माडागास्कर । माडागास्करको सैन्य नेतृत्वले हिन्द महासागरको यस टापु राष्ट्रको बागडोर सम्हालेको एक सेनाका कर्णेलले मंगलबार जानकारी दिएका छन् । राष्ट्रपति एन्ड्री राजोएलिना युवा प्रदर्शनकारी र सुरक्षा बलसँगको गतिरोधका कारण देश छाडेर भागेपछि सेनाले सत्ता हातमा लिएको हो।
वाहरूको नेतृत्वमा भएको सरकार विरोधी प्रदर्शनमा सामेल भएका सिपाहीहरूको विद्रोहको नेतृत्व गरेका कर्णेल माइकल रान्ड्रिनाइरिनाले राष्ट्रिय रेडियोमार्फत ‘हामीले सत्ता लिएका छौँ’ भनी बताएका छन्।
रान्ड्रिनाइरिनाले राष्ट्रपति राजोएलिनालाई केही मिनेटअघि मात्रै महाभियोग लगाउने पक्षमा मतदान गरेको तल्लो सदन नेसनल एसेम्बलीबाहेक सबै सरकारी संस्थाहरू भङ्ग गरिएको जानकारी दिए।
पूर्वी अफ्रिकाको तटमा रहेको यस राष्ट्रमा अस्तव्यस्तता मच्चिएपछि ५१ वर्षीय नेता राजोएलिनाले एउटा आदेश जारी गरेर नेसनल एसेम्बलीलाई नै विघटन गर्ने प्रयास गरेका थिए।
फ्रान्सेली सैन्य जेटमा उडेर भागे पनि राजोएलिनाले पद त्याग गर्न अस्वीकार गरिरहेका छन्। उनीमाथि राजीनामा दिन माग गर्दै केही हप्तादेखि जेनजी युवाहरूले प्रदर्शन गरिरहेका थिए । यसैबिच सेनाका थुप्रै टुकडीहरूले विद्रोह गर्दै उनीहरूलाई साथ दिएका थिए।
यस विषयमा राष्ट्रपति कार्यालयले तत्काल कुनै प्रतिक्रिया नजनाए पनि यसअघि एसेम्बलीको बैठक असंवैधानिक भएको र त्यसैले कुनै पनि प्रस्ताव ‘अमान्य र शून्य’ हुने बताएको थियो।
राजोएलिनाले आफ्नो ज्यानको खतराका कारण आफू सुरक्षित स्थानमा सरेको बताएका छन्। तर, एक विपक्षी अधिकारी, एक सैन्य स्रोत र एक विदेशी कूटनीतिज्ञले रोयटर्स समाचार समितिलाई उनी आइतबार फ्रान्सेली सैन्य विमानबाट देश छाडेर भागेको जानकारी दिएका थिए।
यो पनि
जेनजी प्रदर्शनमा सेना जोडिएपछि माडागास्करका राष्ट्रपति देश छाडेर भागे
माडागास्कर यो अवस्थामा कसरी पुग्यो?
–दुई हप्ताभन्दा अलि अघि, युवाहरूको नेतृत्वमा भएको एक आन्दोलनले देशभरि खानेपानी र बिजुलीको नियमित कटौती विरुद्ध विरोध प्रदर्शन सुरु गर्यो।
–प्रदर्शनहरू चाँडै बढ्दै गए र प्रदर्शनकारीहरूले महँगी जस्ता मुद्दाहरूमा आक्रोश व्यक्त गर्दै राष्ट्रपति एन्ड्री राजोएलिनालाई पद छोड्न माग गर्न थाले।
–शनिबार, क्यापस्याट नामले चिनिने शक्तिशाली सेनाको इकाईका सिपाहीहरूले अप्रत्याशित रूपमा आफ्नो ब्यारेक छोडेर प्रदर्शनकारीहरूसँग सामेल भए।
–दुई दिनपछि, राजोएलिनालाई फ्रान्सेली सेनाले सुरक्षित रूपमा बाहिर निकालेको र सम्भवतः उनी दुबईतर्फ लागेको खबर आयो, यद्यपि यसको आधिकारिक पुष्टि भएको छैन।
–सोमबार राति, राजोएलिनाले आफूमाथि कथित ज्यान लिने प्रयास भएपछि ‘सुरक्षित ठाउँ’ मा शरण लिएको बताए।
–सांसदहरूले पद त्यागेको आरोपमा राजोएलिनामाथि महाभियोग लगाउने मतदान सुरु गर्नु केही घण्टाअघि उनले राष्ट्रिय सभा विघटन गर्ने घोषणा गरे।
–उनको घोषणालाई बेवास्ता गर्दै मतदान जारी रह्यो र सांसदहरूले राष्ट्रपतिलाई महाभियोग लगाउने पक्षमा भारी बहुमत ले मतदान गरे।
–त्यसपछि क्यापस्याटले देशको सत्ता आफैँले सम्हालेको घोषणा गर्यो।