नेभिगेसन मेनु

सत्ता साझेदार र प्रतिपक्षसँग समानान्तर संवादमा दाहाल
सम्पादक:南亚网络电视
समय:2023-02-14 12:24

thumb (2)

काठमाडौँ — राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता साझेदार दल र प्रतिपक्षी दलहरूसँग समानन्तर संवाद अगाडि बढाएका छन् । आफ्नो सरकारको सुरक्षालाई केन्द्रमा राखेर नयाँ राष्ट्रपति चयन गर्न प्रधानमन्त्री दाहाल समानान्तर संवादमा लागेका हुन् । 

फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा माओवादी निर्णायक छ । एमालेलाई राष्ट्रपति दिने समझदारी गरेर गत पुस १० मा प्रधानमन्त्री दाहालले प्रतिपक्षमा रहेका कांग्रेस, एकीकृत समाजवादीलगायत दलबाट समेत विश्वासको मत पाएपछि राष्ट्रिय सहमतिको विषय उठाउँदै आएका छन् । कांग्रेस पनि राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई माओवादीको मत प्राप्त हुने विश्वासमा छ । दाहालका अभिव्यक्ति र पछिल्लो समय कांग्रेससँग बढ्दो निकटताले एमाले अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट छन् । तर एमालेका लागि दाहालसँगको सहकार्यबाहेक विकल्प तत्काल देखिएको छैन ।

प्रधानमन्त्री दाहालले भने विगतमा शीतलनिवास र बालुवाटारबीच तिक्तता हुँदा कार्यकारी प्रमुखलाई समस्या भएको बुझाइ र अनुभवका आधारमा यसपालि पार्टी नेतृत्वप्रति उत्तरदायी रहने राष्ट्रपति नहोस् भन्ने चाहेका छन् । त्यही कारण उनले बहुपक्षीय रणनीतिअन्तर्गत सत्तापक्ष र प्रतिपक्षी दलसँग संवाद गरिरहेको निकट स्रोतले जनाएको छ । दुवैतिर संवाद गर्दा एमाले र कांग्रेस बाध्य भएर आफ्नो प्रस्तावमा आउने दाहालको बुझाइ छ ।

दाहालले आफ्नो पहलमा राष्ट्रिय सहमतिबाट राष्ट्रप्रमुख चयन भएको सन्देश पनि दिन चाहेका छन् । यसरी राष्ट्रपति चयन हुँदा बालुवाटार र शीतलनिवासबीच टकराव नहुने र यसले कार्यकारी प्रमुखलाई सहज हुने उनको बुझाइ छ । सबै दलको सहमतिमा बनेको राष्ट्रपतिले संवैधानिक मर्यादा नमिच्ने भएकाले संसद्को पूर्ण कार्यकाल सम्भव हुने र संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउन सहज हुने पनि दाहालको विश्लेषण छ ।

प्रतिपक्षी दलहरूको समेत सहमतिमा राष्ट्रपति बनाउन सके एमालेमाथिको निर्भरता कम हुने र सरकारको काम आफ्नै तरिकाले अघि बढाउन सकिने पनि प्रधानमन्त्री दाहालको बुझाइ छ । ‘राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्दा प्रधानमन्त्रीलाई धेरै अनुकूलता हुन्छन् । एमालेमाथि भर पर्नुपर्ने बाध्यता हट्छ । एमालेले दबाब दिँदा पनि सरकारको समर्थनका लागि विकल्प भइरहन्छ,’ दाहाल निकट एक नेताले भने । उनका अनुसार विश्वासको मत दिएको कांग्रेससँग सम्बन्ध बिगार्ने पक्षमा प्रधानमन्त्री दाहाल छैनन् ।

दाहाल साढे दुई वर्षको कार्यकाल सुरक्षित गर्ने वा सके अझै बढाउने रणनीतिमा पनि रहेको ती नेताले बताए । ‘पहिलो, साढे दुई वर्ष एमालेले दिएकै छ । त्यसलाई सुरक्षित गर्दै समय बढाउन सकिन्छ कि भन्ने रणनीतिमा पनि उहाँ हुनुहुन्छ,’ उनले भने, ‘दोस्रो, भोलि कुनै बेला संवैधानिक परिषद्मा हुन सक्ने समस्याको आकलन पनि छ । त्यसकारण त्यस्तो कुनै परिस्थितिमा सिफारिस भएका जुनसुकै नाम पनि राष्ट्रपतिबाट सदर नभइदियोस् भन्ने चाहना अलि बढी देखिन्छ ।’

ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्नु अघिल्लो दिन माघ २६ मा प्रधानमन्त्री दाहाललाई भेट्न कांग्रेस महामन्त्री गगन थापा बालुवाटार पुगेका थिए । थापाले दाहाललाई त्यसअघि पनि भेटेका थिए । त्यसपछि शुक्रबार साँझ बालुवाटारमा दाहाल र देउवाबीच भेटवार्ता भएको थियो । माओवादीका उपमहासचिव जनार्दन शर्मा, शक्ति बस्नेतलगायत नेता पनि कांग्रेससँग संवादमा छन् । एमाले अध्यक्ष ओलीसँग भने दाहाल आफैं संवादमा छन् । उनीहरूबीच बाक्लै संवाद भइरहेको छ । दाहालले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेतासँग पनि संवाद गरिरहेका छन् ।

