
काठमाडौँ — आफ्नी आमा र दुई भाइबहिनीलाई कायकिङ गर्दा छालले समुद्रतर्फ बगाएर लगेपछि १३ वर्षका किशोर अष्टिन एपल्बी चार घण्टासम्म पौडेर किनारामा आए ।
अनि, उद्धारकर्तालाई फोन गरेर परिवारलाई बचाउन आग्रह गरे ।
अस्ट्रेलियाको समुद्री तटमा १३ वर्षका एक किशोरले ४ घण्टासम्म पौडेर आफ्नी आमा र दुई भाइबहिनीको ज्यान बचाउन सहयोगी भूमिका खेलेका छन् । शुक्रबार दिउँसो आफ्नो परिवारसँग कायकिङ र प्याराडल-बोर्डिङ गर्न उनी समुद्रमा निस्किएका थिए । तर, ठूलो छाल आएसँगै उनीहरुको बोर्ड उल्टियो । हेर्दा हेर्दै कायकभित्र पानी भरियो र उनकी आमा र भाईबहिनी बग्न थाले ।
लगत्तै आमाले उनलाई किनारमा जान भनिन् । 'म साँच्चै धेरै डराएको थिएँ,' एपल्बीले भने, ' यो पार गर्न सक्छु वा सक्दिँन भनेर आफैंलाई सोच्दै थिएँ ।'
सुरुमा दुई घण्टा उनले लाइफ ज्याकेट लगाएर पौडी खेलिरहेका थिए । तर, झन्झटिलो महसुस भएपछि त्यसलाई पानीमै फालिदिए । 'म निकै थकित भएको थिएँ, तर कति थाकेँ भन्ने महसुसै भइरहेको थिएन,' उनले भने ।
उनले यसक्रममा पौडी खेलिरहे । यसक्रममा ब्रेस्टस्ट्रोक, फ्रीस्टाइल र ब्याकस्ट्रोक गरेको उनले बताए । उनले तटमा पुग्नासाथ आपतकालीन सेवामा फोन गरेर डुङ्गा, हेलिकप्टर र विमान पठाउन अनुरोध गरेका थिए ।
'मेरो परिवार समुद्रमा पर-पर छ,' उनले भनेका थिए ।





