काठमाडौँ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर भाइमसला दिने चलन छ । भाइमसलामा ओखर, नरिवल, काजु, बदाम, पिस्ता, किसमिसलगायत वस्तु प्रयोग हुन्छ । यो सेलरोटी, मिठाई र फलफूलसँगै दिइन्छ ।
भाइमसलामा आयातित ड्राइफ्रुट्सको हिस्सा धेरै हुँदा जथाभाबी मूल्य तिर्नुपर्नेमा मारमा उपभोक्ता छन् । काजु, बदाम, पिस्ता, किसमिस, दन्ते ओखर आयातमै निर्भर हुनु परेको छ भने ओखर र नरिवल नेपालमा पनि उत्पादन हुन्छ ।
ड्राइफ्रुट्स नियमित समयभन्दा तिहारमा खपत बढ्ने गरेको छ । खपत बढ्ने भएकाले व्यवसायीहरूले पनि जथाभाबी रूपमा मूल्य बढाएर बिक्री गर्ने गरेको गुनासो आउने गरेका छन् । यो वर्ष भाइमसलाको रूपमा प्रयोग हुने ड्राइफ्रुट्स केहीको मूल्य सामान्य बढेको छ भने केहीको घटेको छ ।
थोक किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ पिस्ता र नरिवलमा मूल्य वृद्धि भएको बताउँछन् ।
कुन ड्राइफ्रुट्सको मूल्य कति ?
श्रेष्ठका अनुसार नरिवलमा १० देखि १५ प्रतिशत वृद्धि भएको छ । पिस्तामा प्रतिकिलो ५ सय रुपैयाँसम्म वृद्धि भएको छ । ‘सात–आठ महिनाअघि १४ सय रुपैयाँ पर्ने पिस्ता अहिले १९ सय रुपैयाँ पुगेको छ । अन्य ड्राइफ्रुट्समा केहीको मूल्य घटेको छ भने केहीको यथावत् छ,’ उनी भन्छन् ।
अघिल्लो वर्ष १७ सय रुपैयाँ प्रतिकिलो पर्ने बदाम अहिले बजारमा ११ सयदेखि १२ सय रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ ।