‘दुर्गमका उडान हुने कि नहुने ? मौसमले भन्दा स्थानीय नेता, मेयर, सीडीओ र प्रहरी प्रमुखले तय गर्छन्,’ नेपाल नागरिक उड्डयन प्राधिकरणमा छलफलका लागि जम्मा भएका पाइलटहरूले खुलासा गरे, ‘जिल्लामा अलिक पहुँच भएकाहरूले विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई प्रभावित गर्न सक्छन्, उनीहरूकै आदेशमा एटीसीले उडान हुने र नहुने निश्चित गर्छन् ।
पाइटलहरूका अनुसार नेता, प्रहरी र प्रशासकहरूले आफूले टिकट काटेको जहाजको उडान रोक्न चाहँदैनन्, मौसम प्रतिकूल भए पनि उडान रद्द गराउन चाहँदैनन् । ‘एटीसीले पनि उनीहरूकै दबाबमा काम गर्दा उडान जोखिममा पर्छ,’ पाइलटले प्राधिकरणमा भने ।प्राधिकरणले आयोजना गरेको छलफलमा दुर्गममा उडान गर्ने सीता, समिट, तारा एयर तथा नेपाल वायु सेवा निगमका १५ जुनियर पाइलट सहभागी थिए । उनीहरूले परिचय गोप्य राख्ने सर्तमा उडानका दुःख बेलिविस्तार लगाए ।
एटीसीहरूले खराब मौसममा पनि उडान गराइदिने गरेको गुनासो गर्दै पाइलटहरूले भने, ‘उदाहरणका लागि काठमाडौंबाट ताप्लेजुङ उड्नुपरे हामी मौसम कस्तो छ भनी त्यहाँको एटीसीलाई सोधेर मात्रै उड्छौं, उता एटीसीले आउँदै गर्नु न, मौसम खुल्दै छ भनी बोलाउँछन् । जब हामी नजिकै पुग्छौं, विमानस्थल आसपासको भिजिबिलिटी बिग्रिएको हुन्छ । अवतरण गर्नै सक्दैनौं ।’ दुर्गममा उड्ने सबै उडान भीएफआर (आँखाले हेर्ने प्रणाली) बाट हुन्छन् । मौसम छ्याङ्ग नभएसम्म अवतरण गर्न मिल्दैन ।
एटीसीलाई प्रभावित पार्ने नेता, प्रहरी र प्रशासकहरू ‘ठूला’ लाई स्वागत वा बिदाइ गर्न मात्र होइन, गफगाफ गर्न र घाम ताप्न पनि एयरसाइड (विमानस्थलभित्रको हवाई क्षेत्र) मा जम्मा हुने गरेको पनि पाइलटहरूको भनाइ छ । अझ, कहिलेकाहीँ एटीसीले टावर छाडेर बजारतिर निस्कनाले अवतरणमा आपत् परेको अनुभव पनि एक पाइलटले सुनाए ।
‘एक पटक हामी नेपालगन्जबाट बाजुराको कोल्टी विमानस्थल गइरहेका थियौं, कर्णाली खोंचबाट विमानस्थल देखियो । अवतरणका लागि जहाजबाट एटीसीलाई बोलायौं तर जवाफ नै आएन । यस्तो अवस्थामा हामीले अवतरण गर्न मिल्दैन । किनकि धावन मार्गमा पशुचौपाया वा कुनै मानिसहरू हुन सक्छन् । अनि विमानस्थलको फन्को लगाउन थालेपछि एटीसी सम्पर्कमा आए, उनी खाजा खान बजारतिर गएका रहेछन्,’ उनले भने ।
अरू पाइलटका अनुसार दुर्गमका विमानस्थलमा जहाज उडेको जानकारी पाएपछि पनि एटीसीहरू एकैछिन त हो भन्दै चियाखाजा खान वा अरू काममा हराउने घटना भइरहन्छन् । यो हदका लापरबाही हुन नदिन उनीहरूले प्राधिकरणको ध्यानाकर्षण गराएका छन् ।
निगमका पाइलटहरूले त जहाज र एटीसीबीच संवादमा प्राविधिक रूपमा पनि समस्या हुने गरेको बताए । ‘हामी जहाज उडाइरहेका बेला एटीसीले बोलाइरहेका हुन्छन् । तर, जहाजमा प्रायः सुनिँदैन । फ्रिक्वेन्सी हराउँछ । दोहोरो संवाद नहुनु उडान सुरक्षाका लागि गम्भीर हो,’ एक पाइलटले भने ।
