नेभिगेसन मेनु

नारायणगढ–मुग्लिन सडकखण्ड : भित्तो काट्न विस्फोटको तयारी
सम्पादक:南亚网络电视
समय:2023-02-15 16:05

Untitled-1

चितवन, फागुन ३ गते  । निर्धारित मितिमा भित्तो काट्ने काम सम्पन्न गर्न नसकिएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने पुल निर्माणस्थलमा विस्फोटक पदार्थको प्रयोग गर्ने तयारी गरिएको छ। नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख इन्जिनियर किरण कार्कीका अनुसार तुइन र चिसेन्जीखोलामा निर्माणाधीन पुलका लागि भित्तो काट्ने काम कठिन भएपछि उक्त क्षेत्रमा विस्फोटक पदार्थ प्रयोगको तयारी गरिएको हो। उहाँका अनुसार तुइन र चिसेन्जी दुवै खोलाको नारायणगढतर्फको क्षेत्रमा कडा चट्टानका कारण निर्माणको काम कठिन भएको छ। 

नारायणगढ–मुग्लिन सडक खण्डमा पछिल्लो समय निर्माणाधीन तुइन, चिसेन्जी, काली र सिमलताल खोलाका पुलका लागि भित्तो काट्ने प्रयोजनमा बितेको दुई महिना उक्त सडकखण्ड दैनिक चार घण्टा पूर्ण रूपमा बन्द गरिँदै आएको थियो। चारवटा पुलमध्ये दुईवटा पुल निर्माणस्थलको भित्तो काट्ने काम नसकिएपछि निर्माण कम्पनीले विस्फोटक पदार्थ प्रयोग गर्न अनुमति माग गरेको र त्यसका लागि प्रक्रिया अगाडि बढाइएको हो।

गत पुस ५ गतेदेखि भित्तो काट्ने प्रयोजनका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सडक बन्द गरेर सुरु गरिएको उक्त काम समयमा पूरा नभएपछि माघ ५ गतेबाट बिहान ११ बजेको बदला मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गरेर निरन्तरता दिइएको थियो। पछिल्लो समय थप भएको समयसीमा सकिन तीन दिन मात्र बाँकी छ तर तुइन र चिसेन्जीखोलामा निर्माण गरिने पुलका लागि भित्तो काट्ने काम कडा चट्टानका कारण ३० देखि ३५ प्रतिशत अझै बाँकी छ। 

इन्जिनियर कार्कीका अनुसार माथिल्लो भागलाई काट्ने काम सकिएको छ। तल्लो तहमा कडा चट्टानका कारण मेसिनले काम गरे पनि राम्रो परिणाममा काम दिन सकिएको छैन। उहाँले सवारी बन्द गर्ने समय थप गर्नुभन्दा अति आवश्यक स्थलमा विस्फोटक पदार्थ प्रयोग उपयुक्त विकल्प हुन सक्ने भएकाले उक्त प्रक्रिया सुरु गरिएको बताउनुभयो। उहाँले अब पनि सडक बन्द गरेर काम गर्ने पक्षमा आफूहरू नरहेको बताउनुभयो। उहाँका अनुसार विस्फोटक पदार्थ प्रयोग नै उपयुक्त विकल्प हुन सक्छ भन्नेमा सबैको सहमति रहेको छ। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत १५ वटा पुल निर्माणका लागि एक अर्ब २५ करोड रुपियाँमा सम्झौता भएको छ। १५  पुलमध्ये नौवटा निर्माण सम्पन्न भइसकेका छन्। जुगेडी, रिग्दीखोला, कालीखोला, तुइनखोला र चिसेन्जीखोलामा निर्माण काम जारी छ। २०७६ चैत ११ गते गरिएको उक्त सम्झौताअनुसार गत पुस ५ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर