गुरुङ समुदायले टुडिखेलमा हर्ष उल्लासका साथ तमु ल्सोसार मनाएका छन्। यस वर्ष (बाघ वर्ग) को विदाई तथा ‘हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरि यो ल्होसार मनाइने गरिन्छ। हरेक वर्षको पुस १५ मा गुरुङको वर्ग,वर्ष फेरिन्छ। पुस १५ लाई उनीहरूले नयाँ वर्ष र जातीय पर्वका रूपमा मनाउँछन्।
तमु ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना व्यक्त गरे।
काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा भेला भएर यो पर्व मनाउँदैछन्। पर्वको अवसरमा कार्यक्रममा आज टुँडिखेलमा सांस्कृतिक कार्यक्रमका साथै गुरुङ समुदायका परिकारको समेत प्रदर्शनी गरिएको थियो। ल्होसार पर्वकै अवसरमा काठमाडौंको बसन्तपुर हुँदै टुँडिखेलसम्म मौलिक वेशभूषासहित चिटिक्क परेर आएका गुरुङ समुदायका युवायुवतीको जमातले बेग्लै रौनक बनाएको थियो । शिरमा लावा, शिरफूल, गलामा कण्ठमाला, जन्तर, लुङ्गी–चोली, पछ्यौरी, घलेकले सजिएका युवती तथा भाङ्रा, भोटो, कछाडसहित टुँडिखेलमा सहभागी युवा–युवतीहरूले निकै रौनकताका साथ ल्होसार मनाए। उनीहरूले गुरुङ समुदायमा आदिमकालदेखि प्रचलित ठाडो भाका, चुट्का, कौडा, सोरठी नाचसँगै खैजडी, च्याबुङ तथा मादलको धुन सुनाएका थिए।
उनीहरूले आपसमा ‘आशिमाला’ आर्थत शुभकानमा भन्दै भन्दै खुसियाली साटासाट गरेका थिए। गुरुङ बाहुल्य जिल्ला खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ ।
टुँडिखेलमा शनिबार ल्होसार मनाउन आएका लमजुङ निवासी शित घले पनि जातिय पहिरणमा शेलु नाच प्रदर्शन गर्दै थियो। शेलु नाच नाच्दा पृतिहरुलाई स्वर्ग तार्नका लागि नाचिने गरेको उनले बताए। बिहान सबेरै उठेर नुहाइधुवाइ गरी चोखो भएर कुलदेवता (पितृपूजा) गरिने उनले बताए। घर सरसफाइदेखि ध्वजा (लोंदर) फेरिने भएकाले गुरुङको नयाँ वर्ष आएको देखिने गरेको उनको भनाई छ। आफूलाई मनपर्ने परिकार बनाएर परिवारका सदस्य, इष्टमित्र, साथीभाइ चेलीबेटीसँगै बसेर खाने गरिन्छ। उनले भने, ‘सेलरोटी, कन्दमूल–तरुल, पिँडालु, सखरखण्ड, मासुका परिकार लगायत पौष्टिक आहार खाने चलन छ।’
शित घले
त्यसैगरी गोरखाका सागर गुरुङले सिस्नुबाट उत्पादित कपडा, भोडको उनबाट भनेको कपडा लगाएर आफ्नो साँस्कृति झल्काउदै रमाई रहेका थिए। उनी लोक गायक पनि हुन्। आफ्ना चेलीबेटी, छरछिमेक, दाजुभाइ जम्मा हुने, आफ्नो नाता–सम्बन्ध सबैलाई एक ठाउँमा राखेर पारिवारिक तथा सामाजिक सम्बन्ध बलियो पार्नका लागि यो पर्व मनाउने गरेको उनले बताए। यसले माइती र चेलीबीचको सम्बन्धलाई थप मजबुद बनाउने उनको भनाई छ। गुरुङको विशेषता नै दोहोरो खालको सामाजिक–सांस्कृतिक सम्बन्ध अर्थात् आपसी सहयोग आदान–प्रदान हो। उनले भने, ‘यस हिसाबले यो पर्वको सांस्कृतिक पक्ष धेरै बलियो देखिन्छ।’
सागर गुरुङ
ल्होसार चाड विशेष गरी भोट बर्मेली जातीहरुले मनाउने चाड भएको तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद अध्यक्ष कर्ण वहादुर गुरुङले बताए। ल्होसार चाड नेपालमा मात्र नभएर विश्वका अन्य मूलुकहरुमा पनि गुरुङ समुदायले मनाउदै आएको उनले बताए। यो पर्व गुरुङको संस्कृति, सभ्यता र समग्र पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भए पनि पछिल्लो समय यसलाई मनाउने तौर–तरिका केही खर्चिलो र भड्किलो भएको उनले बताए।
तमु ल्होसारको अवसर पारेर शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले तमु समुदायको गौरवशाली परम्परालाई सरकारले उच्च सम्मान गर्ने बताएका छन्। तमु समुदायले आर्जन गरेको वीरता र बलिदान नेपाल राष्ट्र र नेपाली जनताका लागि गर्वको विषय भएको उनले बताए। त्यस अवसरमा प्रधानमन्त्री दाहालले तमु ल्होसारका लागि सरकारले गर्दै आएको आर्थिक सहयोग बढाउने प्रतिबद्धता व्यक्त गरे। इमान्दारिता, लगन, निष्ठा, वीरता र बलिदानको कीर्तिमानका कारण तमु समुदायको पहिचान नेपालमा मात्रै नभई विश्वभर फैलिएको पनि उनको भनाई थियो। तमु समुदायको आफ्नो मौलिक र ऐतिहासिक पहिचान स्थापित छ। उनले भने, ‘आफ्नो इमान्दारिताका कारण, लगन, निष्ठा र मेहनतका कारण, आफ्नो वीरता र बलिदानको कीर्तिमानका कारण नेपाली मात्रमा एउटा गर्वको एउटा पहिचान भएको छ।’
फोटोफिचरः साउथ एसिया नेटवर्क टिभि
cfPsf