निगमका पाइलटहरूका अनुसार पटक–पटक गुनासो गर्दा पनि प्राविधिक सुधारमा व्यवस्थापनले वास्तै गरेको छैन । उनीहरूले भने, ‘टावर र जहाजबीच संवाद गराउने भीएचएफ रेडियो सेट नै धेरै पुरानो भयो । जहाज भुइँमा छँदा टावरसँग राम्रै संवाद हुन्छ । तर, आकाशमा पुगेपछि संवाद अवरुद्ध हुन्छ । ट्वीनअटरका भीएचएफ सेट मर्मत गरिदिन वा बदल्न धेरै पटक भन्यौं तर, व्यवस्थापनले यसमा ध्यानै दिएको छैन ।’
महानिर्देशक प्रदीप अधिकारीसहित हवाई सुरक्षा नियमन गर्ने प्राधिकरणका अधिकारीहरूसँग पाइलटले भने, ‘जहाजमा रहने लगबुकमा पनि हामीले बारम्बार गुनासो लेखेका छौं, तर व्यवस्थापनले भीएचएफ सेट बदल्ने पैसामा नयाँ जहाज आउँछ भन्छ । अनि हामीले कसलाई गुनासो सुनाउनु ?’ उनीहरूले प्राधिकरणमा पनि लिखित रूपमै उजुरी गरेका छन् ।
दुर्गम तथा हिमाली क्षेत्रको उडानका लागि निगमसँग ४० वर्ष पुराना ट्वीनअटर विमान छन् । यी विमानले काठमाडौं र नेपालगन्जबाट पहाडका १६ गन्तव्यमा पालैपालो सातामा एकदेखि चारसम्म उडान गर्छन् । निगमका यी जहाज अधिकांश समय बिग्रेर ‘ग्राउन्डेड’ हुन्छन् । निगमका मार्केटिङ र ग्राउन्ड स्टाफले ‘ओभरलोड कार्गो’ राख्ने गरेको पनि पाइलटहरूको गुनासो छ ।
‘नेपालगन्जबाट हुम्ला, जुम्ला, मुगु, बाजुरा र डोल्पा उडानमा ओभरलोड राख्ने प्रवृत्ति अत्यधिक छ, यो उडानका लागि जोखिमपूर्ण हो,’ पाइलटले उजुरीमा लेखेका छन्, ‘नेपालगन्ज विमानस्थलस्थित निगमको मार्केटिङ शाखाका कर्मचारीले निगमको केन्द्रीय कार्यालयका अधिकारीहरूसँग मिलेरै बढी सामान राख्छन् । यसमा पनि अनुसन्धान हुनुपर्छ ।’
पाइलटहरूले दुर्गमका विमानस्थलमा स्थानीयको भीड लाग्ने गरेको पनि सुनाए । ‘प्रायः पहाडका विमानस्थलमा स्थानीयको भीड लाग्छ, प्रहरीले नियन्त्रण गर्दैन । जहाज पार्किङ गर्नेबित्तिकै मानिसहरूको भीड लाग्छ । कतिपय त जहाजभित्रै आइपुग्छन्,’ एक पाइलटले भने, ‘जहाज वरिपरि आएर भिडियो खिच्ने, टिकटक बनाउने प्रवृत्ति छ । तर, प्रहरी तमासे बन्छ । यो समस्या सबैभन्दा धेरै सिमकोट विमानस्थलमा छ ।’
कतिपय जुनियर पाइलटहरूले आफ्नै कम्पनीबाट पनि पीडित भएको बताए । बेलैमा तलब नपाइने, पाइहाले थोरैमा चित्त बुझाउनुपर्ने, तालिममा भेदभाव हुने गरेको उनीहरूको भनाइ छ । जोमसोममा तारा एयरको जहाज दुर्घटनाको प्रसंग जोड्दै पाइलटहरूले भने, ‘कोपाइलटको भूमिकामा हुने जुनियरहरूलाई पनि ६/६ महिनामा तालिम र जाँचमा पठाउनुपर्छ । क्याप्टेन अप्ठ्यारोमा पर्दा कोपाइलटले सुधार्न सके दुर्घटना कम हुन्छन् । तर, त्यसका लागि योग्य बनाउने तालिमको अवसर कम छ ।’ जोमसोम उडानमा दुर्घटनामा परेको ताराको जहाजमा फ्रेस ट्रेनी कोपाइलट थिए । काठमाडौंसहित देशभर ५२ विमानस्थल छन् । यीमध्ये १९ वटा बन्द छन् । चालु ३३ मध्ये २० विमानस्थल दुर्गम तथा हिमाली भेगमा छन् ।
पश्चिमको बझाङ, बाजुरादेखि हुम्ला, जुम्ला, मुगु, मुस्ताङ, रामेछाप हुँदै पूर्वमा सोलु र ताप्लेजुङसम्म फैलिएका यी विमानस्थलमा अहिले सीता, तारा, निगम र समिट एयरका १९ सिटे साना १३ वटा वायुयानले व्यावसायिक र चार्टर उडान गर्दै आएका छन् । यी विमानका लागि ३६ जना जुनियर पाइलट छन्, उनीहरूमध्ये ३ जना महिला हुन् ।