मकवानपुर : बकैयाँ गाउँपालिका–२ धियाँलमा युरेनियम खानी रहेको पत्ता लागेको दुई दशक बित्यो। तर, सरकारले खानी उत्खननमा चासो नदिँदा त्यसको असर स्थानीयवासी झेलिरहेका छन्। धियाँलस्थित कालापानी, चाँदे, तीनभंगाले र दमार क्षेत्रका बासिन्दाले युरेनियम खानी हुँदै बग्ने पानी उपभोग गर्दै आएका छन्।
धेरै स्थानीयवासी युरेनियम मिसिएको दूषित खानेपानीका कारण अस्वस्थ छन्। जसमध्ये वीरबहादुर स्याङ्तान बिरामी परिरहन्छन्। युरेनियम मिसिएको पानी खाँदा क्यान्सर भएर करिब १२ जनाले ज्यान गुमाएका स्थानीयवासी बताउँछन्।
‘युरेनियम खानी रहेको पत्ता लागेको दुई दशक बितिसक्यो। तर, न उत्खनन् भएको छ न त यहाँका स्थानीयको जीवन सहज बनाइएको छ’, बकैया २ का वडाअध्यक्ष विश्वराज स्याङ्तान भन्छन्, ‘यहाँको पानी राम्रो छैन। धेरै बिरामी छन्। एक दर्जनजति त बितिसके।’
उनका अनुसार खानी स्रोतबाट आएको पानी खाँदा झाडापखाला लाग्ने गरेको छ। शरीरमा खटिरा आउने समस्या देखिएको छ। सम्बन्धित निकायमा यसबारे ध्यानाकर्षण गराए पनि चासो नदिएको स्याङ्तानको गुनासो छ। दुषित पानीकै कारण आफन्त गुमाएकाहरू थातथलो छाड्न चाहन्छन्। यहाँ पानीकै कारण चौपाया र जंगललाई समेत असर परेको छ। खानी क्षेत्रको जंगलसमेत फस्टाउन सकेको छैन। अरु ठाउँको जंगलमा ठूलाठूला रूख भए पनि यहाँ साना बढी देखिन्छन्। कालापानी फेदीमा भूमेश्वरी प्राविका विद्यार्थी पनि यही खोलाको पानी खान बाध्य छन्।
यहाँका स्थानीयमा परेको असरबारे सरकारी निकायले अध्ययन पनि गरेको छैन। बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्री भन्छन्, ‘संघीय सरकारले पनि यसबारे खासै चासो दिएको छैन। हामीले मात्र गर्न सक्ने कुरा पनि छैन।’
प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारेर युरेनियम उत्खनन् गर्नुपर्ने उनको भनाइ छ। खानी क्षेत्रमा करिब ३ सय परिवार प्रभावित रहेको बकैया गाउँपालिकाले जनाएको छ।
त्रिभुवनविश्व विद्यालय भौक्तिकशास्त्र बिभागका प्राध्यापक देविदत्त पौडेलको सुपेरीवेक्षणमा अर्जुन पाठकले मध्य सिवालिक क्षेत्रमा युरेनियम सघन अक्साईडको रुपमा रहेको पत्ता लगाएका थिए। युरोपियन न्युक्लियर सोसाइटीको एक अध्ययन अनुसार एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ। तर, एक किलो युरेनियमबाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ। त्यसैले विश्वमा यसको महत्व र माग बढी छ।