टीबीएम मेसिन जडानसँगै सुनकोसी मरिण डाइभर्सनको सुरुङ खन्ने काम शुक्रबारबाट सुरु भएको छ । दुई सय ३० मिटर लामो टनेल बोरिङ मेसिन (टीबीएम) को प्लेटफर्म तयार गरि जडान गरेपछि सुरुङ खन्न थालिएको हो । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयोजनास्थलको निरीक्षण गरेपछि सुरुङको काम थालिएको हो । चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिजका प्राविधिकहरुले मन्त्री भुषाल समक्ष टीबीएम मेसिन सञ्चालन गरेर देखाएका थिए ।
सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार यो आधुनिक मेसिनको प्रविधिबाट ठेकेदार चाइना ओभरसिज कम्पनीले दुई वर्षभित्रमा सुरुङ निर्माणको काम सक्नेछ । मरिणबाट १३ दशमलव तीन किलोमिटर सुरुङ खनेपछि सुनकोसी गाउँपालिकाको कानढुंग्री नजिक सुनकोसी नदीमा पुग्नेछ । यो तामाकोसी र सुनकोसी नदीको संगमस्थल त्रिवेणीभन्दा सात सय मिटर तल पर्छ । टीबीएम मेसिनमार्फत ५–५ डायमिटरको पानी बग्ने सुरुङ रहने गरी ६–६ डायमिटर खनिने छ ।
आयोजनाका अनुसार सुनकोसीमा १२ मिटर उचाइको बाँध निर्माण गरी नदीको पानी १३ दशमलव तीन किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिणखोलामा खसालिने छ । त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१ मेघावाट विद्युत उत्पादन गरिने छ । सुनकोसीको पानीलाई मरिण खोलामा झारेपछि विद्युत उत्पादनसँगै तराईका जिल्ला रौतहट, बारा, धनुषा,महोत्तरी र सर्लाही जिल्लामा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने छ । सुनकोसीको पानी मरिणखोलाबाट ४० किलोमिटर तल वाग्मती नदीमा मिसाएर बाँध बाँधी नहरमार्फत वितरण गरिने छ । आयोजना निर्माण गर्न कुल ४६ अर्ब १९ करोड रुपैयाँ लाग्नेमा यो वर्ष सरकारले दुई अर्ब ७० करोड बिनियोजन गरेको छ ।