिस्पर्धीभन्दा १७ हजारभन्दा बढी मत ल्याएका थिए । चितवन–२ मा मतदाता संख्या १ लाख २४ हजार ६ सय ९५ मतदाता छन् । चितवन–२ मा कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकासहित भरतपुर महानगरका २९ मध्ये १० वटा वडा पर्छन् । यहाँ दलका १२ र स्वतन्त्र १० गरी २२ उम्मेदवार चुनावी मैदानमा छन् । स्थानीय तह निर्वाचनमा भरतपुर महानगर क्षेत्रमै एमालेको नतिजा निकै खस्किएको थियो । कालिका नगरपालिकामा संसदीय निर्वाचनमा अवस्था खस्कियो । इच्छाकामना गाउँपालिकाले मात्रै एमालेलाई साथ दिएको देखिन्छ । कम मत आएको इच्छाकामनामा रास्वपाले अहिले चुनावी अभियान तीव्र बनाएको छ । ‘अहिले के बजार, के गाउँ, के विकट पहाडी इलाका सबैतिर एकनासे माहोल छ,’ रास्वपाका केन्द्रीय सदस्य ध्रुव गिरीले भने, ‘पहिलाकै नतिजा दोहोर्याउने विश्वास छ ।’
एमालेकी पूर्वजिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य पार्वती रावल स्थानीय र गएको संघीय निर्वाचनका कमजोरीलाई सुधार गरेका कारण पहिलाको भन्दा फरक नतिजा आउने दाबी गर्छिन् । ‘चुनावमा भएका कमीकमजोरी सुधार्न मिसन ग्रास रुट अभियान चलिरहेको छ । हामीले संगठनलाई सबल बनाउँदै लगेका बेला चुनाव आएको छ । साथीहरूका असन्तुष्टि समाधान भएका छन् । मतदाताको मन पनि बुझेका छौं,’ उनले भनिन्, ‘चितवन–२ हाम्रा लागि राम्रो ठाउँ हो । हामीलाई पुरानो अवस्थामा फर्कन गाह्रो छैन ।’
मंसिरको चुनावमा कांग्रेस आन्तरिक समस्यामा थियो । त्यति बेला कांग्रेसबाट उमेश श्रेष्ठ उम्मेदवार थिए । जिल्लाको आवश्यकताले भन्दा पनि केन्द्रीय सभापतिको चाहनामा उनलाई उठाएको आक्रोश कांग्रेस कार्यकर्तामा थियो । अहिले पार्टी एकढिक्का रहेको कांग्रेसको दाबी छ । ‘कांग्रेसका जितनारायण स्थानीय नेता हुन् । राजनीतिक ज्ञान र देश देशावरको अवस्थासँग परिचित छन् । पहिला बाहिरका व्यक्तिलाई पार्टीले बलपूर्वक यहाँको उम्मेदवार बनाइयो भन्ने असन्तुष्टि थियो । नेता–कार्यकर्ताबीच बेमेल थियो । अहिले त्यस्तो छैन,’ अधिवक्ता उद्धव लोहनीले भने, ‘पार्टीका नेता–कार्यकर्ता एकजुट भएर लाग्दा समर्थक र मतदातामा सकारात्मक प्रभाव पर्न सक्छ ।’
नागरिकता प्रकरणमा परेर संसद् पद खारेज भएपछि दोहोरो राहदानीको विषय उठिरहेका बेला लामिछाने उम्मेदवार नभएको भए राम्रो हुने वामपन्थी बुद्धिजीवी प्रेम रिमाल बताउँछन् । ‘दुई वटा राहदानी रहेको त लामिछाने आफैंले स्वीकार गरे । दुरुपयोग गरेको छैन भन्दैमा मुक्ति पाउने कुरा हुँदैन । न्यायालयले स्वतन्त्र भएर काम गर्न पाउनासाथ यो मुद्दामामिलामा जान्छ,’ उनले भने । रिमालले लामिछानेका समर्थकको शैली पनि सही नभएको बताए । ‘फरक दलका समर्थकलाई सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने, पत्रिका जलाउनेजस्ता काम गरिरहेका छन्,’ उनले भने ।
तनहुँमा नेताहरूको दौडधुप
राष्ट्रपति रामचन्द्र पौडेलले छाडेको तनहुँ–२ मा जनमत उल्टिन नदिन कांग्रेस मात्र होइन, सत्ता गठबन्धनका शीर्ष नेताहरू नै लागिपरेका छन् । यहाँ सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका कांग्रेसका गोविन्द भट्टराईका लागि एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वर्णिम वाग्ले चुनौती बनेका छन् ।
गत आमनिर्वाचनमा कांग्रेसबाट टिकट लिने प्रयास गरेका अर्थशास्त्री वाग्ले सभापति शेरबहादुर देउवासँग दूरी बढ्दै गएपछि रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका हुन् । पूर्वप्रहरी प्रमुख खनाल मंसिरको निर्वाचनमा काठमाडौं–६ बाट पराजित भएका थिए । तनहुँ उनको पुर्ख्यौली थलो हो । ‘वाग्ले अर्थविद् हुन्, भट्टराई जिल्लाकै नेता हुन्, खनाल देशकै सुरक्षा प्रशासन हाँकेका मान्छे हुन् । सबै उम्मेदवार बलिया छन्,’ व्यास नगरपालिकाकी निरु दुराले भनिन् ।
कांग्रेस उम्मेदवार भट्टराईका पक्षमा मत माग्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मंगलबार दमौलीको चुनावी सभामा आएका थिए । यहाँ कांग्रेस नेता शेखर कोइराला, धनराज गुरुङ, मीनेन्द्र रिजाल, प्रदीप पौडेललगायतका नेता भरमग्दुर लागिरहेका छन् । एमाले उम्मेदवार खनालका लागि मत माग्न नेताहरू पृथ्वीसुब्बा गुरुङ, पद्मा अर्याल, किरण गुरुङ, महेश बस्नेत, भगवती न्यौपाने, टुकराज सिग्देललगायत घरदैलोमा पुगेका छन् । वाग्लेको पक्षमा मत माग्न रास्वपाका सभापति रवि लामिछाने, केन्द्रीय सदस्य तथा सांसदहरू विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, सन्तोष परियार, सोविता गौतमलगायत दमौली आए ।
यसपल्ट नेताहरूले आरोप/प्रत्यारोपलाई कम, आफ्ना एजेन्डा प्रस्तुतिलाई बढी महत्त्व दिएको देखिन्छ । कांग्रेसका उम्मेदवार भट्टराईले आफ्नो २४ बुँदे घोषणापत्रमा भ्रष्टाचार न्यूनीकरण, डिजिटल गभर्नेन्स, निःशुल्क खानेपानी, रोजगारी, सडक पूर्वाधारलगायत विषय समेटेका छन् । खनालले आफ्नो २५ बुँदे प्रतिबद्धतापत्रमा समृद्धि, पूर्वाधार विकास, रोजगारीको ग्यारेन्टीलगायत एजेन्डा उल्लेख गरेका छन् । एमालेको ‘२०–२० ग्यारेन्टी’ शैलीको प्रतिबद्धतालाई उनले महत्त्व दिएका छन् । अहिलेको राजनीति सङ्ल्याउन र अर्थतन्त्र उकास्न उम्मेदवारी दिएको बताउँदै आएका रास्वपाका वाग्लेले पनि ५ वटा मूल राष्ट्रिय एजेन्डालाई अघि सारेका छन् । जनउत्तरदायी लोकतन्त्र र भ्रष्टाचाररहित राजनीति, रोजगारी र उत्पादन वृद्धिसहितको मजबुत अर्थतन्त्र, सामाजिक न्यायसहितको समुन्नति, जलवायु परिवर्तन र वातावरणमैत्री विकास तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठित नेपाली छवि बनाउने उनका एजेन्डा छन् ।
गत मंसिरको निर्वाचनमा कांग्रेसका उम्मेदवार पौडेल २५ हजार ३ सय ६१ मत प्राप्त गरी निर्वाचित हुँदा एमालेका एकबहादुर राना १९ हजार ९ सय ८१ मतसहित निकटतम प्रतिद्वन्द्वी भएका थिए । कांग्रेसका पूर्वसहमहामन्त्री जोशीले ६ हजार ८ सय ८६ र रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए । समानुपातिकतर्फ कांग्रेसले २० हजार १ सय ५८, एमालेले १६ हजार ६ सय ८३, रास्वपाले १२ हजार ७ सय ७३, माओवादीले ७ हजार ३ सय २६, राप्रपाले ३ हजार ५ सय ७७, एकीकृत समाजवादीले ९ सय ५० मत पाएका थिए । २०७४ को निर्वाचनमा भने एमालेका कृष्णकुमार श्रेष्ठ (किसान) तनहुँ–१ मा निर्वाचित भएका थिए । हाल एकीकृत समाजवादीमा रहेका श्रेष्ठ बारा–४ बाट प्रतिनिधिसभा सदस्य छन् ।
तनहुँ–१ मा देवघाट, आँबुखैरेनी र बन्दीपुर गाउँपालिका, भानु नगरपालिका र व्यास नगरपालिकाका १, २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३ र १४ वडा छन् । स्थानीय निर्वाचनमा यस क्षेत्रका ४२ वटा वडामध्ये २६ वटा कांग्रेसले, ९ वटा एमालेले, ५ वटा माओवादीले र २ वटा स्वतन्त्र उम्मेदवारले जितेका हुन् ।
कांग्रेस उम्मेदवार भट्टराई आफूले सधैं निष्ठाको राजनीति गरेको र यसपालि तनहुँको विकासका लागि उम्मेदवारी दिएको बताउँछन् । उनले पिउने पानीको व्यवस्थालाई प्राथमिकताका साथ उठाइरहेका छन् । ‘अरूलाई पानी पनि चुनावी एजेन्डा हुन्छ भन्ने लागेको होला तर आफूलाई तिर्खा लागेको समय धित मर्ने गरी पानी खान नपाउनेलाई यसको व्यथा थाहा हुन्छ,’ उनले भने ।
जनताले परिवर्तन चाहेको र आफूले परिवर्तनका लागि उम्मेदवारी दिएकाले चुनाव जित्ने वाग्ले बताउँछन् । ‘कसैलाई आरोप/प्रत्यारोप नगरी स्वस्थ प्रतिस्पर्धा गर्छु । हामीले अब नयाँ राजनीतिक संस्कार स्थापना गर्नुपर्छ र असल राजनीति गर्नुपर्छ,’ उनले भने । रास्वपा समर्थक विश्व बाँस्तोलाले अधिकांश मतदाताले परिवर्तन चाहेकाले वाग्लेको उम्मेदवारीलाई लिएर आफू उत्साहित रहेको बताए ।
एमाले भने आफ्नो मत सुरक्षित गर्न सके जित हुने विश्वासमा छ । कांग्रेसको मत वाग्लेतिर ढल्किँदा खनालको जित हुने तर्क एमाले कार्यकर्ताको छ । आफूले ३० वर्ष राष्ट्रसेवकका रूपमा गरेको कामलाई मध्यनजर गर्दै मतदाताले आफूलाई मत दिने एमाले उम्मेदवार खनालले बताए । ‘जनतामाझ पुगेपछि हामी झन् उत्साहित छौं,’ एमालेका जिल्ला सचिव राजेश्वर ढकालले भने ।
तनहुँमा सत्तारूढ माओवादीबाट सबै मत कांग्रेस उम्मेदवारलाई खस्ने सुनिश्चित छैन । प्रदेशसभाको चुनावमा आफ्नो उम्मेदवारलाई कांग्रेसले सहयोग नगरेको गुनासो केही माओवादी नेता–कार्यकर्तामा छ । तनहुँको चुनावी परिणाममा गोविन्दराज जोशीको समूहले पनि प्रभाव पार्न सक्छ । जोशी समूह कतै खुलेको छैन । गोविन्दराजका छोरा दीपकराजले २१ औं शताब्दीको राजनीति बुझेको, विद्वान्, युवा, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्नेलाई स्वविवेक प्रयोग गरी मतदान गर्ने बताए । खुलेर मत नमागे पनि उनले सामाजिक सञ्जालमा स्वर्णिमको पक्षमा लेख्ने गरेका छन् ।