नेभिगेसन मेनु

अनुगमनमा पुगेका मन्त्रीलाई स्थानीयले पारे र्‍याखर्‍याख्ती
सम्पादक:南亚网络电视
समय:2023-03-03 13:50

भक्तपुर — नगरकोट सडक अनुगमनमा पुगेका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई स्थानीयले सडकमै रोकेर आक्रोश पोखेका छन् । पर्यटकीय गन्तव्य नगरकोट पुग्ने सडकखण्ड विस्तारको काम आठ वर्षदेखि अलपत्र छ ।

नगरकोट सडक विस्तारको अनुगमनमा चाँगुनारायण–६ तेलकोट पुगेका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई सडकमै घेरेर प्रश्न गर्दै स्थानीय बासिन्दा । तस्बिर : लीला/कान्तिपुर

चाँगुनारायण नगरपालिका–६ तेलकोट बाँस्तोला गाउँमा स्थानीयले गाडी रोकेर मन्त्री श्रेष्ठलाई प्रश्न गरेका हुन् । स्थानीय गोविन्द बाँस्तोलाले मन्त्री श्रेष्ठलाई ठेकेदारको संरक्षण गर्न छाडेर स्थानीयको पीडा सुन्न आग्रह गरे । सडकको सास्तीका कारण पर्यटकीय गन्तव्य नगरकोटको गुमेको अस्तित्वलाई जोगाउन भन्दै उनले प्रश्न गरे, ‘यही सडकका कारण नगरकोटको पर्यटन व्यवसाय धराशायी बनेको छ, दिन प्रतिदिन स्थानीय रोगको सिकार बनिरहेका छन्, यसको जिम्मा कसले लिन्छ ?’ सडक निर्माणको काम तत्काल सम्पन्न गर्न नत्र ठेक्का रद्द गरेर अर्को ठेक्का लगाउन उनले आग्रह गरे ।

बिहीबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, निर्माण व्यवसायीका प्रतिनिधिलगायतसँग मन्त्री श्रेष्ठ नगरकोट सडक विस्तारको अनुगमनमा पुगेका थिए । सडकको अवस्था देखेर आफू खुसी नभएको बताउँदै उनले चैत मसान्तभित्र विस्तारको काम सम्पन्न नभए ठेक्का रद्द गर्ने प्रतिबद्धता जनाए । ‘सडकको अवस्था हेर्दा सन्तुष्ट हुन सकिन्न, महिना दिनभित्र काम नसके अर्को विकल्प खोज्नुपर्ने हुन सक्छ,’ उनले भने, ‘प्राविधिक, निर्माण व्यवसायी, आयोजनासँग छलफmल गरी निर्णय गर्छौं ।’

सडक विस्तारमा हेलचेत्र्याइँ गरेको भन्दै चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधि र स्थानीय, पर्यटन व्यवसायीलगायतले विरोध गर्दै आइरहेका छन् । भक्तपुर कमलविनायक–नगरकोटसम्म १६ किलोमिटर मुख्य सडक विस्तार ढिलाइले पर्यटन व्यवसायमा असर परेको छ भने सडक थप जीर्ण बनेको छ । यसअघि नगरकोटवासीले सडक किनारमा शैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीको फोटो टाँसेरसमेत विरोध गरेका थिए । गत असारमा चाँगुनारायण नगरपालिका–६ का वडाध्यक्ष धनबहादुर लामा र ७ का वडाध्यक्ष श्यामकृष्ण नयाजु श्रेष्ठले सडकमै वडा कार्यालय स्थापना गरेर विरोध गरेका थिए । तर, ठेकेदार कम्पनीले सडक विस्तारलाई बेवास्ता गर्दै कछुवाको गतिमा काम गरेको उनीहरूको आरोप छ ।

ठेकेदार कम्पनीले आठौंपल्ट म्याद थपेरसमेत अझै काम सकेको छैन । एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा शैलुङ कन्स्ट्रक्सन र एआईपीएल जेभीले ०७३ कात्तिक ४ मा काम सक्ने गरी ०७१ जेठ २२ मा सडक विस्तारको सम्झौता गरेको थियो । भूकम्प, नाकाबन्दी, कोभिड, निर्माण सामग्री अभावलगायत कारण देखाउँदै निर्माण व्यवसायीले पटक–पटक म्याद थपाए । सार्वजनिक खरिद ऐनको १२ औं संशोधनअनुसार उक्त सडक निर्माणको म्याद आठौंपल्ट थपिएर गत पुस मसान्तसम्म पुग्यो तर अझै काम सम्पन्न भएको छैन । ठेकेदार कम्पनीले करिब ९० प्रतिशत काम सम्पन्न गरेको जानकारी दिएको भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजना प्रमुख गौतम श्रेष्ठले बताए । काम ढिला गरिँदा लागत झन्डै साढे ४ करोड रुपैयाँ बढेको छ । सुरुको सम्झौतामा भ्याटसहित ३१ करोड ५२ लाख ९२ हजार रुपैयाँमा काम सक्ने भनिए पनि हाल अनुमानित लागत बढाएर ३५ करोड ८७ लाख १८ हजार रुपैयाँ कायम गरिएको छ ।

अगाडि सडक विस्तार हुँदै गर्दा पछिपछि भत्किँदै गएको र प्रत्येक वर्ष मर्मतकै लागि लाखौं बजेट खर्च भएको निर्माण व्यवसायीका प्रतिनिधि अनुप अधिकारीले बताए । ‘सडक विस्तारको ९० प्रतिशत काम सकिसकेको छ, एक महिनाभित्र काम सक्छौं,’ उनले भने, ‘हर्जाना तिरेरै भए पनि काम गरिरहेका छौं ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर