२७० उजुरी : २६७ अफ लाइनमा गएकासँग सम्बन्धित छन् । बाँकी तीन लुटपाट तथा दुर्व्यवहारका छन् । हालसम्म प्रहरीमा तीनवटा मात्रै मुद्दा दर्ता भएका छन् । बाँकी २६७ गुनासोमै सीमित गरिएका छन् ।
‘सेयर राइडिङ’ उपत्यकामा तपाईं–हाम्रो जनजीवनको अंग नै बनेको छ । यात्रा सहज र सस्तो पनि छ । तर, तपाईंले प्रयोग गरिरहेको ‘सेयर राइडिङ’ कति सुरक्षित छ ? चिन्तन–मनन पनि गर्नुभएको छैन भने ‘सेयर राइडिङ’प्रति सावधानी अपनाउनुहोला किनभने केही घटनाले ‘सेयर राइडिङ’ शतप्रतिशत सुरक्षित छैनन् भन्ने सन्देश दिएको छ, घटना–दुर्घटनामा कानुनी उपचार खोज्न सहज छैन ।
काठमाडौंको टेकु बस्ने जगतबहादुर रावललाई जावलाखेल जानु थियो । मोबाइलमा रहेको ‘इनड्राइभर एप्स’मार्फत ‘सेयर राइडर’ बुक गरे । निर्धारित समयमै राइडर आइपुग्यो । चढेर उनी कुपन्डोल पुग्दै थिए, मोटरसाइकल दुर्घटनामा पर्यो । सडकमा बजारिएका उनको कुहिनामा गम्भीर चोट लाग्यो । उनी सडकमै छटपटाउन थाले । राइडरको ध्यान उनीतर्फ गएन । ढलेको मोटरसाइकल उठाएर फरार भए ।
सर्वसाधारणले उनलाई उपचार गर्न अस्पताल लगे । साता दिन अस्पताल बस्दा उनको एक लाख ७० हजार रुपैयाँ खर्च भयो । रन्थनिएका उनी राइडरविरुद्ध उजुरी गर्न प्रहरी कार्यालय पुगे । तर, उजुरी गर्न खोज्दा उनीसँग न राइडरको सूचना थियो, न एप्स अपरेट गर्ने कम्पनीको नै ।
किनकि, ‘सेयर राइडिङ अपरेटर’ कम्पनी ‘इनड्राइभर एप्स’ कतै दर्ता थिएन । जसकारण दुर्घटना गराउने राइडर त कारबाहीबाट जोगियो नै । एप्स अपरेट गर्ने कम्पनी पनि आफ्नो दायित्वबाट सजिलै उम्किए ।
नयाँ पत्रिकासँग रावलले भने, ‘राइडरले मलाई दुर्घटनामा पार्यो । मेरो कुहिना फ्याक्चर भयो । उपचार गर्दा एक लाख ७० हजार लाग्यो । कारबाही गर्न प्रहरीकहाँ पुगेँ । खोज्दै जाँदा कम्पनी नै दर्ता भएको रहेनछ । म पीडित भएँ । मैले अब कानुनी उपचार कहाँबाट पाउने ?’
महाराजगन्जकी ऋतु शर्मालाई डल्लुस्थित चमती पुलनजिक जानु थियो । उनले पनि मोबाइलबाट ‘इनड्राइभर एप्स एक्टिभेट’ गरिन् । राइडर बुक भयो । शिक्षण अस्पतालबाट उनी मोटरसाइकलमा बसिन् । तर, राइडरले उनलाई निर्धारित ठाउँ नभई अन्तै लगेर ओराल्यो ।
उनले राइडरसँग प्रतिवाद गरिन् । निर्धारित ठाउँमै लग्न अनुरोध गरिन् । तर, राइडर यस्तो सन्की निस्कियो कि, उनी सडकमै ऋतुविरुद्ध तथानाम गालीगलौजमा उत्रिए । ऋतु हेरेको हेर्यै भइन् । नयाँ पत्रिकासँग उनले भनिन्, ‘मलाई चमती पुलनजिक जानु थियो । तर, राइडरले अन्तै लग्यो । प्रश्न गर्दा ऊ ममाथि आइलाग्यो । बीचसडकमै ममाथि ‘ह्यारेसमेन्ट’ भयो । म दिनभर तनावमा बसेँ । पीडाले मलाई अझै पनि पिरोल्छ । कारबाही गर्न प्रहरीले उजुरी लिँदैन । कानुनी उपचार खोज्न म कहाँ जाऊँ ?
यी त भए दर्ता नभएका ‘सेयर राइडिङ एप्स’ प्रयोग गर्दा यात्रुले भोगेका पीडा । दर्ता नै गरिएका ‘सेयर राइडिङ एप्स’ प्रयोगकर्ताले भोगेका पीडा पनि उस्तै छन् । जसमध्ये कति राइडरबाटै लुटिएका छन् त कति कुटिएका छन् । तर, पीडितले कानुनी उपचार पाउने कसरी ? विद्यमान कानुनमा कुनै व्यवस्था छैन ।
दर्तावाला ‘सेयर राइडर’बाटै लुटिएकामध्ये एक हुन्, बल्खु बस्ने महेन्द्र कुँवर । घटना हो, गत १६ मंसिरको । गन्तव्यमा जान उनी बल्खु बसपार्कबाट ‘अफ लाइन’मा पठाओ चढे । झोलामा रकमसहितका केही सामग्री थिए । स्कुटरको अगाडि राख्न लगाए । उनी जब सोह्रखुट्टे पुगे, राइडरले स्कुटर रोक्यो । र, उनलाई सडकमै ओराल्यो ।
कारण सोध्दा उसले पिसाब गर्न जाने भयो । स्कुटर लिएर ऊ सरक्क हिँड्यो । त्यसपछि फर्केर आएन । रकमसहित उनका झोला दिनदहाडै लुटियो । कारबाहीका लागि उनले प्रहरीमा जाहेरी त दिएका छन् । प्रहरीले जाहेरी दर्ता पनि गरेको छ । तर, कारबाही गर्ने कसरी ? किनकि ‘राइडर’लाई कारबाही गर्ने न कुनै कानुन छ, न निर्देशिका नै ।
गत २६ पुसमा पठाओे ‘सेयर राइडर’बाटै २४ वर्षीया युवती लुटिन पुगिन् । उनी भीमसेनगोलाबाट थापागाउँ जान अफ लाइनमा पठायो चढेकी थिइन् । केहीबेरको यात्रापछि राइडरले मोटरसाइकल रोकेर पानी खरिद गर्यो । पानी आफूले पनि खायो । युवतीलाई खुवायो ।
युवती पुनः मोटरसाइकलमा बसिन् । यात्राकै क्रममा उनलाई असहज भयो । राइडरले उनलाई अपरिचित स्थानतर्फ लग्यो । लुटपाट गर्यो । र, धनमाल लगेर फरार भयो । उपत्यकाभित्र ‘सेयर राइडिङ’ जति लोकप्रिय बनेको छ, त्यति नै अपराधका घटना पनि बढेका छन् । स्पष्ट कानुन नहुँदा अधिकांश घटना प्रहरीसमक्ष पुग्दैनन् । र, पुगे पनि कारबाही हुँदैन ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्ट कानुन नभएका कारण अपराधमा संलग्न ‘सेयर राइडर’ र एप्स अपरेट गर्ने कम्पनीलाई कारबाही गर्न नसकिएको बताउँछन् । उनी भन्छन्, ‘सेयर राइडरबाट दुर्व्यवहार भयो, लुटियो, कुटपिट भयो, दुर्घटनामा परियो, भनेको ठाउँ नपुर्याउने, भाडामा बार्गेनिङ गर्ने, अफ लाइनमा जान खोज्नेजस्ता समस्या लिएर हामीकहाँ सेवाग्राहीको गुनासो आउँछन् । तर, नियम उल्लंघन गर्नेलाई के कारबाही गर्ने ? हामीसँग कानुन छैन । त्यसो हुँदा न राइडरलाई कारबाही गर्न सकिएको छ । न, एप्स अपरेटकर्तालाई जवाफदेही नै बनाउन सकिएको छ ।’
२ सय ७० विरुद्ध उजुरी
उपत्यकाभित्र ‘सेयर राइडिङ एप्स’ अपरेटर ५० भन्दा धेरै छन् । जसमध्ये पठाओ, टुटल, इनड्राइभर, ट्याक्सीमान्डु, फिलिली, साहार, सारथि, नुप राइड्स, सुपर पार्टनर, जाने–लु जाम, मोटर राइड, कारपुल वल्र्ड, मेट्रो अनलाइन ट्याक्सी, सजिलोलगायत सञ्चालनमा छन् । प्रहरीका अनुसार पठाओ र टुटलबाहेक अन्य कुनै पनि दर्ता गरिएका छैनन् । तथ्यांकअनुसार पाठाओका मात्रै प्रतिदिन एक लाख ५० हजार ‘सेयर राइडर’ सक्रिय हुन्छन् । एप्स डाउनलोडकर्ता ५० लाख पुगेका छन् । त्यस्तै, टुटल र इन्ड्राइभर एप्स पनि सोही तवरले डाउनलोड भएका छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार पछिल्ला दिन राइडरबाट अपराध भएको भन्दै प्रहरी कार्यालयमै पुगेका घटना दुई सय ७० छन् । जसमध्ये दुई सय ६७ अफ लाइनमा गएकाहरूसँग सम्बन्धित छन् । बाँकी तीन लुटपाट तथा दुर्व्यवहारका छन् । हालसम्म प्रहरीमा तीनवटा घटनामा मात्रै मुद्दा दर्ता भएका छन । बाँकी दुई सय ६७ गुनासोमै सीमित गरिएका छन् । कार्यालयका प्रवक्ता एसएसपी हिमालयकुमार श्रेष्ठले कारबाहीमा केही जटिलता भए पनि कसुरको प्रकृति हेरी राइडरलाई कारबाही गरिएको बताए । उनले भने, ‘कसुर गर्ने राइडरलाई कारबाही गर्न कानुनी जटिलता हुँदै नभएका होइनन् । यसको अर्थ उनीहरूलाई कारबाही नै नभएको भन्न मिल्दैन । कसुरको प्रकृति हेरी प्रहरीले उनीहरूलाई कारबाही गर्ने गरेको छ ।’
कतिपय कसुरदारलाई एप्स अपरेटर कम्पनी आफैँले पनि कारबाही गर्ने गर्छ । विशेषगरी अफ लाइनमा जाने राइडरको हकमा अपरेटर कम्पनीले कारबाही गर्ने गर्छ । पठाओ नेपालकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले कानुन नहुँदा कसुरकर्तालाई कारबाही गर्न गाह्रो भएपछि अफ लाइनमा जानेहरूको हकमा कम्पनी आफैँले कारबाही गर्ने गरेको बताइन् ।
अदालतबाट आदेश आएको तीन वर्षपछि बल्ल ड्राफ्ट तयार
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार मोटरसाइकलले भाडामा यात्रु बोक्न पाउँदैन । किनकि कानुनले कालो नम्बर प्लेटको सवारीसाधनलाई मात्रै भाडा लिएर यात्रु बोक्न अनुमति दिएको छ । यही ऐनमा टेकेर अखिल नेपाल मजदुर संघ ट्याक्सी विशेष जिल्ला कमिटीले पठाओ नेपाल प्रालि र हाइपरलुप नेपाल प्रालि (टुटल)विरुद्ध उच्च अदालत पाटनमा मुद्दा हाल्यो ।
तर, उच्चले मोबाइल एप्सबाट सञ्चालित पठाओ र टुटललाई प्रतिबन्ध लगाएन । बरु, उनीहरूलाई समेट्ने गरी नयाँ कानुन बनाउन २९ माघ ०७६ मा सरकारलाई आदेश गर्यो । तर, हालसम्म सरकारले त्यस्तो कानुन बनाउन सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले मोबाइल एप्सबाट चल्ने पाठाओ र टुटलजस्ता सेयर राइडिङ सेवा प्रदायकलाई समेट्ने गरी कानुनको मस्यौदा तयार भएको बताए । कानुन बनेर कार्यान्वयमा आउन भने अझै केही समय लाग्ने उनको भनाइ छ ।
उनले भने, ‘मोबाइल एप्सबाट चल्ने पाठाओ र टुटलजस्ता सेयर राइडिङ सेवा प्रदायकलाई समेट्ने गरी कानुनको मस्यौदा तयार भएको छ । कोभिड– १९ का कारण कानुन बन्ने प्रक्रियामा केही विलम्ब भए । तर, अब त्यस्तो नहोला । आगामी संसद्मा यसलाई पेस गर्ने मन्त्रालयको योजना छ । कार्यान्वयनमा आउन केही सयम लाग्न सक्छ ।’
कानुन नहुँदा राज्यले राजस्व गुमाउँदै
‘सेयर राइडर’ र एप्स अपरेटरकर्ता कम्पनीलाई विद्यमान कानुनले समेट्दैन । राइडिङ कम्पनीलाई दर्ता भएर हुनुपर्ने कानुनी बाध्यता पनि छैन । त्यसो हुँदा विनादर्ता राइडिङ कम्पनी चलिरहेका छन् । त्यसो हुँदा उसले नेपाल सरकारको कुनै पनि निकायलाई कर तिर्नुपर्दैन । दर्ता नभएकाहरूले दैनिक गर्ने कारोबारको यकिन विवरण कसैसँग छैन । विदेशबाटै सञ्चालन हुने त्यस्ता कम्पनीले कुन माध्यमबाट कसरी लगानी गरिरहेको छ ? र, लाभ भएको रकम कुन माध्यमबाट लगिरहेको छ ? यस विषयमा पनि सरकार अनभिज्ञ छ । ‘सेयर राइडर’ले गर्ने आम्दानीलाई पनि नेपालको कानुनले चिन्दैन । आम्दानी गरेबापत राज्यलाई कति र कसरी कर बुझाउने कतै उल्लेख छैन । जसबाट राज्यले ठूलो परिमाणको राजस्व गुमाइरहेको छ । यो तथ्यलाई पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमाल स्वीकार गर्छिन् । हमाल भन्छिन्, ‘एप्समार्फत यात्रुले सस्तोमा यात्रा गर्न पाइरहेका छन् । यो राइडिङको राम्रो पक्ष भयो । एप्स अपरेटर कम्पनी र राइडरले यसबापत आम्दानी पनि गर्छन् । उनीहरूले राज्यलाई कति र कसरी कर बुझाउने हो कतै उल्लेख छैन । कानुन बनेको भए यस्ता जटिलता हट्ने थिए ।’