प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल माओवादीले राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेकाले सबै पक्षसँग संवाद हुनुलाई अन्यथा सोच्न नहुने बताउँछन् । ‘राष्ट्रिय सहमतिको प्रस्ताव जसले ल्याउँछ, उसले सबै पक्षसँग संवाद गरिराखेको हुन्छ,’ उनले भने, ‘अहिले घटनाक्रमले हामी सबैलाई राष्ट्रिय सहमतिको नजिक ल्याइदियो । विगतमा राष्ट्रिय सहमति नहुँदा ठुल्ठूला दुर्घटना भए । त्यसकारण सबै पक्षसँग संवाद हुनु स्वाभाविक हो । अडान सबैका छन्, के हुन्छ हेरौं ।’

एमाले उपाध्यक्ष सुवास नेम्वाङले सत्तापक्ष र प्रतिपक्ष निरन्तर सम्पर्क रहनुलाई अन्यथा मान्न नहुने बताए । ‘सत्तापक्ष र प्रतिपक्ष निरन्तर कुराकानी हुनु लोकतन्त्रको सुन्दर पक्ष हो,’ उनले भने, ‘सत्तापक्ष र प्रतिपक्ष नेताको भेटघाट हुँदैमा गठबन्धन तलमाथि हुन्छ भन्नु गलत हो । किन कसैले गठबन्धन भत्किन्छ भनेर मिति तोक्छन् ? मैले बुझेको छैन ।’ मंसिर ४ को जनादेश एकले अर्कालाई निषेध गर्ने नभएको समेत उनले उल्लेख गरे । ‘प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवा भेट्नु अचम्मको कुरा होइन,’ उनले थपे, ‘लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष निरन्तर सम्पर्कमा हुनुपर्छ ।’

प्रधानमन्त्री दाहालसँग बुधबार भेटवार्ता गरेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरूबीच राष्ट्रपति निर्वाचनका सन्दर्भमा पनि कुरा भएको जानकारी दिए । ‘कांग्रेस एमालेलाई नचाहने र एमाले कांग्रेसलाई नचाहने भनेपछि तेस्रो शक्तिबाट राष्ट्रपति आउने सम्भावना छ,’ उनले भने, ‘पात्र को भनेर छान्ने फेरि यिनै ठूला पार्टीले हो । प्रधानमन्त्रीलाई भेट्दा उहाँको कुरा राम्रै थियो । राष्ट्रिय सहमति हुन सके राम्रो हो ।’

निकटहरूका अनुसार प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगातार संवादमा छन् । उनीहरूबीच बिहीबार पनि भेटवार्ता भएको थियो । दाहालले जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि संवाद गरेका छन् । नेता नेपालले शनिबार एक कार्यक्रममा राष्ट्रपतिको निर्वाचनपछि नयाँ राजनीतिक परिवेश बन्ने दाबी गरेका थिए । ‘देश नयाँ परिवेशमा पुग्दै छ । अहिले सबैतिर राष्ट्रपति पदको चर्चा छ । म राष्ट्रपति हुने भएँ भनेर मान्छेहरू दंग परेका छन्, उनीहरूलाई दंग पारिएको छ,’ उनले भनेका थिए, ‘सबैलाई राष्ट्रपति पद दिइएको छ । को–को सेन्टिफ्ल्याट खाने हुन् थाहा छैन । यो मैले संकेत मात्रै गरेको हो ।’

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री दाहाल आफैंले राष्ट्रिय सहमतिको विषय अघि सारेको उल्लेख गर्दै परिस्थिति त्यही दिशामा जाने दाबी गरे । ‘नेपालको पहिलो राष्ट्रपतिमा कांग्रेसबाट उम्मेदवार भएर रामवरण यादवले जित्नुभयो । त्यो बेला प्रधानमन्त्री प्रचण्ड नै हुनुहुन्थ्यो । कांग्रेस प्रमुख प्रतिपक्षी दल थियो, अहिले जस्तै,’ उनले भने, ‘गएको निर्वाचनबाट संसद्मा कांग्रेस प्रमुख दल छ । हामीसँग १६ हजार र एमालेको १५ हजार मतभार छ । तर निर्णायक भनिएका दल, प्रधानमन्त्री आफैंले राष्ट्रिय सहमतिका साथ जानुपर्छ भन्ने दृष्टिकोण राखेको सुनिन्छ । त्यसकारण अघिल्लो संसद्को अनुभवका आधारमा राष्ट्रपतिको भूमिका, तत्कालीन सरकारको नेतृत्व गरेको एमालेको भूमिकाको अनुभवको जगमा राष्ट्रपतिलाई सन्तुलनको केन्द्रमा राखेर बन्नुपर्छ भनेर प्रधानमन्त्री आफैंले भन्नुभएको छ ।’

शर्माले प्रधानमन्त्री दाहाल र कांग्रेस नेताहरूबीच संवाद भए पनि ठोस सहमति भइनसकेको बताए । ‘कुनै न कुनै ढंगमा प्रधानमन्त्री पिँजडाको मनोविज्ञानमा हुनुहुन्छ । उहाँले सहज महसुस गर्ने वातावरण चाहनुभएको छ,’ उनले थपे, ‘तेस्रो दलले प्रधानमन्त्री, दोस्रो दलले सभामुख पाएकाले अब पहिलो दलले राष्ट्रपति पाउँदा सन्तुलन हुन्छ । यसका लागि आन्तरिक रूपमा मनोविज्ञान विकसित भइरहेको छ । अब त्यही दिशामै जान्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर