बुधबार काठमाडौंमा बेथितिहरू अन्त्य गर्न माग गर्दै भएको प्रदर्शन । तस्बिर : सन्जोग मानन्धर/कान्तिपुर
काठमाडौँ — जीविकोपार्जनका धेरै प्रयास असफल भएपछि आफैंलाई आगो लगाउने युवा उद्यमी प्रेमप्रसाद आचार्यको घटनाले एउटा जबर्जस्त प्रश्न राज्यका सामु तेर्स्याएको छ– यो देशमा गरिखानेका लागि किन ठाउँ छैन ? वैदेशिक रोजगारीदेखि व्यापार व्यवसाय र घरेलु उत्पादनका अनेक उद्यम गर्दा पनि उल्टै ऋणमा डुबेर मृत्यु नै अन्तिम विकल्प ठान्नुपर्ने अवस्थामा पुगेका आचार्य प्रतिनिधि पात्र मात्रै भएको विश्लेषकहरू बताउँछन् ।
राज्य प्रशासन चारैतिर ठूला व्यापारीको चंगुलमा फसेको, साना उद्यमीको मिहिनेत र पसिनामा उनीहरूले रजाइँ गर्ने गरेको, सरकारी संयन्त्रमा जता पनि घुसखोरी हुने गरेको र कुनै दलको शरण नपरी उद्यम गर्छु भन्नेलाई आत्महत्या गर्नुपर्ने स्थिति रहेको आसयको एउटा लामो विवरण आचार्यले आफूलाई जलाउनुअघि सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । जम्माजम्मी २० लाख भए आफ्नो गाँठो फुक्ने र त्यो पनि अनेकतिर हारगुहार गर्दासमेत जुटाउन नसकेपछि आत्मदाहको बाटो रोजेका उनले यस्तो अवस्था अन्त्यका लागि सरकारले गर्नुपर्ने २५ कामको फेहरिस्त पनि सुझाएका छन् ।
आचार्यको आत्मदाहको घटनामाथि छानबिन गर्न मन्त्रिपरिषद्ले बुधबार गृह मन्त्रालयलाई जिम्मा दिने निर्णय गरे पनि उनले उठाएका सवालबारे सरकारले के गर्छ भन्ने स्पष्ट छैन । उनले उठाएका सवाल तत्काल सम्बोधन हुनुपर्ने खालका रहेकाले यसबारे राज्यले तुरुन्त कदम चाल्नुपर्ने भन्दै राजधानीमा युवाले प्रदर्शनसमेत गरेका छन् ।
जलाउनुअघि धेरै पटक आचार्यले राज्यका संयन्त्र र ठूला व्यापारिक घरानासमक्ष आफ्ना दुःख बिसाउने प्रयत्न गरेका थिए । तर, राज्यले उनी जलेपछि मात्रै यसबारे चासो दिने अवस्था आउनु आफैंमा असंवेदनशील व्यवस्थाको परिणति भएको समाजशास्त्रीहरू बताउँछन् । ‘अमर्यादित र हिंसात्मक भाषा बोलेपछि मात्रै समाज, प्रशासन, राज्य र मिडियासमेतले सुन्छ, यो अत्यन्त निराशापूर्ण अवस्था हो,’ समाजशास्त्री मृगेन्द्र कार्की भन्छन्, ‘आमनागरिकको शालीन, जिम्मेवारपूर्ण व्यवहार र भाषालाई कसैले सुन्दैन । सुन्ने भएको भए प्रेमराजले आत्मदाहलाई निर्विकल्प ठान्ने थिएनन् ।’
देशमा प्रत्येक दिन औसतमा २२ जनाले आत्महत्या गर्छन् भन्ने प्रहरीको तथ्यांकले पनि बाँचुञ्जेल राज्यमा निराशा र दुःख सुन्ने संयन्त्र नभएको पुष्टि हुने उनको तर्क छ । ‘खोजी गर्ने हो भने आत्महत्या गर्ने अरू धेरैमा पनि प्रेमप्रसादकै जस्तो निराशापूर्ण कारण छन् तर तिनले यति गहिरो र संवेदनशील तरिकाबाट विषय नउठाईकनै चुपचाप मृत्युवरण गरे,’ कार्की भन्छन्, ‘उनले भने आफूलाई यो अवस्थामा पुर्याउने कारणबारे विस्तृत विवरण खुलाएर राज्यलाई घोत्लिने ठूलो अवसर दिएका छन् । यसमाथि सरकारले मात्रै होइन, यो देश चलाउँछु भन्ने प्रत्येकले गम्भीरताका साथ सोच्नैपर्छ ।’
भाटभटेनी, बिगमार्ट, एग्रोग्रामजस्ता ठूला व्यापारिक संस्थाहरू साना व्यवसायीको उत्पादन सकेसम्म बढी अवधिमा उधारोमा चलाउने, बैंकहरू केही सीमित ठूला व्यापारीले खोल्ने र उनीहरूले मनलाग्दी चर्को ब्याज असुल्ने, सरकारका प्रत्येक निकायमा घूस नदिई काम नहुनेजस्ता समस्याले आफू मात्रै नभएर गरिखाने सबै युवा प्रताडित भएको प्रेमप्रसादको निष्कर्षमा पूर्णतः वास्तविकता रहेको ठान्छन् अर्थशास्त्री अच्युत वाग्ले । ‘देशमा गरिखान्छु भन्नेलाई मर्नैपर्ने अवस्था छ, प्रेमप्रसादको घटना त्यसैको एउटा सानो उदाहरण मात्रै हो,’ वाग्ले भन्छन्, ‘समाजको समग्र अभिमुखीकरण भ्रष्ट छ, शुद्ध पैसा कमाउनुपर्छ र त्यसमा राज्यले सघाउनुपर्छ भन्ने अवधारणा नै समाजबाट विस्थापित भयो, जसले गर्दा मिहिनेत गर्छु भन्ने उनीजस्ता उद्यमी आत्महत्याको बाटो रोज्नुपर्ने अवस्थामा पुगेका छन् भने दलाली गर्नेहरू एक पैसा नभईकन पनि रातारात अर्बपति बनेका अनेक उदाहरण हाम्रासामु छन् ।’
सिंगो देश नै दलाल प्रणालीमा रूपान्तरण भएकाले राज्यले दिने हरेक काममा घूस खुवाउनुपर्ने, राज्यका हरेक नीतिले केही सीमित मानिसलाई मात्रै फाइदा पुग्ने र दलाली नगर्नेले जति मिहिनेत गरे पनि केही नहुने स्थितिले नेपाललाई क्यान्सरले झैं सिकिस्त बनाएको वाग्लेको निचोड छ ।
कर तिर्न, राहदानी लिन, जग्गा पास गर्न वा राज्यका अरू जुनसुकै सेवा लिन दलालमार्फत पैसा खुवाउनुपर्ने भ्रष्ट संयन्त्रले नियमअनुसार काम गर्नुपर्छ भन्ने संस्कृतिलाई नै नष्ट गरिदिएको अर्का अर्थशास्त्री केशव आचार्य बताउँछन् । ‘देशको हरेक राजनीतिक परिवर्तनले केवल अभिजात्य नवसामन्तको एउटा तह मात्रै थप्ने काम गर्यो, आममानिसको जीवनमा परिवर्तन ल्याउन सकेन, त्यसैले प्रेमप्रसादजस्ता यो देशमै केही गरौं भन्ने उद्यमीले आफूलाई जलाउनुपर्ने अवस्था आएको हो,’ उनी भन्छन् ।
पैसा हुनेको मानमनितो हुने, आफन्तले पनि पैसा कमाए मात्रै माया गर्ने र समाजले जसरी पैसा कमाए पनि त्यसको स्रोत नखोज्ने संस्कृतिले झन् ठूलो निराशा जन्माएको समाजशास्त्री कार्कीको तर्क छ । ‘राज्य संयन्त्र भ्रष्ट छ, हाम्रो सांस्कृतिक र सामाजिक मान्यताहरू भ्रष्टाचारलाई मलजल गर्ने खालका छन् अनि हाम्रो शिक्षा नीति यो भ्रष्ट समाजलाई सामना गर्नेतिर होइन, युरोप अमेरिकाको पाठ्यक्रमबाट निर्देशित भएकाले आफैंमा अव्यावहारिक छ,’ उनी भन्छन्, ‘त्यसैले पढे–लेखेका र जाने–बुझेकाहरू झन् बढी अलमलमा छन्, उनीहरूमा आफ्नो देश र समाज सुहाउँदो ज्ञान र आदर्श जीवनको धारणा होइन, युरोप अमेरिकाजस्तो तडकभडकपूर्ण जीवनशैलीको कल्पना र आकांक्षा ज्यादा छ ।’
शिक्षा नीति घरेलु आवश्यकतालाई हेरेर तय नभएकाले आदर्श च्युत भएको, जसरी पनि पैसा कमाउनैपर्छ भन्ने मनोविज्ञान संस्कृतिकै रूपमा उदय भएको र त्यसले राज्य संयन्त्रलाई पूरै विकृत बनाएकाले प्रेमप्रसादहरू जस्तो देशमै केही गर्छु भन्ने शिक्षित युवा वर्ग अलमल र निराशाको भुमरीमा पर्नुपरेको वाग्ले ठान्छन् । ‘यो देशमा युवाले आफ्नो कुनै स्थान नै भेट्ने अवस्था रहेन,’ उनी भन्छन्, ‘त्यसैले सक्नेहरू युरोप, अमेरिका जान्छन्, नसक्नेहरू कतार, मलेसिया जान्छन्, ऋणै काढेर भए पनि ।’
भ्रष्ट संयन्त्रले गर्दा केही गर्छ भन्ने भावना भएका प्रेमप्रसादजस्ता युवा अवसादको सिकार हुनुपर्ने अवस्था आइलाग्ने गरेको उनी बताउँछन् । राजनीतिक नेतृत्व विकृत भएकाले यो सबको सुरुवात भएको उनको निष्कर्ष छ । ‘यो सब अभिजात्य देखिनुपर्ने सामन्ती संस्कारलाई नेताहरूले अंगीकार गर्दा हुन गएको विकृति हो,’ उनी भन्छन्, ‘राणा शासन ढलेपछि राजपरिवारले पाएको जस्तो सुखभोग पञ्चायतका तावेदारले गरे, पञ्चायत सकिएपछि दलका नेताले तिनै पञ्च शासकझैं अभिजात्य जीवन अँगाल्ने क्रमलाई अहिलेसम्म पनि जारी राख्दा अथाह सम्पत्ति जम्मा पार्न पुगे, जसले पूरै राज्य प्रणालीलाई भ्रष्टाचारको भुमरीमा हेलिदिएको छ ।’
नेतृत्वले ल्याएको भ्रष्टीकरणले अवैध अर्थतन्त्रको आयाम व्यापक भएको र त्यसको हिस्सा हुन नसक्ने आममानिसको नियति प्रेमप्रसादकै जस्तो हुने अवस्था आएको उनले बताए । यस्तो अवस्थासँग जुध्नका लागि पञ्चायतमा विद्यार्थी संगठनहरूले मुख्य भूमिका निर्वाह गरेका थिए । ‘अहिले भने तिनै विद्यार्थी संगठन एकातिर सत्तामा जाने र अर्कातिर व्यापारी तथा राज्य संयन्त्रसँग पैसा असुल्ने दोहोरो दलालीमा लिप्त छन्, जसले गर्दा यत्रो बेथिति आइसक्दा पनि सशक्त प्रतिरोध गर्ने समूह तयार हुनै सकिरहेको छैन,’ वाग्ले भन्छन्, ‘अवस्था यस्तो बिग्रिसक्यो कि सानोतिनो सुधारले काम चल्नेवाला छैन । अब ठूलो तहको परिवर्तनका लागि ठूलै क्रान्तिको जरुरत भइसक्यो ।’
पुराना दलको चालमाल र राज्य संयन्त्रको भ्रष्ट संस्कृतिदेखि आजित भएका आममानिसलाई देशमा कुनै स्थानै नभएको अवस्थामा आमअसन्तुष्टि हरेक समाजमा देखिने समाजशास्त्रको मान्यता छ । ‘नेपालमा पनि त्यो नदेखिएको होइन,’ त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर कार्की भन्छन्, ‘नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई गत चुनावमा ११ लाख ३० हजार मान्छेले दिएको भोट यही असन्तुष्टिको अभिव्यक्ति हो, ब्यालेटमा देखिएको यो असन्तुष्टिले कुनै परिणाम ल्याएन भने यसले हिंसात्मक रूप लिन पनि सक्छ ।’
भ्रष्ट राज्य संयन्त्र र पैसामुखी सामाजिक जीवनशैलीले आत्महत्या गर्नेहरूको संख्या दिनहुँ बढिरहेको प्रहरी तथ्यांकले देखाउँछ । तर के निराशा सामाजिक वा राज्य संयन्त्रका कारणले मात्रै उत्पन्न हुन्छ ? अध्यात्म, दर्शन र मनोविज्ञानले भने यसलाई फरक अर्थमा हेर्नुपर्ने धारणा राख्छ । ‘निराशा भनेको परिस्थितिले थोरै र मनस्थितिले धेरै अर्थमा जन्माउने कुरा हो,’ प्राकृतिक योग विज्ञानका चिकित्सक हरिप्रसाद पोखरेल भन्छन्, ‘एउटै घटनाले कसैलाई अलिकति पनि विचलित पार्दैन भने कसैलाई आत्महत्या गर्ने स्थितिमा पुर्याउँछ ।’
घटना र अवस्थालाई कसरी हेर्ने भन्ने मनको विश्लेषण गर्ने क्षमतामा निराश हुने कि नहुने भन्ने स्थितिको जन्म हुने हुनाले आफ्ना विचारमाथि निगरानी गर्ने कला कम भएका मानिसमा अवसाद धेरै हुने उनी बताउँछन् । ‘प्रत्येक परिस्थितिमा मन कि खुसी हुन्छ कि दुःखी हुन्छ,’ उनी भन्छन्, ‘दुःख कहिल्यै नहोस् र सुख सधैं भइराखोस् भन्ने मनको स्वभाव हुन्छ जबकि जीवन भनेको दुःख र सुखको निरन्तर प्रवाह हो ।’
भ्रष्ट संयन्त्रले मात्रै नभएर सुख र दुःख जेजस्तो भए पनि यसलाई साक्षी भावले हेर्ने पूर्वीय दर्शन र कलालाई शिक्षा पद्धतिले नसमेट्दा युवामा निराशा बढेको उनको विश्लेषण छ । सुख र दुःख दुवैलाई आत्मसात् गर्ने मानिसमा जुनसुकै परिस्थितिले पनि निराशा नल्याउने हुनाले संसारको अनित्य स्वभावलाई हेर्ने कला समाजले बिर्सन नहुने उनी ठान्छन् । ‘यो कला जान्ने भनेको ध्यान गरेर हो,’ उनी भन्छन्, ‘मन कि विगतमा अल्झिन्छ, कि भविष्यको कल्पनामा रुमलिन्छ, वर्तमानमा भने बस्नै सक्दैन । ध्यानले वर्तमानमा बाँच्न सिकाउँछ, जो वर्तमानमा बाँच्न सिक्छ, उसलाई हरेक क्षण आनन्द आउँछ र आनन्दित मानिसले आत्महत्या कहिल्यै गर्दैन ।’
आत्महत्याको बढ्दो ग्राफ
आर्थिक अभाव र त्यसले समाजमा पार्ने अनेक प्रभावका कारण आत्महत्या गर्नेहरूको संख्या बर्सेनि बढेको प्रहरीको तथ्यांकले देखाएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आर्थिक वर्ष ०७४/७५ देखि ०७८/७९ को पाँच वर्षमा आत्महत्याबाट ज्यान गुमाउनेको संख्या ३१ हजार २ सय २१ छ । चालु आर्थिक वर्ष ०७९/८० को पाँच महिना (मंसिर मसान्त) सम्म मुलुकभर २ हजार ४ सय ८० जनाले आत्महत्या गरेका थिए ।
प्रहरीका अनुसार आर्थिक वर्ष ०७४/७५ मा ५ हजार ३ सय १७, ०७५/७६ मा ५ हजार ७ सय ५४, ०७६/७७ मा ६ हजार २ सय ४१, ०७७/७८ मा ७ हजार १ सय १७ र गत आर्थिक वर्ष ०७८/७९ मा ६ हजार ७ सय ९२ छ । प्रहरीको तथ्यांकमा विष सेवन, आगोमा जलेर, झुन्डिएर, हाम फालेर, करेन्ट लगाएर, हातहतियार तथा औजार प्रयोग गरेर तथा नदी/खोला तथा पोखरीमा हाम फालेर आत्महत्या गरेको देखिएको छ । जसमध्ये, झुन्डिएर र विष सेवन गरेर आत्महत्या गर्नेको अन्यको तुलनामा ९८ प्रतिशतभन्दा बढी छ ।
काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार आर्थिक अभाव, पारिवारिक विवाद/बेमेल, वैदेशिक रोजगार, सम्पत्ति बाँडफाँट, आवेग र प्रतिशोध अनि आपसी अविश्वास आत्महत्याको कारक रहने गरेको पाइएको छ । आत्महत्यामा आर्थिक अभाव, सम्पत्ति विवाद, घरायसी कलह, परपुरुष/महिलासँगका सम्बन्ध, नैराश्यता, प्रतिशोध, मानप्रतिष्ठामा आँचजस्ता कारण देखिने गरेको उनी बताउँछन् । ‘पछिल्लो समय महत्त्वाकांक्षी योजना, व्यवसाय लगानीप्रतिको असुरक्षाले पनि मानसिक तनाव उत्पन्न भएर आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ,’ उनले भने ।